कोभिडविरुद्धका ५० भन्दा बढी खोप तेस्रो चरणको परीक्षणमा

तस्विर : स्काई न्यूज

लण्डन । विश्वभर कोभिडविरुद्धका ५० भन्दा बढी खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा छन् । तीमध्ये अधिकांश खोपले संक्रमण न्यूनीकरणमा राम्रो नतिजा दिइरहेको डब्लुएचओको दाबी छ । परीक्षणको अन्तिम चरणमा रहेका र बजारसम्म छिट्टै आउने आशा गरिएका केही खोप परीक्षण क्रममा ९४ दशमलव पाँच प्रतिशतसम्म सुरक्षित देखिएका छन् । संक्रमितको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा हासिल भएको उपलब्धि हो त्यो ।

वैज्ञानिकहरूका अनुसार खोपले मानव शरीरमा दुई किसिमले काम गर्छ । पहिलो– शरीरभित्रका सेललाई सन्तुलित बनाउँछ । दोस्रो– कोरोना भाइरसविरुद्ध लड्न शरीरमा एन्टिबडी उत्पादन गर्छ । सामान्यतया दुई वा तीन साताको परीक्षणपछि शरीरमा खोपको प्रभाव थाहा पाउन सकिने वैज्ञानिकहरूको भनाइ छ । तर, कोरोनाविरुद्ध खोप उत्पादन र परीक्षणमा लागिपरेका केही कम्पनीले एक सातामै परीक्षणको नतिजा देखिएको दाबी गरिरहेका छन् ।

९० प्रतिशत सुरक्षित खोप तयार भएको दाबी

अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोन्टेकले आफूहरूले बनाइरहेको खोप ९० प्रतिशत सुरक्षित देखिएको दाबी गरेका छन् । दुवै कम्पनीले ९ नोभेम्बरमा सार्वजनिक गरेको जानकारीअनुसार ६ मुलुकका ४३ हजार पाँच सयजनामा यो खोप परीक्षण गरिएको थियो । सन् २०२० भित्रै ५० लाख डोज खोप उत्पादन गरिसक्ने तयारीमा रहेको दुवै कम्पनीको दाबी छ । र, सन् २०२१ अन्तिमसम्म एक करोड ३० लाख संक्रमितलाई खोप उपलब्ध गराउने लक्ष्य दुवै कम्पनीको देखिन्छ ।

मोडर्नाको दाबी : ९४.५ प्रतिशत सुरक्षित खोप

यस्तै, अमेरिकी कम्पनी मोडर्नाले आफूले उत्पादन गर्न लागेको खोप ९४ दशमलव पाँच प्रतिशत सुरक्षित रहेको बताएको छ । हालसम्म सबैभन्दा बढी सुरक्षित दाबी गरिएको खोप हो यो । उक्त खोपमा पनि वैज्ञानिकहरूको बढी आशा देखिन्छ । यो खोप माइनस २० डिग्री सेल्सियस र माइनस ४ डिग्री फरेनहाइट तापक्रममा राख्न सकिने कम्पनीको भनाइ छ । ठेउलाविरुद्धको खोप पनि सोही तापक्रममा राखिन्छ । आफ्नो खोप अस्पताल, क्लिनिक र फार्मेसीमा उपलब्ध फ्रिजमा राख्न सकिने मोडर्नाको दाबी छ । ‘संसारभर उपलब्ध पूर्वाधारलाई हेरेर खोप तयार पारिरहेका छौँ,’ मोडर्नाका मेडिकल प्रमुख डा. टेल ज्याकले भनेका छन् ।

फाइजरले आफ्नो खोप पाँच दिनसम्म फ्रिजमा राख्न सकिने बताइरहँदा मोडर्नाले भने ३० दिनसम्म राख्न सकिने बताएको छ । कम्पनीले तेस्रो चरणको पछिल्लो परीक्षणमा ३० हजारजनालाई समेटेको थियो । सहभागीमा सामान्य जिउ र टाउको दुख्ने समस्या देखिए पनि कडाखाले साइड इफेक्ट नपाइएको कम्पनीको भनाइ छ ।

रुसको दाबी : स्पुतनिक फाइभ ९२ प्रतिशत सुरक्षित

ग्यामालिया साइन्टिफिक रिसर्च इन्स्टिच्युट र रुसी रक्षा मन्त्रालयले उत्पादन गरेको ‘स्पुतनिक फाइभ’ खोप पनि ९२ प्रतिशत सुरक्षित रहेको दाबी गरिएको छ । १६ नोभेम्बरमा रुसको ‘सोभरेल वेल्थ फन्ड’ले विज्ञप्ति जारी गर्दै तेस्रो चरणको परीक्षणका सहभागीमा खोपको सकारात्मक प्रभाव देखिएको उल्लेख गरेको छ । खोपको तेस्रो चरण परीक्षणमा विभिन्न मुलुकका ४० हजारजना सहभागी भएका छन् । विज्ञहरूले भने स्पुतनिक फाइभ ९२ प्रतिशत सुरक्षित रहेको दाबीलाई अपरिपक्व बताएका छन् ।

‘अक्स–१ एन कोभ–१९’को आशा

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले उत्पादन र परीक्षण गरिरहेको खोप ‘अक्स–१ एन कोभ–१९’को परीक्षण नतिजा पनि राम्रो देखिएको छ । उक्त खोपले अनुमति पाएपछि भारतमा पनि उत्पादन गर्ने तयारी छ । भारतमा डिसेम्बरसम्ममा १० करोड खोप उत्पादनको लक्ष्य एस्ट्राजेनेकाको छ ।

यीबाहेक चीनमा परीक्षण क्रममा रहेको खोपप्रति पनि वैज्ञानिकको आशा देखिन्छ । तर, त्यो खोप परीक्षण क्रममै रहेको र पूर्ण जानकारी सार्वजनिक नगरिएकाले कहिलेसम्म बजारमा आउँछ भन्ने यकिन छैन ।

कोभ्याक्स योजनामा एक सय ५६ मुलुक

विश्व स्वास्थ्य संगठनले विकासोन्मुख देशका लागि खोप वितरण गर्न बनाएको योजना ‘कोभ्याक्स’मा नेपालसहित एक सय ५६ मुलुक सहभागी छन् । वैज्ञानिक रूपमा प्रमाणित भएका खोप विकासोन्मुख मुलुकका बासिन्दामाझ पु¥याउने योजना हो यो ।

नेपालमा कोभिड–१९ महामारी अध्ययन गरिरहेका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला खोपको प्रभावकारिता, सुरक्षा र साइड इफेक्टबारे जर्नलमा प्रकाशित गर्नुपर्ने बताउँछन् । ‘हालसम्म खोप निर्माता कम्पनीहरूले परीक्षणको सकारात्मक नतिजाबारे बताइरहेका छन् । खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी गरिरहेका कम्पनीहरूले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)मा प्रमाणित गर्न आवेदन दिएका छन्, तर प्रमाणित भएको छैन,’ डा. कोइराला भन्छन्, ‘एफडिए वा विश्व स्वास्थ्य संगठनले परीक्षणको दर, प्रभावकारिता, साइड इफेक्टबारे अध्ययनपछि मात्र प्रमाणित गर्छन् । एफडिए र डब्लुएचओले प्रमाणित नगर्दासम्म खोप क्लिनिकल प्रयोगमा आउँदैन ।’  (नयाँ पत्रिका)

प्रतिक्रिया

सम्बन्धित सामाग्री