दाजुभाइमा तिहारको सम्झना

फूलका थुँगा फक्र्दै जाँदा आगनै भरिन्छन्।
तिहारको बेला नयन भरी दाजुभाइ झल्किन्छन्।।
जोर कलश लिइ जलमा भरी राख्नेछु ढोकामा।
भर्चुअल टीका लगाइ बसौं यसपटक तिहारमा।।
दाजु र भाइ, दिदि र बहिनी बसेर तिहारमा।
जुवा र तास खेलेको याद आउँछ नि दिलमा।।
रमाइलो हुन्छ झिली र मिली बत्ती नै बालेसी।
तिहारको बेला देउसी र भैलो आँगनमा खेलेसी।।
फूलेका छन् नि मखमली फूल घरका आँगनमा।
मिलेन क्षण लगाइ दिन भाइको गलामा।।
चार कुना छेकी तेलका धारा बगाइ ढोकामा।
रंगीन टीका सजाई मैले चाँदीको थालमा।।
धानका बाला लरि र बरि देखिन्छन् खेतमा।
ओखर फोर्न पाइनँ नि मैले भाइको साथमा।।
नलागोस् रोग, नपरोस् पीर, कहिल्यै कसैमा।
नआउन बाधा, लम्कनु सधै‌ उन्नति पथमा।।
न रोकुन् बाटो कसैले भाइको, काँडाले नघोचोस्।
हँसिलो मुहार नपरोस पीर र शिर नझुकोस्।।
लक्ष्मीपूजा गरे नि मैले औंसीको रातमा।
सुख र शान्ति सधैं मिलोस् सबैलाई जीवनमा।।
बाटो है कुरी नबसे भाइ यसपटक तिहारमा।
आशीर्वाद दिन्छु मैले तिहारको बेलामा।।
खेल्नु है पिङ खानु है सेल बसेर घरैमा।
आशा है गरुम मिल्नेछ भेट्न अर्को साल तिहारमा।।
सेलका रोटी घुमाइ फन्को घरको चुलोमा
कोसेली पात किस्तीमा बोकी मै आउँला माइतमा।।

प्रतिक्रिया

सम्बन्धित सामाग्री