मंगलबार, मंसिर १६ २०७७ | Tue, December 01, 2020
नेपालको समय: ०१:४३ | UK Time: 19:58

आन्दोलनको साहित्य र पिस्करको गीत

डा.कृष्ण उपाध्याय
२०७७ कार्तिक २२ गते २१:०२


२०३९ सालको विवाद र ‘समाधान’ को पक्ष सकिँदा त्यसको केही अघि नेपालमा सुरु भएको सानो देखिने तर युवाहरुबाट परिचालित हुने अत्यन्तै महत्वपूर्ण कामको थालनी भएको थियो । राजनीति, खेलकुद र संगीतले जस्तै यसले पनि रचनात्मक क्षमता भएका विद्यार्थीहरुलाई राजनीति अगाडी बढाउन मद्दत गर्यो । त्यो हो साहित्य ।
त्यसबेला भूतपूर्व मन्त्री तथा हालका महान्यायाधिवक्ता अग्नि खरेल भर्खर राजविराजबाट काठमाडौं आउनु भएको थियो । २०३८ को शुरुतिर । वहाँले राजविराजमा ‘साहित्य सन्ध्या’ भन्ने साहित्यिक गतिविधि संचालन भइरहेको र यहाँ पनि खोल्दा राम्रो हुने कुरा त्यतिखेर ल क्याम्पसका विद्यार्थी तीर्थ कोइरालासँग सुझाए । यसो हुनुको प्रमुख कारण तीर्थको कविता र व्यङ्ग्यमा कलम चलेको देखेर खरेलले प्रस्ताव राखेका हुन् । कोइराला राजविराजमा यसको योजनाकारको रुपमा गंगा उप्रेती भएको कुरा आफूले थाहा पाएको बताउँछन् ।
काठमाडौंमा यसको छुट्टै पहिचान र अस्तित्व बनेको थियो । २०३९ साल पौष २ गते ३ बजे ल क्याम्पसमा पहिलो साहित्य सन्ध्या गरियो । अखिल पाँचौंको प्रारम्भिक कमिटी त्यसको आयोजक थियो । संयोजन तीर्थले गरेको कुरा त्यसबेलाको सो कमिटीमा हुनु हुने भक्तपुर निवासी ध्रुवराज विष्ट बताउनु हुन्छ । हरेक महिनाको २ गते ३ बजे त्यो भेला हुने गर्दथ्यो त्यो बेला । विष्टका अनुसार त्यस बेलाको प्रारम्भिक कमिटी (प्राक) का अध्यक्षमा गोपाल शिवाकोटी ‘चिन्तन’, उपाध्यक्ष भविश्वर भट्टराई पाल्पा, सचिव तीर्थ कोईराला, उपसचिव अग्निप्रसाद थपलिया, कोषाध्यक्ष यमुना श्रेष्ठ (कार्की) र सदस्यहरू ध्रुवराज विष्ट भक्तपुर, रामचन्द्र थापा ललितपुर, धर्म ढुंगाना समेत रहनु भएको कुरा सम्झनु हुन्छ । म संगको अन्तर्वार्ताको क्रममा भन्नुहुन्छ, “पहिलो मिटिङ्ग नारद हार्तम्छालीको तयार गर्नुभएको बागबजारको एउटा कोठामा भएको थियो ।”
कोइराला र विष्टका अनुसार ‘साहित्य सन्ध्या’ ल क्याम्पसमा मात्र नभएर रत्नराज्य, शंकरदेव, त्रिचन्द्र आदि क्याम्पसमा पनि पालैपालो गरिन्थ्यो । कोइराला भन्नुहुन्छ, “प्राकको मात्र नाम लिंदा धेरै सहभागिता हँुदैन भनेर नरनाथ लुइँटेल, ललिजन रावल, नकुल सिलवाल र इञ्जिनियरिङ्ग क्याम्पसका (स्व.) घनश्याम शर्मालाई यसमा संलग्न गरियो र क्रमशः यसलाई ‘साहित्य सन्ध्या परिवार’ भनिन थाल्यो । कोइरालाका अनुसार साहित्य सन्ध्यामा प्राय सभापतित्व पारिजातको हुन्थ्यो भने कविताहरुको समालोचना समालोचक आनन्ददेव भट्टले गर्नु हुन्थ्यो । कोइराला भन्छन्, ‘पारिजात दिदीलाई उहाँको शारीरिक अशक्तताका कारण नयाँबजार म्हैपी निवासबाट हामी पैसा उठाएर ट्याक्सीमा ल्याउँथ्यौं ।’ उनी लिथो गरेको निम्तो बाँड्न हरेक क्याम्पसको प्रारम्भिक कमिटीमा पठाउने गरेको पनि सम्झन्छन् ।
“साहित्य सन्ध्या परिवार” अलिक फराकिलो हुन् थाल्यो । त्यसैले कसै कसैले यसको शुरुवात कहाँबाट भयो भन्ने विषयमा फरक कुरा आउन सक्छ । कोही कोही यो राजविराज निरन्तरता भन्छन् त्यो चाहिं होइन ।”
साहित्य सन्ध्या अहिले एउटा जीवन्त साहित्यिक संस्था हो । यसको स्थापनाको बारेमा एउटा त माथि भनिए जस्तै भनाइ छ भने अर्को भनाइमा यसको विस्तृत र स्पस्ट साङ्गठनिकस्वरुप आएको अवस्थालाई यसको जन्म मान्ने तर्क आएको देखिन्छ ।
जे भए पनि यसले नेपाली राजनीतिमा युवाहरुमा साहित्यको माध्यमले चेतना ल्याउने र राजनीतिको प्रसार गर्न सुरुका दिनमा निकै ठूलो योगदान गरेको छ । हुन त त्यो बेलामा ‘संकल्प’ र ‘वेदना’ जस्ता माले र चौमका धारलाई प्रतिनिधित्व गर्ने दुइटा महत्वपूर्ण साहित्य पत्रिका र प्रगतिशील लेखक संघ २०३६ देखि नै सक्रिय थियो तर उपत्यकाका युवा विद्यार्थीको लागि यो एउटा महत्वपूर्ण चौतारी थियो ।
त्योबेला आफ्नो कविता लिएर जानेमध्ये समिर नेपाल पनि पारिजातले छद्म नाममा कविता नलेख्न सुझाएको सम्झिनु हुन्छ । हामी पाटनका विद्यार्थीहरु पनि घरि साहित्य सन्ध्यामा सहभागी हुन्थ्यौं र शंकरदेव क्याम्पसमा भएको एउटा कार्यक्रम यस स्तम्भकारको अन्तिम सहभागिता थियो । ०३९ को विवादको कारणले साहित्य सन्ध्यामा जाने कुरो प्राथमिकता थिएन ।
बिग्रहको परिणति !
त्यो बेला बिग्रह र फुट पार्टीहरु (माले र चौम) मा मात्र थिएन । पंचायत आफैं पनि बिग्रहमा थियो । सूर्यबहादुर थापालाई हटाइ सकिएको थियो । २०४० असार १८ गते लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री नियुक्त भएका थिए । इतर राजनीतिमाथि पंचायत दमन जारी थियो ।
एक जना गाइने यस्तै एउटा दमनको कथा सुनाउँदै हुनुहुन्थ्यो कीर्तिपुर अडिटोरियमबाट । त्यहाँका दर्शकलाई र सिङ्गो देशलाई । पछि पो थाहा भयो त्यो गाइने भेषमा गाउने गायक अरु कोही नभएर त्यसबेलाका जनगायक कुमार कार्की हुनुहुन्थो । वहाँ सिन्धुपाल्चोकको पिस्कर दमनको बारेमा गीत गाइरहनु भएको थियो । हामी वहाँको गीत सुनेर भावविह्वल हुन्थ्यौं । निकै प्रयत्न पछि पनि त्यो गीत फेला परि रहेको छैन । स्वयम् गायकले पनि फेला पारिरहनु भएको छैन ।
तर यस्तै अर्को गीत सिन्धुपाल्चोकलगायत अन्य ठाउँमा पनि गाइन्थ्यो पिस्करको बारेमा । यसले दमनको पीडा र स्वरुपको वर्णन गर्दछ । त्यो गीत थियोः
संक्रान्तिमुनी डाँडा है पारी जुन पनि लुकेछ
अँध्यारो बीच महादेवथानमा बन्दुक भुकेछ
थापत्तै बिना आएर गोली छातीमा ठोकियो
मान्छेको रगत पिस्करको ढुंगा माटोमा पोखियो
सुन्यौ के साथी पिस्करमा मान्छे गोलीले ठोकियो
सुन्यौ के साथी पिस्करमा मान्छे गोलीले ठोकियो

धर्तीले रातो रगतको टीका निधारमा लाएछ
मानिस मार्ने राक्षसले हुकुम काँबाट पाएछ
कसैका छोरा कसैका छोरी घेरामा पारिए
को बुढापाका को केटाकेटी सबै नै मारिए
नाच्ने र गाउने मेलामा मान्छे यसरी मारिए
नाच्ने र गाउने मेलामा मान्छे यसरी मारिए

घरघरै पसे राक्षसहरू उजाडे गाउँलाई
मसानघाट जस्तो बनाई छाडे रमाइलो ठाउँलाई
शान्तिको घुम्टो ओडाई दुष्ट बन्दुक छोप्दैछन्
रामराम भन्दै जनताको छाती संगीनले रोप्दैछन्
हत्याराहरू जनताको छाती संगीनले रोप्दैछन्
हत्याराहरू जनताको छाती संगीनले रोप्दैछन्

कि हान्छन् गोली कि फसाई राख्छन् जालझेल रिनैमा
हामीलाई पनि के राख्लान् बाकी भेटेको दिनैमा
बाँच्नको लागि मानिसले अब के गर्ने भन्दैछन्
जनताहरू दुष्टका अन्त्य दिनहरू गन्दैछन्
यो कुरा आज कान कानमा जनता सबैलाई भन्दैछन्
यो कुरा आज कान कानमा जनता सबैलाई भन्दैछन्
यो कुरा आज कान कानमा जनता सबैलाई भन्दैछन् ।
यो गीतले पनि कुमार कार्कीले गाउनु भएको गीतले २०४० साल माघे संक्रान्तिको दिन पंचायतले सिन्धुपाल्चोक जिल्लाको पिस्करमा गरेको पंचायती दमनको चित्रण गर्दछ । लाखौं राजनीतिमा चाख नराख्नेहरुलाई पनि यो गीतको माध्यमबाट बुझ्न मद्दत गरेको थियो ।
पिस्कर हत्याकाण्ड
नेपालका कम्युनिस्टहरुको यात्राको वर्णनको क्रममा प्राध्यापक राजकुमार पोखरेलले पिस्कर दमन र हत्याकाण्डको बारेमा लेख्नु भएको छ, मैले आफैँ पनि मेरो बिद्यावारिधिको क्रममा यसको चर्चा गरेको छु ।  सारा साइडरमानलगायत विदेशी प्राज्ञहरुले पनि यसको चर्चा गर्नु भएको छ । चर्चाका कोण अलग अलग छन् । यहाँ म यी विविध कोण नहेरी यसका तथ्य मात्र अघि सार्दछु । अहिलेसम्म नलेखिएको भनेको भुटनदेवी हाइस्कुलमा भएको अखिलको सम्मेलन र पिस्कर हत्याकाण्डसंग त्यसको सम्बन्ध । पिस्कर हत्याकाण्डभन्दा केही अघि बाह्रबिसेको त्यो हाइस्कुलमा भएको सम्मेलन पुलिसले बिथोलेको थियो । त्यस सम्मेलनमा गौरी प्रधान, त्यसबेला काभ्रेमा भूमिगत काम गरिरहेका दामोदर उपाध्याय, अरुण नेपाल, भोला बोहोरा र बेदविक्रम कार्की आदि पनि हुनुहुन्थ्यो । त्यसक्रममा एकजना थामी किसान कार्यकर्तालाई गोली लागेको थियो । पछि वहाँलाई टीका उपाध्याय र दिना उपाध्यायको डेरामा २९ दिनसम्म राखेर पाटनमा उपचार गराइएको थियो । भुटनदेवीको दमनपछि मूल सडकमा पुलिस गाडीसहित राजमार्गमा पर्खिरहेका थिए । त्यसैले गौरी प्रधान, दामोदर उपाध्याय आदि खाडीचौरको बाटो रातभरी हिँडेर पुलिसबाट फुत्किनुभएको थियो । त्यसको केही समयपछि बोहोराहरुको बाहुल्यता भएको पिस्करमा अखिलको सम्मेलन आयोजना गरिएको थियो । त्यसै सम्मेलनले बेदविक्रम कार्कीको अध्यक्षतामा अखिलको कमिटी बनाएको थियो । यही कारण थियो पिस्कर प्रशासनको तारो भएको थियो ।
सिन्धुपाल्चोक राजनीतिक रुपले सचेत क्षेत्र बन्दै थियो । अमृत बोहोरा (घटनाको बेलामा त्यहाँ कार्यरत हुनुहुन्नथ्यो) जस्ता माले शुरुवात कालदेखिका नेतालगायत माधव पौडेल र अष्टलक्ष्मी शाक्य (तीन महिना अघिदेखि त्यस गाउँमा हुनुहुन्थ्यो) जस्ता नेताहरुले त्यो क्षेत्रमा काम गरिरहनु भएको थियो । माधव पौडेल त्यस बेला पार्टीको जिल्ला सचिव तथा क्षेत्रीय कमिटीको सदस्य हुनुहुन्थ्यो । त्यो क्षेत्रमा मालेको घनिभूत आधारको रुपमा विकसित भैरहेको थियो ।
२०४० सालको माघ १ गतेको दिन पनि त्यहाँ त्यस्तै मेला थियो । परम्पराअनुसार माघेसंक्रान्तिका दिन पिस्करको महादेव स्थानमा मेला लाग्ने गर्दथ्यो । पिस्करलगायत छेउछाउका मानिसहरु ठूलो संख्यामा मेला भर्न आएका थिए ।
भर्खरै सम्मेलन गरेको त्यस ठाउँमा मालेका विद्यार्थी र कलाकारहरुले सांस्कृतिक कार्यक्रम गरेका थियो । स्वाभाविक रुपमा यो राजनैतिक प्रकृतिको सांस्कृतिक कार्यक्रम थियो । त्यसदिन पनि ठूलो संख्यामा आएको प्रहरीले गोली चलायो र वीरबहादुर थामीलगायत दुई जनाको हत्या गर्यो र अरु सात जना गोली लागेर घाइते भएका थिए । घाइतेमध्ये अरु पाँच जनाको त्यसै कारणले मृत्यु भयो ।
त्यसैले पिस्कर दमन राजनीतिक दमन त हुँदै हो यो संस्कृति माथिको पंचायती प्रहार पनि थियो । त्यसपछि मेलामा भागाभाग भयो । मेला भर्न र रमाइलो गर्न आएकाहरु ज्यान जोगाउन भाग्न थाले ।
माधव पौडेल सम्झिनु हुन्छ, “प्रहरी परिचालन सोझै दरबारबाट भएको थियो र त्यहाँको सिडियोलाई पनि त्यस बारे थाहा थिएन । सांस्कृतिक कार्यक्रम सकिएर हामी केही माथि पुगेका थियौं । अझै उत्साहित केही युवाहरु मंचमा बसेर गाउने र व्यंग्यात्मक कार्यक्रम गरिरहनु भएको थियो । त्यही बेलामा प्रहरीको एउटा टोली आयो र म लगायत केहीलाई गिरफ्तार गर्यो र कार्यक्रम स्थल जाने बाटो देखाउन लगायो । प्रहरीहरु अघि अघि लागे, पछि अलिक मोटो डिएसपी थिए । प्रहरीहरु अघि अघि गए, अलि पर पुगेपछि मैले कान्लाबाट हाम फाले र बचें । प्रहरीहरु तल पुगेर कार्यक्रम स्थलको बत्ती निभाए र गोली हान्न थाले । त्यो उनीहरुको लागि हितकर थिएन । किनभने हामीले तीन/चार डोका ढुंगा र घङघारुका लट्ठी भेला पारेका थियौं त्यही बर्साउन थाल्यौं अँध्यारोमा । प्रहरीलाई हामीसंग पनि हतियार छ भन्ने लागेछ र घाइते जति लिएर जाने भनेर भाग्न थाले ।”
करिब पाँच सयको टोलीमा आएको प्रहरीमध्ये २०० जति मात्र घटनास्थलमा पुगेका थिए । त्यसपछि गाउँमा हाहाकार भयो । मर्ने मरि हाले र एक जनाको लास कान्लामा भेटिए पछि मानिसहरु बीच पचासौँ मारिएको हल्ला भयो । धेरैले गाउँ छोडेर भागे । भोलिपल्ट फेरि पुलिसले घेरेपछि माधव पौडेललगायत सबै जनालाई पार्टीका दस्तावेज र किताबहरु लुकाउन हम्मे पर्यो । वहाँ सगौरव भन्नुहुन्छ, “यति धेरै दमन त्यसपछि भयो र सयौँलाई पुलिसले बयान लियो तर थाहा हुने कसैले पार्टीको दस्तावेज बारेमा कुरा खोलेनन् न त पिस्कर घटनामा पार्टीको संलग्नता छ भन्ने कानुनी आधार दिए । एकजना गाउँले महिलाले त पुलिस बसेको ठाउँमै गएर डोकामा एक भारी किताब हालेर माथिबाट मल हालेर झुक्याएर ल्याउनु भयो र ठूलो अप्ठ्यारो मोल्नुभयो ।”
त्यसपछिका छ महिना असाध्य कस्टकर भयो गाउँलेहरुको लागि । प्रहरीको एउटा टोली आएर स्थानिय प्राथमिक विद्यालयमा बस्यो । विद्यार्थीहरुले स्कुल जान पाएनन् । पिस्करका मान्छेहरु काठमाडौँलगायत अन्य ठाउँहरुमा गिरफ्तार गरियो । यसरी गिरफ्तारीमा पर्नेमा सावित्री बोहोरा र अरुण नेपाल पनि हुनुहुन्थ्यो । जगतबहादुर बोहोराका त घरकी बुहारीबाहेक छोरा, छोरी सबै गिरफ्तार गरिएको थियो । निकै लामो समयसम्म वहाँहरुले जेल जीवन बिताउनु परेको थियो । पिस्करमा मान्छेहरु घरमा बस्न पाएनन् । गोठमा बाटातिर बस्नु पर्ने भयो ।
मिसरी थामी (माधव पौडेलकी श्रीमती, त्यतिखेर विवाह भएको थिएन) जो त्यतिखेर सात वटा गाउँको इन्चार्ज हुनुहुन्थो स्थानिय गुण्डाहरुको तारो बनिनु भएको थियो । गुण्डाहरु मार्न भनेर पछि लागेका थिए । त्यसैले ईश्वर पोखरेलले वहाँलाई दोलखाको जिम्मेवारी दिएर सार्नु भएको थियो । स्मरण रहोस्, त्यतिखेर ईश्वर पोखरेल सिन्धुपाल्चोक, दोलखा रामेछाप आदि जिल्ला हेर्ने इन्चार्ज हुनु हुन्थ्यो ।
त्यो सानो गाउँको घटनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय तरंग ल्याएको थियो । त्यसपछि अखिलले देशब्यापी रुपमा विरोध गरेको थियो । फेरि एकपटक सयौं विद्यार्थीहरु गिरफ्तार भएका थिए । “गौरी प्रधानजीहरुले यसलाई अन्तर्राष्ट्रियकरण गर्नुभएको थियो”, माधव पौडेल भन्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक