मंगलबार, मंसिर १६ २०७७ | Tue, December 01, 2020
नेपालको समय: ०१:४६ | UK Time: 20:01

वर्षभरि मनाइने उत्सवहरू

संस्मरण

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७७ कार्तिक ८ गते ११:०७

नेपाल छाडेको केही वर्षबाहेक विदेशमा बिताइएका करिब २३ वर्षहरू खासै लामो लागेको छैन । एक्लै हुँदा र आफ्ना काम नथाल्दासम्म केही समय दिनहरू बिताउन गाह्रो हुन्थ्यो । पहिलो ६ महिना त खासै बाहिरतिर पनि गइएन । सामाजिक, राजनीतिक क्रियाकलापहरूमा संलग्न भएपछि विभिन्न जात, धर्म र सम्पदाका चाडवाडहरू, भेटघाटमा जान थालेपछि वास्तवमा नेपाली संस्कार र संस्कृतिहरू बुझ्ने मौका पाइयो । नेपालमा हुँदा स्थानीय चाडवाड र संस्कारसँग मात्र साक्षात्कार भइन्थ्यो तर यहाँ त सिंगो नेपालको संस्कृति बुझ्ने अवसर मिल्यो ।
वर्षैभरि विविध अवसरमा मनाइने चाडबाडहरूमध्ये केही अंग्रेजहरूसँग पनि मिल्दोजुल्दो देखियो । एकै समयमा नभए पनि संसारैभर बुबाआमाको मुख हेर्ने परम्परा (फादर्स डे र मदर्स डे) छ । हाम्रो तिहारताका यहाँ हलोइन र बोन फायरमा क्रमशः हाम्रोजस्तै देउसी र पटाका पड्काउने गरिन्छ । स-साना बालबालिकाहरू कहीँ अभिभावकहरूसहित छरछिमेकमा भिन्न प्रकारको पोसाक लगाएर पैसा माग्दै हिँड्ने परम्परा हलोइनमा छ । १६०५ नोभेम्बर ५ मा एक व्यक्तिले तत्कालीन राजा जेम्स प्रथमलाई हत्या गर्ने योजनासहित माथिल्लो सदनमा आक्रमण गर्ने असफल प्रयास गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष सबै सहर, बस्तीहरूमा पटाका पड्काउने गरिन्छ ।
हामीले श्रावण महिनामा बालीनाली लगाएपछि खीर खाने चलन भएजस्तै यहाँ पनि सेप्टेम्बरको तेस्रो साता पूर्णिमाको दिन हार्भेस्ट फेस्टिबल मनाउँछन् । उक्त दिन सबै स्कुलहरुमा बालबालिकाहरूले केही न केही खानाहरू लिएर जाने चलन छ । त्यसरी जम्मा भएको खाना नजिकैको फुड बैंकमा लाने गर्दछन् । जहाँबाट घरबार नहुनेहरुका लागि खाना वितरण गर्ने गरिन्छ । यस्तो चलन संसारभर चल्दछ । हाम्रो नयाँ वर्ष करिब दुई हप्ता अगाडि इस्टर मनाउने गरिन्छ । ल्होसार र यहाँको नयाँ वर्ष एक/दुई दिन मात्रै फरकमा मनाइन्छ । कहिलेकाहीँ संसारभर मनाइने चाडबाडसँग हाम्रो नेपालमा मनाइने चाडबाड र परम्पराबारे तुलनात्मक अध्ययन गरी एउटा पुस्तक नै तयार पार्नुपर्छ कि जस्तो सोचाइ आउँछ ।
बेलायतमा नेपाली समाज ठूलो भएकाले थुप्रै संघसंस्था स्थापना हुनु, सबै संस्थाले कार्यक्रमहरू गर्नु र साथीभाइ आफन्तहरूको पारिवारिक उत्सवमा सहभागी हुनुपर्दा वर्षका धेरै दिनहरू भेटघाट र उत्सवमा व्यस्त हुन्छौँ । यसबाहेक आफ्ना परिवारभित्र पनि उत्सव मनाउने नाममा छुट्टी मनाउने गर्दछौँ । यहाँ मैले हामीले वर्षभरि के कसरी समय बिताउँछौँ भन्नेबारे छोटकरीमा उल्लेख गर्न चाहेको हुँ ।
नेपाली नयाँ वर्षबाट सुरु गरौँ । मिनुको जन्म दिन पनि वैशाख १ गते हो । म नेपालमा हुँदा विवाहपछिका केही वर्षहरू नयाँ वर्षको उत्सव मनाउँदाको अनुभव अलि भिन्न छ । विवाह भएको दुई महिना नहुँदै वैशाख १ आयो । त्यतिबेला हामी वकिलहरूसहित अदालतका सबै कर्मचारीहरू नयाँ वर्षको दिन पिकनिक गएर मनाउँथ्यौँ । मलाई भने श्रीमतीको जन्मदिन मनाऊँ कि पिकनिक जाऊँ जस्तो हुन्थ्यो । बिहानै ह्याप्पी बर्थडे भनेर हिँडेपछि दिनभरि खानपिनमा व्यस्त भएर हल्लिँदै घर आइपुग्थेँ । दिउँसो सँगै बस्न पाइएन भनेर माफी माग्नेबाहेक अर्को विकल्प हुन्थेन । हुन त त्यसताका अहिलेको जस्तो जन्मदिन मनाउने भन्ने थिएन तर नयाँ वर्षकै दिन भएकाले मिनुको जन्मदिनकै दिन अन्य कार्यक्रमहरू हुने हुँदा मेरो जन्मदिन हो र ? भनेर मलाई सुनाउने गर्छिन् । बेलायत आएपछि भने अहिलेसम्म नछुटाईकन कहिले साथीहरूलाई बोलाएर जमघट वा बाहिर कतै घुम्न जाने र उतै बस्ने गर्छौँ । त्यसैले सार्वजनिक कार्यक्रमहरूमा जाने गरेका छैनौँ । यही बेलामा सानी छोरीको स्कुलमा इस्टर छुट्टी हुने हुँदा केही दिनका लागि घुम्न जाने पनि गर्छौँ ।
जेठ १० गते अर्थात् मे २१, हाम्री सानी छोरी रेयाको जन्मदिन हो । प्रायः स्कुल लाग्ने हुँदा सबैलाई चकलेट दिने गर्छिन् । बेलुकी घरमै बसेर केक काट्ने र उपहार दिने गर्छौँ । स्कुल छुट्टी हुने पछिल्लो शनिबार वा आइतबार भने उसको स्कुलमा मिल्ने केही साथीहरूलाई बोलाएर जन्मदिन मनाइदिने गर्छौँ । कहिलेकाहीँ साथीहरूलाई घरमै सुताउने र बाहिर खेलाउन लगिन्छ । उसको जन्मदिनको ४ दिन पछाडि करिब ९ दिनका लागि स्कुल समर हाफ टर्म होलिडे हुने हुँदा केही दिनका लागि बाहिर जाने पनि गर्छौँ ।
जुलाई तेस्रो हप्ता अर्थात् श्रावण दोस्रो हप्ताबाट फेरि सेप्टेम्बर पहिलो हप्तासम्म समर होलिडेमा भने अलि लामो समयका लागि कतै गइन्छ । हामी स्कुलमा केटाकेटी हुनेहरूलाई नेपाल जाने उपयुक्त समय पनि हो यो बिदा । यसपालि यही बिदाको समयमा बुबाको चौरासी पूजाको साइत जुरेको कारण मेरो जीवनी पुस्तक पनि प्रकाशन गर्ने अवसर मिलेको छ ।
भाद्र ३० अर्थात् प्रायःजसो सेप्टेम्बर १५ मा मेरो जन्मदिन पर्दछ । नेपालमा हुँदा प्रत्येक वर्ष आमाले सगुन दिएर मेरो जन्मदिन मनाइदिनुहुन्थ्यो । बेलायतमा आएपछि यो दिन विशेष रूपमा नमनाइए पनि बिर्सने भने गरेको छैन । ४० वर्षको जन्मदिन विशेष तरिकाले मनाइयो । केही साथीहरूलाई बोलाएर आफ्नै रेस्टुरेन्टमा रमाइलो गर्यौं । ५० वर्षको जन्मदिन मेरो जीवनी मेरो आधा शताब्धी पुस्तक प्रकाशित गर्ने सोचमा थियौं । तर त्यही बेला अजेयराज सुमार्गीको पुस्तक बेलायतमा पुनः विमोचन गर्ने संयोजन तथा प्रबन्धनको जिम्मेवारी मैले नै लिनुपर्ने भएकाले मेरो आफ्नो पुस्तक प्रकाशन गर्ने योजना पर सार्नुपर्यो । भोलिपल्टै मिनु नेपाल जाने तयारी भएको हुँदा कतै नजाने निर्णय गर्यौं । र, घरमै सीमित रूपमा मनायौं । हामी चारजना र अजय श्रेष्ठ भाइ, फालमाउथबाट मेरै जन्मदिन मनाउन भनी आएका रहेछन्, सँगै बसेर मनायौं । जन्मदिनमा पहिलोपटक परिवार बाहिरबाट अजयद्वारा राम्रो जुत्ता उपहार प्राप्त गरियो । गुड्डीकी साथी एन्ड्रु पनि १३ सेप्टेम्बरमा अल्डरसटमा भएको सुमार्गी पुस्तक विमोचनमा सहयोग गर्न आएको थियो । उनीहरू मिलेर एउटा घडी पनि पाइयो । गुड्डीले सर्ट र कोट पनि किनेकी रहेछन् । मिनुले प्रत्येक वर्ष केही न केही उपहार र कार्ड दिने गरेकी छन् । प्रायःजसो हामी बेलुकीको खाना खान बाहिर जाने गर्छौं ।
दसैं र तिहारमा भने म सन् २००६ देखि प्रायःजसो नेपाल जाने गरेको छु । केही वर्ष भने सबैजना गएका छौं । त्यही बेला प्रत्येक दुई वर्षमा एनआरएनको विश्व सम्मेलन हुने हुँदा अहिलेसम्म छुटाएको छैन । लन्डनमा हुँदा पनि स्थानीय र केन्द्रीय रूपमा पनि दसैं मान्ने गरिन्छ । दूतावासले प्रत्येक वर्ष सबैलाई बोलाएर जमघट गर्ने गर्दछ । पहिला वर्दिङमा बस्दा प्रत्येक वर्ष सबैलाई बोलाएर रेस्टुरेन्टमा नै दसैं मान्ने गर्थ्यौं । होभमा एभरेस्ट रेस्टुरेन्टमा सन् २००२ मा धेरै साथीहरू बोलाएर दसैं मनाएका थियौं । त्यतिबेला डा. प्रेमसिंह बस्न्यातकी श्रीमती लक्ष्मी दिदी पनि आउनुभएको थियो । त्यतिबेला मेरो बुबाआमा पनि आउनुभएको थियो । सबैलाई बुबाआमाको हातबाट टीका लगाइदिनुभएको थियो । मिनुका बुबा, आमा, चमेली फुपू, फुपाजु पनि छोराछोरी, बुहारी, नातिनातिनीहरु भेट्न प्रायः लन्डन आइराख्नुहुन्थ्यो । त्यसबिचमा पटकपटक दसैं पनि परेको थियो । स्लावमा आएपछि यहाँको नेपाली समाजले प्रत्येक वर्ष दसैंको जमघट गर्न थाल्यो ।
सन् २०१३ तिर हुनुपर्छ, हाम्रो गाउँकै पुरोहितबाजे सुरेन्द्रप्रसाद शर्माको बुबा कविन्द्रको हजुरबा आउनुभएको मौका पारेर चौतारा वरिपरिका सबैलाई बोलाएर उहाँको हातबाट दसैंको टीका लगाउने व्यवस्था गर्यौं । सबैजना खुसी भए । सन् २०१६ मा भने अलि फरक भयो । म अगस्ट २५ मा नेपाल गएर अष्टमीको भोज खाएर टीकाका लागि लन्डन आएँ । सासुससुरा यतै हुनुहुन्थ्यो । म नेपाल छाड्नु अगाडि डीएसपी सुरतबहादुर शाह श्रीमतीसहित छोराबुहारी, नातिहरू भेट्न आउनुभएको थियो । उहाँहरूको हातबाट टीका ग्रहण गरेँ ।
मिनुका आफ्ना दुई जना भाइहरू फुपूका छोरा पनि यतै बस्ने हुँदा तिहारमा निकै रमाइलो हुन्छ । सबैजना एकै ठाउँमा जम्मा भएर तिहार मनाउने चलन पनि चल्यो । गुड्डीले मोती र उमेशलाई पूजा गर्थिन् । सिद्धार्थका छोराहरू पनि पछि थपिए र रियाले उनीहरूलाई पूजा गर्छिन् । सन् १९९९ तिर परिचय भएको केही समय वर्दिङमा सँगै बस्नुभएका पोखराका डा. रुपक श्रेष्ठलाई पनि मिनुले टीका लगाइदिन्थिन् । मैले पनि एकपटक घरमा दाङतिरकी रञ्जु बहिनीको हातबाट सन् २००० तिर टीका ग्रहण गरेको थिएँ । त्यसको केही वर्षपछि सुष्मा बहिनीसँग टीका लगाएँ । तर यो क्रम निरन्तर भएन । नेपालमा पनि एकपटक मित्र गणेशमानकी बहिनी लक्ष्मीसँग पनि टीका लगाएको थिएँ । हामीलाई सधैं मामाकी छोरी निर्मला दिदीले टीका लगाइदिनुहुन्थ्यो । बेलायत आएपछि तीन/चारचोटि मात्रै तिहारमा नेपाल बसेँ हुँला । यहाँ भने दुई पटक मात्रै टीका लगाएँ । सधैं एकैजनासँग टीका लगाउने चलन भएको भए त्यो निरन्तर हुन्थ्यो होला । सन् २०१७ मा मिनु र म दुवैजना नेपाल गएका थियौं । म उतै बसेँ मिनु भने तिहारका लागि लन्डन फर्किइन् । सुमन दाइ र भाउजू पनि छोराबुहारी निरीश र सिमोन भेट्न यतै आउनुभएकाले सबैलाई टीका लगाइदिँदा रमाइलो भएको अनुभव सुमन दाइसँग नेपालमा भेट्दा सुनाउँदै हुनुहुन्थ्यो ।
रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरुन्जेल क्रिसमस इभमा रेस्टुरेन्टमा रमाइलो गर्ने गर्यौं । वर्दिङमा हुँदाचाहिँ प्रायः त्यहाँ बस्ने सबैजना क्रिसमसकै दिन अरूको रेस्टुरेन्टमा जान्थ्यौँ । स्लाओ आएपछि चाहिँ क्रिसमसको दिन सबै बसेर मनायौँ । सुरुको वर्ष १९९६ मा म पनि रिचर्डसँगै उसको मामाघर लिभरपुलमा क्रिसमस मनाउन गएको थिएँ । मिनु आएपछि हामी कुन्दन र मोतीलाई पनि लिएर रिचर्डकी आमाको घर वर्मिङघम नजिकै ट्यामओर्थ गएका थियौँ । गत वर्ष घरमै मनायौँ । यो वर्ष भने इन्दु, प्रेरणासहित हामी दुई दिनअगाडि नै वेल्स गएर क्रिसमसकै दिन घर आयौँ । हामी भने मित्र ब्यारेस्टर देवेन्द्र श्रेष्ठ तथा सुमी श्रेष्ठको घर रेडिङमा गएर मनायौँ । त्यहाँ अन्य तीन परिवार पनि थिए । निकै रमाइलो भयो ।
पुस १५ अर्थात् डिसेम्बर ३० गुड्डीको जन्मदिन पर्छ । क्रिसमस र नयाँ वर्षको बिचमा पर्ने भएर हप्तैभरि रमाइलो हुन्छ । म नेपाल छोड्ने तीन हप्ता पछाडि नै उसको चौथो जन्मदिन थियो । दुई वर्षको हुँदा चौतारामा सबै साथी इष्टमित्रहरूलाई बोलाएर रमाइलोसँग जन्मदिन मनाइदिएका थियौँ । नेवारी परम्पराअनुसार योमरीको माला लगाइदिनुभएको थियो आमाले । बेलुकी जन्मघर गयौँ । यहाँ आएपछि प्रत्येक वर्ष मनाउने गरेका छौँ । सो एसियामा उनी किशोरी १८ वर्ष पुग्दा धेरैलाई बोलाएर जन्मदिन मनायौँ ।
सन् २०१६ मा भने अलि फरक गर्यौँ । ऊ पढाइका क्रममा लन्डन बस्थिन् । त्यहीँ नजिकै लन्डन ब्रिजको छेउमा एउटा रेस्टुरेन्टमा खाना खाएर डिसेम्बर २१ को राति १२ बजे पुलको माथि बसेर केक काट्यौँ । रमाइलो भयो । यो वर्ष उसको २५ औं जन्मदिन भने जङ्सनमा भाइ विनोद बरालले केहीअगाडि खोलेको रेस्टुरेन्टमा हामी ४ जना र रिचर्ड भएर मनायौँ । धेरै समयपछि एक्कासि फोन गरेका थिए उनले । हामी लन्डन न्यु गार्डेनमा बस्ने योजना भएकाले त्यहीँबाट नजिक पनि भएको हुँदा उसकोमा जाने भयौँ । गुड्डी दुई दिनअगाडि अलि टाढा गएकी थिइन् । उनी सीधै त्यहीँ आइन् । रिचर्डलाई रिचमन्डबाट लिएर होटलमा केही समय बसेर खानाका लागि गयौँ । विनोद यो देशमा आएपछि पहिलोपटक हामीसँग एक महिनाजति बसेको कुरा उसैले उसको पार्टनर राजुलाई सुनाउँदै थियो ।
उसलाई रिचर्डसँग त्यति बेला भेट भएको पनि याद रहेछ । चलनचल्तीको इन्डियन रेस्टुरेन्टभन्दा पूर्णरुपमा फरक ढंगले सञ्चालन गर्न खोजिएको यो रेस्टुरेन्टको भविष्य राम्रो हुने देख्दछु । उनले आजको खाना पेयपदार्थको पैसा नलिने अड्डी लिएकाले पैसा तिर्नुपरेन । उनको आत्मीयता र सदासयताले हामीलाई धेरै प्रभावित पार्यो । हाम्रो सम्पर्कको निरन्तरता होस् भन्दै छुट्यौँ । बाटोमा गुड्डीले रिचर्डसँग भन्दै थिइन्, २० वर्ष पछाडि तिमीसँग मैले जन्मदिन मनाएँ, पछिल्लोपटक मनाउँदा तिमी नेपालमा थियौँ र म ५ वर्षकी थिएँ ।
अंग्रेजी नयाँ वर्ष अघिल्लो रात १२ बजे लन्डनको फायरवर्क टीभीमा हेर्ने र स्याम्पेन फोर्ने चलन निरन्तर चलिआएको छ । कुमारीमा हुँदा एक ग्राहक जोडीले कहिल्यै पनि हाम्रो रेस्टुरेन्टमा न्यु इयर इभ मनाउन छुटाइनँ । स्लावमा आएपछि एक/दुई पटक ग्राहकका लागि पनि खोज्यौँ तर प्रायः हामी काममा भएकाहरू मात्रै बस्थ्यौँ । साह्रै रमाइलो हुन्थ्यो । सन् २०१६ को अन्तिम रात भने राजुजीको परिवार शोभा भाउजू, छोरी इभा र हामी म मिनु र रेया इस्टबोर्नमा बस्ने गरेरै गयौँ । राति १२ बजे समुद्रको तीरमा बसेर स्याम्पेन फोर्यौं । बाटोभरि निस्केका मान्छेहरूसँग नयाँ वर्षको शुभकामना साटासाट गर्यौं ।
फेब्रुअरी १४ मा भ्यालेन्टाइन दिवस मनाउन रेस्टुरेन्ट सञ्चालन गर्दा त्यही दिन विशेष व्यस्तता हुने हुँदा दिउँसो एकछिन् छुट्टी लिएर बाहिर रेस्टुरेन्टमा खान जाने राति काम सकेपछि सबै जनासँग बसेर रमाइलो गर्ने चलन थियो । यसको एक हप्तापछाडि नै हाम्रो विवाहको वर्षगाँठ हुने हुँदा उक्त दिनलाई चाहिँ बढी प्राथमिकता दिन्थ्यौँ । सन् २००५ देखि भने अलि विशेष रूपमा मनाउन थाल्यौँ । प्रायः हामी एक/दुई रातका लागि बाहिर होटलमा अर्थात् विदेश जाने गर्थ्यौं । पछिल्लोपटक सन् २०१७ को फेब्रुअरी २० मा २५ औं वर्षगाँठ मिनुका बुबाआमा पनि यतै हुनुभएकोले सबै आफन्तहरू इन्दु, कुन्दन, सिद्धार्थको सबै परिवार र निरीश थियौं । बिहान हिन्दु मन्दिरमा गएर पूजापाठ गरेपछि नजिकै कोपथ्रोन होटलमा ब्रेकफास्ट खाएर म्याग्नाकार्टा घोषणा र दस्तखत गरेको ठाउँमा फोटो खिच्न गयौँ । सोही दिन मिनु, रेया, बाबाआमा र म वेलफास्टमा गयौँ । दुई रात त्यहाँ बसेर फर्केका थियौँ । २० औं वर्षगाँठ मनाउन म र मिनु मात्र माल्टा गएका थियौँ । सानो, सुन्दर, सफा देश पर्यटकहरूको आकर्षण बढी नै रहेछ । एक छेउबाट अर्को छेउ अढाइ घण्टा ड्राइभमा पुग्न सकिने रहेछ ।
राजधानी ठ्याक्कै हाम्रो भक्तपुरजस्तो । ससाना गल्ली बाटोमा ढुंगा बिछ्याइएको तर गाडी पनि जाने । त्यतिबेला नेपालमा डा. बाबुराम भट्टराई प्रम भएको बेला काठमाडौंका बाटो फराकिलो पार्न बाटो मिचेर बनाएका घरहरू भत्काउने अभियान थियो । मैले उक्त दृश्य देखेपछि व्यवस्थित सहर बनाउन चौडा बाटो मात्रै भएर नपुग्ने रहेछ भनेर फेसबुकमा लेखेको थिएँ । त्यहाँ पनि सडकको देब्रेतिर गाडी चलाउने हुँदा मैले गाडी भाडामा लिएर चलाएको थिएँ । प्रत्येक सहर बस्तीहरूतिर पुग्यौँ । त्यहाँ खरायोको मासु बेच्ने प्रचलन रहेछ । यसो चाखेको खासै मीठो लागेन । १५ औं वर्षगाँठ मनाउन हामी स्विटजरल्यान्ड पुगेका थियौँ । कमरेड सीपी गजुरेल आउनुहुँदा पार्टीको बैठक पारेर गएका थियौँ ।
स्विडेनमा मित्र कृष्ण ढकालसँग एकपटक, बेल्जियममा सुरेन्द्र भुसालजीकोमा दुई पटक पुगेका थियौँ वर्षगाँठकै क्रममा । पहिलोपटक सन् २००५ मा ब्राइटनस्थित द ग्रान्ड होटलमा एक रात बस्न गएका थियौँ । त्यसबेला मिनु रेयालाई जन्म दिने तयारीमा थिइन् । जुन होटल सन् १८६४ मा निर्माण गरिएको थियो । सन् १०८४ अक्टोबर १२ मा कन्जरभेटिभ पार्टीको राष्ट्रिय अधिवेशन भएरहेको बेला बिहान २ बजेर ५१ मिनेटमा प्रोभिजनल आइरिस रिपब्लिकन आर्मीले बम प्रहार गरी तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरको हत्या गर्ने असफल प्रयास गरेको थियो । उनलाई मार्न त सकेन तर अन्य पाँचजनाको मृत्यु भएको थियो । करिब दुई वर्ष बन्द रहेको यो होटल अहिले पनि निकै प्रख्यात छ । सन् २०१९ मा भने हामी सात जोडी डोभरबाट बेल्जियम हुँदै हल्यान्ड पुगेर फर्कने जहाजमा थियौँ । प्रेमदिवस मनाउने दिन हामी बेल्जियमको आन्त्रोपेनमा बास बसेका थियौँ । रातो साडीमा महिलाहरु र रातै टाईमा पुरुषहरु भएको हाम्रो सानै समूह भए पनि जहाजमा सबैको आकर्षणको विषय बनेको थियो ।
यसरी वर्ष दिन कटेको खासै थाहा हुँदैन । जीवन बितिरहेको छ । पर्व, उत्सवको नाममा भेटघाट र घुमफिरमा ।

श्रेष्ठको ‘मेरो आधा शताब्दी’ पुस्तकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक