पर्खाइमा

पाँच वर्षपछि चैते दशैँ मान्न नेपाल गएका भूतपूर्व गोर्खा लाहुरे जसबीर सिंह घले र श्रीमती कान्छी घले बेलायत फर्कने समयमा महामारी कोरोनाले विश्वब्यापी रुप लिन थालिसकेको थियो । हवाई सेवामा रोक लगाइसकेको त थिएन तर छिट्टै सबैतिर बन्दाबन्दीको तयारी भैरहेको थियो । केवल तीन दिन बाँकी थियो फर्किने । तर आफू भने गोरखा बजारमा आइपुगेका थिए । बेलायतमा ठूलो संख्यामा संक्रमण भएको कारण बिद्यालय बन्द गरिसकेको थियो । अब तुरुन्तै पब, रेस्टुरेन्टसमेत बन्द गर्ने तयारीमा थियो । सबैजना लामो समय घरभित्रै बस्नपर्ने हुँदा दैनिक उपभोग्य सामग्रीहरु ठूलाठूला पसलहरुमा पनि पाउन छाडिसकेको थियो । स्थानीय गोराहरु ट्वाइलेट पेपर थुपार्न थाले भने एशियन, अफ्रिकनहरु अरु जसरी पनि चल्छ दाल चामलको चाहिँ जोहो गर्न थालेका थिए ।
बेलायतमा बस्ने केही साथीहरु र नेपालमै बस्ने केही आफन्तहरुले ‘यस्तो कोरोनाले हाहाकार पारेको अवस्थामा बरु नेपालमा नै बस्न उचित हुन्छ’ भन्ने सल्लाह पनि दिएका थिए । तर लामो समय बेलायत छाडेमा पेन्सन तथा अन्य क्रेडिट सुविधाहरु कटौती हुने डरले सताउन थाल्यो । खाँदै आएको औषधिहरु पनि सकिन लागेकोले नेपालबाट फर्किने नै निर्णयमा पुगेका थिए । आफ्नो पूर्व निर्धारित टिकटअनुसार घले दम्पती बेलायत फर्केका थिए ।
बेलायतमै समय बित्दै गयो । छोराहरु आउन पाए पनि उता नेपालमा कागजपत्र मिलाउन समय लाग्ने । त्यसमा पनि हवाई सेवा कहिलेबाट खुल्ने ठेगान थिएन । तर विदेशमा अड्केका नेपालीहरुलाई सरकारले विशेष व्यवस्था गरी फर्काउँदै छ भन्ने खबर आएपछि यहाँ एक्लै बस्नु भन्दा केही समय नेपाल गएर पछि छोराहरुसंगै फर्किन पर्छ कि भन्ने सोच आयो । छोराहरुले पनि त्यही सुझाए । नेपाली दुतावासबाट नेपाल फर्कन इच्छुकहरुलाई नाम टिपाउन सूचना जारी गरेपछि जसबीरले पनि आफ्नो नाम लेखाए । दुताबासबाट यस्तो जवाफ आयो “तपाइको बेलायती पासपोर्ट रहेछ, यहाँ हामीहरुको प्राथामिकतामा नेपाली पासपोर्ट भएकाहरुलाई पहिला लाने भन्ने छ । त्यही पनि सिट खालि भयो भने तपाईलाई खबर गरौँला ।”
पहिले परिवारलाई यता ल्याउने चटारोमा रातो पासपोर्ट लिए । सबै काम अलि छिटो बन्छ यहाँको पनि सबै सुविधा पूरापूर उपयोग गर्न पाइन्छ भनेर बुढाबुढी दुईमध्ये एक आफैंले पासपोर्ट लिएका जसबीरलाई अहिले आफ्नो जन्मभूमि फर्कन त्यही पासपोर्टले रोक्दा कम्ता चित्त दुखेन । पहिलो लटमा जान पाए हुन्थ्यो भन्ने उनलाई लागेको छ । नभए दोस्रोमा त कसो सिट नपाइएला उनको आशा बाँकी नै छ । यही भरोसाका साथ एक्लै कोठामा सधैं सामान प्याक गरिरहेका हुन्थे उनी । र, फोनको प्रतीक्षामा थिए । नचाहिने घरको समान तह लाउँदै थिए ।
. . .
यी दम्पतीको संयोग नि उस्तै ! पछिल्लो पटक नेपाल जाँदा पनि यस्तै अवस्था झेल्नु परेको थियो । बारपाकका घले दम्पती त्यतिबेला ठूलो छोरी पट्टिको नातिको विवाहको लागि नेपाल गएका थिए । रमाइलोसँग सबै संस्कार अनुसारका कामहरु सकेर काठमाडौं आउँदै गर्दा नौबिसेमा खाजा खान बिसाएका बखत महाभुकम्प आएको थियो । भूकम्पको मूल थलोमा नै आफ्नो जन्मघर भएको तर सम्पर्कको कुनै माध्यम नभएकोले कसैसंग पनि सम्पर्क गर्न सकेका थिएनन् । गाउँघरमा के कसो भयो होला भन्ने मनमा ठूलो डर र खसखसीसहित काठमाडौं आइपुगेका लाहुरे दम्पतीलाई त्यहाँको अवस्थाले त झनै ठूलो बिपदमा पुर्याएको थियो । जहातहीं भूकम्पको धक्का सहेका घरहरु देख्नुपरेको थियो । प्राय सबै मन्दिरका गजुर भुइँमा धस्सिएका थिए । सम्पर्क गर्न खोज्दा गाउँमा बल्लबल्ल छोराको मोबाइल उठ्यो । गत वर्ष मात्रै पुरानो घर भएको ठाउँमा बनाएको नयाँ पक्की घर अलि बलियो भएकोले लडेको रहेनछ । आफ्नो घर नभत्केको तर गाउँका प्रायः सबै घरहरु भत्किएको र ठूलो धनजनको पनि क्षति भएको समाचार छोराले बताएपछि दुवैलाई निकै दु:खी बनाएको थियो । भोलिपल्टै बेलायत उड्न पर्ने बाध्यता थियो । सधैं बस्ने गरेको सुन्धाराको होटल जान ट्याक्सी लिएर बाहिर निस्कँदा नयाँ बसपार्क वरिपरिका ठूल्ठूला घरहरु भत्केका दर्दनाक दृष्यहरु हेर्दा पूरा नेपाल पाताल भएको जस्तो लाग्थ्यो । जेनतेन सुन्धारा पुगेका थिए । पहिलो प्रधानमन्त्री भीमसेन थापाले बनाएको देशको शिरका रुपमा चिनिने धरहरा जरैदेखि भास्सिएको रहेछ । त्यत्रो अजङ्गको स्तम्भ ढलेकोले वरिपरिका सबै होटल बन्द भएको चाल पाए । भोलिपल्ट एअरपोर्टको लागि निस्कन पनि सजिलो हुने हुँदा सिनामंगल नजिकैको एउटा होटलको कोठामा सामान राखेर झन्डै पूरा रात बाहिर पालमुनी बस्नु परेको थियो । त्यतिबेलाको नेपालको अवस्था र अहिले नेपाल छाड्दाको दृष्य अनुभूति निकै फरक थियो ।
त्यतिबेला आफन्त, साथीभाइ, जहान परिवारलाई भूकम्पको कहालीलाग्दो स्थितिमा छाडेर आफू सुरक्षित देशमा गयो भन्ला भन्ने भय थियो । अहिले संसार नै कोरोनाबाट आक्रान्त हुँदा अन्त भन्दा कम संक्रमित भएको आफ्नै देश छाडेर जान परेको र आफ्नो अन्तिम श्वास कतै बिरानो भूमिमा नै जाने त हैन भन्ने आशंका मनमा थियो ।
पहिला बेलायती सेनामा भर्ना भइ १८ वर्ष जागिर खाएर नेपाल फर्केका जसबीरलाई कुनै दिन आफ्नो थातथलो छाडेर ब्र नै बनिएला भन्ने कल्पनासम्म थिएन । जीवनको उत्तरार्धमा आइपुग्दा आफ्नो अधिकारको रुपमा प्राप्त त्यो हक आफूलाई भन्दा सन्ततिको भविष्यको लागि प्रयोग गर्ने निर्णयमा पुगेका थिए र बेलायत हान्निएका थिए । दुई छोराहरुको स्थाई बसोबासको लागि पटक पटकको प्रयासपछि अन्तिम फैसलाको प्रतीक्षामा छन् । उमेर पनि दुवैको ७३ वर्षको हाराहारीमा पुगिसकेको छ ।
उमेरजन्य बिमारी हुनु स्वाभाविक नै हो । जसबीरले मधुमेह र उच्व रक्तचापको औषधि खान थालेको झन्डै २५ वर्ष भइसकेको छ । गानु गोला लागेको भन्दै धेरै समय सोडा खाएर बसेकी कान्छी घलेको पनि अल्सर भएको पत्ता लागेको २० वर्ष भएछ । सुत्केरी हुँदा राम्रो स्याहार सुसार नपाउँदा ढाड दुख्ने समस्या त छँदै थियो । सानै उमेरदेखि बिंडी तान्ने बानी लागेकोले अहिले धुम्रपान छाडे पनि दमको व्यथाले भने छाडेको छैन । बेलायतमा गएपछि सबै औषधि उपचार सित्तैमा सजिलोसंग पाइन्छ भन्ने सुनेका यो जोडी बेलायत बसाइ सर्न तयार हुनुको अर्को महत्वपूर्ण कारण थियो ।
दश वर्ष अगाडी नेपाल छाडेका यी जोडी अहिलेसम्म दुई चोटी मात्रै नेपाल पुगेका छन् । सरकारले उपलब्ध गराएको एक कोठे फ्ल्याटमा बसेका यो जोडीको सरकारी पेन्सन, बुढाको लाहुरे पेन्सन निःशुल्क उपचार, औषधिमूलोले गर्दा ठीकैको जीवनचर्या व्यथित भइरहेको छ । छोराहरु आउन पाउने भएपछि केही समय आफैँले भरथेग गर्न पनि केही बचत गर्न पर्ने हुँदा खर्च कमतिर लाग्नु स्वाभाविक नै हो । उनीहरुको यहाँ बस्ने व्यबस्था मिले पछि आफू भने नेपाल नै फर्कने उनीहरुको सोचाई पहिला देखिकै थियो ।
बेलायत आएपछि अरु अलि बढी उमेर पुगेका पूर्व गोर्खाहरुको झैँ यो जोडीको पनि खाने र बस्ने काम मात्र भएको थियो । बेलायती मौसम यसै भन्न नसकिए पनि गर्मी महिनामा पारिलो घाम लाग्दा बुढाबुढी यसो पार्कमा बस्ने, बजारतिर टहल्ने अर्को काम थपिएको थियो । त्यसो त जाडोको महिनामा पनि घरमै बसिरहनको साटो निःशुल्क पासमा चढ्न पाइने न्यानो बसमा बसेर यताउति घुम्न पाइन्थ्यो । शहरको बीचबीचमा रहेको पार्कका प्रायः सबै मेचहरुमा यिनै पूर्व गोर्खाहरुको उपस्थिति देखेर स्थानीय सांसदले आफ्नो क्षेत्रमा अब धेरै गोर्खा बुढाबुढीहरु नथपियोस् भनेर संसदमै पनि कुरा उठाएका थिए । प्रायः नेपालीहरुको बसोबास भएको स्थान हुने भएकोले दैनिकजसो हुने विविध कार्यक्रमहरुमा सहभागिता जनाउनु पनि रुटिन जस्तै भएको थियो । कहिले काही त पूर्व गोर्खाको हैसियतले पाउन पर्ने सबै अधिकार छिटै पाउनुपर्छ भनेर लण्डनको केन्द्रसम्म पनि लौरो टेकेर पुग्ने गर्नु पर्थ्यो । एउटै अधिकार प्राप्त गर्न आधा दर्जनभन्दा बढी सक्रिय संस्थाहरुको कुनै न कुनै कार्यक्रममा पुग्ने भनेर छान्नु पर्ने पनि हुन्थ्यो । आफ्नै गाउँ, टोल, कुल, जातका मात्रै विविध कार्यक्रमहरुमा हाजिरी जनाउनु पनि भ्याइ नभ्याई नै हुन्थ्यो ।
यसपाली बेलायत आइपुग्ने बित्तिकै सरकारले सबैलाई घरमा नै बस्ने अनिवार्य निर्देशन दियो । ६५ वर्ष उमेर काटेकाहरुलाई विशेष सतर्कता अपनाउन भन्यो । क्रिसमसको दिनमा समेत बन्द नहुने पसल, रेस्टुरेन्ट, पबहरु एकाएक अनिश्चित कालको लागि बन्द भए । जरुरी सेवाका कार्यालय र पसलहरु अनि हस्पिटल मात्रै सञ्चालनमा रहे ।
छुट्टाछुट्टै बस्ने उमेर पुगेका आमा–बा, बाजे–बज्यैहरुलाई देखभेटसम्म पनि गर्न नपाइने भयो । शुरुमा नै स्वास्थ्य मन्त्रीलाई कोरोनाले संक्रमण गरेको समाचारले सबैजना सजग भएका थिए । केही समय पछि स्वास्थ्य विभागका प्रमुखलाई पनि यो रोग देखा पर्यो । हुँदाहुँदै प्रधानमन्त्री पनि यो रोगको शिकार हुन पुगेपछि यहाँको स्थिति भयावह नै भयो । लकडाउन खुल्ने भन्दाभन्दै झन पछि झन् कडाइ हुन थाल्यो ।
कोरोनाको संक्रमणपछि सारा संसारका मान्छेहरुको दैनिकी ठप्प भयो । दैनिक व्यायाम गर्न, सामान किन्न बाहिर जान पाइने भएपनि ७० नाघेका बृद्धबृद्धाहरुलाई त्यही पनि अनुमति थिएन । बिहान उठ्यो चिया नास्ता खायो आराम गर्यो । फेरि खाना खायो सुत्यो । यस्तै दैनिकी घले दम्पतीको र अरु धेरै बुढाबुढीहरुको थियो ।
लाहुरेमा भर्ती भएपछि लामो घरबिदा लिएर गाउँ फर्केका बेला विवाह भएको थियो । केही महिना बसेर आफू एक्लै फर्किएपछिको १८ वर्षे लामो जागिरे जीवनमा जम्माजम्मी छ पटकमा गरी मात्रै तीन वर्ष उनीहरुले साथै बिताउन पाएका थिए । यस दम्पतीको मायाको असली कथा पेन्सन थापेर घर फर्केपछि मात्रै शुरु भएको थियो । अब जिन्दगीभर छुटेर नबस्ने भनिए पनि आफ्नो अधिकार प्राप्त गर्न थालिएको अभियानमा सक्रिय हुँदा जसबीर घलेका दिनहरु धेरैजसो काठमाडौं र गोरखा गर्दैमा बितेको थियो । अब त चार भित्ताभन्दा बाहिर पनि जान नपाइने भइयो त्यही पुराना रोमाञ्चित दिनहरु सम्झेर रमाउनुभन्दा अरु विकल्प नै के बाँकी रह्यो र ?
दिनहरु बित्दै जाँदा कोरोनाको आक्रमणमा परी नेपालीहरुले पनि ज्यान गुमाउन थालेको खबर आयो । केही उमेर कम भएकाहरु भए पनि धेरै संख्यामा बढी उमेरका गोर्खालीहरु हताहत भएका थिए । यो माहोल नै सबलाई भयभीत पार्ने खालको थियो । सबैजना डर सँगालेर बाँचिरहेका थिए । मृत्यु आफू नजिकै आएजस्तो हुँदा काललाई नजिकबाट देख्न पर्दा घले दम्पतीमा पनि अब आउनै पो लाग्यो कि भन्ने मृत्यु आभाष पनि भयो । बुढेसकालमा अनायासै आउने खोकी र घाँटीको खसखसलाई पनि थामथुम पार्दै बस्नुपर्ने बेला थियो । केही सामान्य ज्वरो आयो वा केही भइहाल्यो भने पनि स्थानीय डाक्टर (जिपी)कोमा जान पनि नपाइने थियो । सासै फेर्न गाह्रो भयो भने मात्र आपतकालीन नम्बरमा फोन गर्नु भनेर उर्दी गरेको थियो सरकारले । आफ्नै गाउँको एकजना नम्बरी पनि कोरोनाले मृत्यु भएको खबर आएपछि त घले दम्पती साँच्चिकै कमजोर हुन पुगे । दिनको एकपल्ट नेपालमा रहेका छोराछोरीहरुसँग कुरा गर्ने जाँगर पनि हराउँदै गयो । कथमकदाचित केही भयो भने स्थानीय स्वंमसेवक नेपाली युवाहरुले पनि सम्पर्क गर्नु भन्ने खबर पाउँदा थोरै भए पनि ढाडस पलाएको थियो । सकिएको नियमित औषधि र चाहिने अन्य समानको जोहोका लागि तीनै युवाहरुले सहयोग गरेका थिए ।
‘कहिले काहीँ त, काल हो आएपछि जहाँबाट भए पनि जानुपर्छ भनेर पनि चित्त बुझाउँथे । खै बा, को पहिला जाने हो ? दुवै एकैपटक जान्छु भनेर त के पाइन्थ्यो र ?’ भनेर आसन्न समस्याको आँकलन पनि गर्दथे । ‘जीवनमा सबै दुःख सुखमा साथ दिए लामो समय छुटेर पनि हाम्रो मायाको डोरीको बलियो गाँठो फुस्कन दिइएन तर यो अवस्थामा म मात्रै त कसरी धान्न सकिएला र बुढा ?’ भन्दा जसबीर ठूलो बिलखबन्दनमा परे । आफूले त्यत्रो माया गरेकी श्रीमतीलाई कसरी आफूभन्दा पहिले मृत्युवरण गर्ने अनुमति दिन सक्थे र ? तर जसोतसो टुटेफुटेको ’यस’, ’नो’ सम्म भन्न जान्ने आफू बुढीभन्दा पहिला जान पर्यो भने कान्छीले कसरी धान्ली ? म बिनाको एक्लो जीवन कसरी काट्न सक्लिन् ? त्यो पनि यो बिरानो देशमा भन्ने लागिरहन्थ्यो ।
मानसिक रुपमा कमजोर बन्दै गएको शरीर रुघाखोकीले समाइहाल्यो श्रीमती कान्छी घलेलाई । तातोपानी, बेसार, जिरा उमालेर सक्दो सेवा गरे जसबीरले । दमको पनि बिरामी भएको कारण श्वास प्रश्वासमा पनि असर पर्यो । स्थानीय स्वयमसेवकहरुले १११ नम्बरमा फोन गरेर जानकारी दिँदा तीन दिनसम्म पनि सुधार भएन भने फोन गर्नु भनेका थिए । त्यो सहयोगको लागि याचना गर्दा पछिका तीन दिनसम्ममा त अवस्था झनै बिग्रेर गयो । चौथो दिनमा फोन गरेपछि एम्बुलेन्स पर्खन भन्यो । त्यसो गर्दा चार बजिसकेको थियो । अस्पताल जाँदा बिरामीसँग कोही पनि जान नमिल्ने नियम थियो । त्यसपछि घले बुढा एक्लै परे र घरमा एक्लै श्रीमती कान्छीको सुस्वास्थ्यको कामना गर्दै बसे । आफ्नो अन्तिम श्वास आफू जन्मेकै माटोमा फेर्ने दुवैको इच्छा पूरा होस् भन्दै भगवानसँग प्रार्थना गरी बसे । दिनको एकपल्ट अस्पतालबाट नियमित फोन आउँथ्यो । उनीहरु भन्थे, ‘हामीहरुले सक्दो प्रयास गरिरहेका छौं, तपाईं नआत्तिनु होला !’
त्यसको तीन दिनपछि ‘बिरामीको श्वासप्रस्वासमा समस्या भयो अब भेन्टिलेटरमा राख्नुपर्ने भयो । तपाईसँग अनलाइन सुविधा छ भने हेर्न सक्नुहुन्छ’ भन्न थाले । तर बुढासँग प्रविधि फोन भनेकै कुरा गर्ने भाँडोको रुपमा प्रयोग हुन्थ्यो । अन्य कुनै माध्यम थिएन भिडियो कुराकानीका लागि । उनलाई भित्री मनले बुढी आउली भन्ने आशा पनि झीनो हुँदै जान थाल्यो । विस्तारै शंका बढ्न पो थाल्यो । पीडामा पिरोलिइरहेका बेला खानको सुत्नको ठेगान पनि भएन । एकाबिहानै बाक्लो निन्द्रा परेको थियो । फोनको घण्टी बज्यो । अस्पतालबाट आएको रहेछ । ‘हामी माफी चाहन्छौं, तपाईकी जीवन संगिनीलाई हामीले बचाउन सकेनौं । सामान्य खालको कोरोनाको संक्रमण भएको कारण तपाई पनि १४ दिन घर भित्रै बस्न पर्ने हुन्छ । गार्हो भयो भने सम्पर्क गर्नु होला । फ्युनरल(सतगद)को व्यवस्था सरकारले नै गर्नेछ । चार जनासम्म आफन्तहरु आउन सक्नु हुनेछ । तपाइलाई थप जानकारी गराउने नै छौं’ भनेर फोन राखिदियो । यो सुनेर घले बुढा खंग्रङ्ग परे र भुइँमा थचक्क बसे । बुढेसकालको सहारा एकाएक अस्ताएकोले जसबीरलाई ठूलो चोट पर्यो । जागिरे जीवनमा भाग लिएका युद्धहरुमा शत्रुलाई छप्काएको इतिहास सम्झन थाले । कोहीसँग हार्न नपरेका घले घरझगडामा श्रीमतीलाई माथि चढाउन हारे पनि शिर निहुराउने हार कहिल्यै हारेका थिएनन् । काँधमा बन्दुक भएपनि हातमा भएको खुकुरी चमचमी नाच्थ्यो युद्धताका । त्यो खुकुरी अवकास पछि पनि सँगै लिएर हिँड्थे । घरमा सजाएर राखेका थिए तर अब कसका लागि बहादुरी देखाउनु र ? गम्दै उनले स्वयमसेवकहरुमार्फत खुकुरी कान्छीको कफीनमा राखीदिन अनुरोध गरे । जीवनको साथलाई थामिराखेका जसबीर अन्तिम शव यात्रामा भने बन्चित भए । जीवनको प्यारो खुकुरी दिइ पठाए । त्यही श्रद्धाञ्जली भयो कान्छीलाई । बितेको नौ दिन पछि कान्छीको पार्थिब शरीरले पनि यो धर्तीबाट बिदा लियो ।
केही दिनपछि हुलाकबाट केही पत्रहरु प्राप्त भए । ती पत्रहरुमध्ये एउटा खैरो खाम भएको पत्र अलि ठूलो थियो । त्यही खोली हेरे । श्रीमतीको अन्त्येष्टीका तस्वीरहरु रहेछन् । तस्विरमा कान्छीको हात छातीमा राखिएको थियो, माझमा खुकुरी थियो । बहादुरीको पर्याय बनेको खुकुरी अहिले तस्वीरमा श्रीमतीको हातमा देखेर जसबीरका आँखा रसाएर तप्किएका आँशुका थोपा त्यही खुकुरीमा परे । अर्को खाम खोल्दा त्यहाँ धेरै कागजका ठेलीहरु थिए । जसमा ‘तपाईले नेपालबाट ल्याउन पाइयोस् भनी पेश गरेका प्रमाणहरुको अध्ययन भयो । सबै सत्यतथ्य नै पाइयो’ भन्ने व्यहोराको पत्र रहेछ । बिस्तृतमा बुझ्नलाई काम जिम्मा लिएको वकिललाई फोन गरे । उसले पनि ’अफिस बन्द भएकोले अफिस जान पाएको छैन, मलाई पनि पत्र आएको होला’ भन्यो र हाम्रो माग स्वीकार भएको कुरा सुनायो । नेपालमा छुटेका परिवारलाई बेलायतमा ल्याउन पाइने भइयो भन्ने आसय थाहा पाएपछि जसवीरले कान्छीको वेदनामा बसिरहेका बेला आशा गर्ने ठाउँ पाए । सबै परिवार बेलायत आउने कुराले उनी खुशी देखिए । यो निर्णय केही पहिले भएको भएपनि लकडाउनका कारण घरसम्म आउन अबेला भयो । यो खबर केही दिन पहिले मात्र आएको भए कान्छीले पनि सुन्ने थिइन् । कति खुशी हुन्थिन् होली भन्ने जसबीरलाई थकथकी भइरह्यो । बाँकी एक्लो जीवन कसरी बिताउने होला भन्ने ठूलो बोझ बोक्न बाध्य भए, घले बा ।
कान्छीको फोटोमा एउटा माला लगाउन मन त लागेको थियो तर उनको एक्लै भएको तस्बीर नै खिचेको रहेनछु भन्ने पछुतो भैरहेको थियो, उनलाई ।  आफूसंगै भएको फोटोमा माला लगाउने कुरा पनि भएन। एकचोटी त फोटो आधा गर्नुपर्छ कि भन्ने सोच पनि आएको थियो । अहिले एउटा पोको खोल्दा कान्छीले धेरै अगाडि एक्लै हुँदा खिचाएको एउटा फोटो भेट्टियो । दुई जनाको फोटो भएको फ्रेम निकालेर एकपटक कान्छीको फोटोलाई हातले स्पर्श गर्दै चुम्बन गरेर त्यही ठाउँमा झुण्डाए र लामो स्वाश लिए । केही दिन देखिको इच्छा पुगेकोमा उनलाई खुशी लाग्यो । कान्छीको फोटोमा माला लगाइ दिने विचार आयो । तर नयाँ फूल किन्न जाने सम्भावना भएन । दशैँ तिहारमा प्रयोग गर्ने गरेको केही प्लास्टिकका फूलहरुमध्ये राम्रो चाहिँ माला छानेर लगाई दिन स्टुलमा चढेर दुवै हातले फ्रेममा माला लगाउँदै थिए । कसोकसो गर्दा जीउ अलि ढल्कियो । अडिने प्रयासमा जीउ सीधा पार्न भित्तामा समाउन खोज्दै थिए । स्टुल ढल्कियो । जीउ थाम्ने सकेनन् । ब्यालेन्स नमिलेर लड्न पुगे । टाउको भित्तामा ठोक्कियो । बल्लबल्ल जोड गरेर उठ्न त सके, तर अडिन सकेनन् । खाटमा पल्टिए ।
कसो फोन खल्तीमा नै भएर तिनै युवा स्वयम्सेवकलाई फोन गर्नसम्म सके । ‘हुन्छ बाजे म अलि पर छु आधा घण्टामा आइपुग्छु’ भन्ने जवाफ आयो । ती युवा घर आइपुग्दा बाजे सुतिरहेका होलान् भनेर बोलाए, तर बोल्न सकेनन् । तुरुन्तै एम्बुलेन्स बोलाएर हस्पिटल पुर्याउन त सफल भए, तर टाउकोमा नै ठोक्किएको र कम्जोर शारीरिक अवस्था भएको कारण घले बाजेलाई बचाउन सकेनन् । हस्पिटल पुर्याएको एक घण्टा जति पछाडि बहादुर गोर्खा घले बाजेले पनि यो संसारबाट बिदा लिनु भयो ।

बाजेको घरको साँचो, मोबाइल फोन र दुईटा बैंकको कार्ड तिनै युवाको जिम्मामा थियो । उनी घर फर्किदै गर्दा बाजेको फोन बज्यो । हेल्लो भन्न साथ उताबाट “ल जसबीरज्यू अर्को हप्ता नेपाल जाने जहाजमा एउटा सीट खाली भयो । तपाइँ जानको लागि तयारी गर्नु होला” भन्ने खबर आयो । यो दुताबासबाट आएको फोन रहेछ । स्वयमसेवक युवा रनभुल्लमा परे । बाजे नेपाल जाने कुरा उनलाई थाहा थिएन । त्यसैले उनले सोधे ”कहिले जाने कुरा थियो र वहाँ नेपाल ?” उताबाट जवाफ आयो ”वहाँले नेपाल जान नाम लेखाउनु भएको थियो । आउने मंगलबार दोस्रो उडान छ । बल्ल बल्ल एक सिट मिलेको छ । नजाने भए अरुलाई पठाउन पर्छ खबर गर्न भन्नु होला ।”  ”बाजे त आज दिउँसो घरमै लडेर हस्पिटल लगेको फर्किन सक्नु भएन । अब नेपाल पनि जान नपर्ने भयो । वहाँले यो संसारबाटै बिदा लिनु भयो । अरु कसैलाई उक्त सिट दिँदा हुन्छ । हस धन्यबाद” भनेर फोनवार्ता टुङ्गियो ।

यो कथा हालै प्रकाशित ”कोभिड १९ कथाहरु”बाट लिइएको हो ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री