आजदेखि इङल्याण्ड र वेल्समा राति १० बजेपछि पव, रेष्टुराँ बन्द गर्नपर्ने

लण्डन । आजदेखि इङल्याण्डमा पव, बार, रेस्टुरेन्ट, क्याफेहरु राति १० बजेदेखि बन्द गर्नुपर्ने भएको छ ।

सरकारले कोरोना भाइरसलाई नियन्त्रणमा लिनका लागि ती व्यवसायहरु चाँडो बन्द गर्ने निर्णय गरेको हो । टेकवेहरु भने सो १० बजेपछि पनि खुल्नसक्ने छन् । ती व्यवसायले बढीमा छ जनासम्मलाई सेवा दिनसक्ने छन् । समूहलाई भने सेवा दिन मनाही गरिएको छ ।

ती व्यवसायहरुले ग्राहकको सम्पर्क नम्बर अनिवार्य रुपमा राख्नुपर्नेछ । यदि कुनै ग्राहकमा कोरोना संक्रमण देखिएमा ट्रयासिङ गर्नका लागि सजिलो होस् भनेर यसो गरिएको हो । यदि सम्पर्कको अभिलेख दुरुस्त नराखेमा, सामाजिक दुरी कायम नगरेमा वा छ जनाभन्दा बढीलाई समूहमा सेवा गरेको पाइएमा १० हजार पाउण्डसम्म जरिवाना तोकिएको छ ।

यस्ता व्यवसायहरुमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाएको पाइएमा २०० पाउण्डसम्म जरिवाना हुनसक्ने छ ।

उता वेल्समा भने राति १० बजे पव, रेस्टुरेन्ट र बारहरु बन्द भइसक्नुपर्नेछ । सुपरमार्केट र अफलाइसेन्सहरुले पनि १० बजेपछि मदिरा बिक्री गर्न पाउने छैनन । उता स्कटल्याण्डमा भने शुक्रबार राति १० देखि कर्फ्यू लागू हुनेछ ।

रेस्टुरेन्टभित्र २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने आधिकारिक व्यवस्था भए पनि इङल्याण्डमा भने १ मिटर प्लसलाई पनि मान्यता दिइएको छ । यस्तो अवस्थामा आमनेसामने नबस्ने वा मास्क लगाउनुपर्नेछ ।

यस्ता व्यवसायहरुले बुकिङ गर्दा एक समूहको एक जनाको नाम सम्पर्क नम्बर र कति समयसम्म रेस्टुरेन्टमा बिताउने हो सोको रेकर्ड राख्नपर्नेछ । यस्तो रेकर्ड २१ दिनसम्म राख्नुपर्नेछ ।

यदि कुनै ग्राहकलाई कोरोना पोजिटिभ देखिएमा एनएचएस टेष्ट एण्ड ट्रयासले सम्बन्धित व्यवसायका कर्मचारीहरुलाई कोरोना टेष्ट गर्न आग्रह गर्न सक्नेछन् । सामाजिक दुरी कायममा ध्यान दिन वा आइसोलेसनमा बस्न सुझाव दिन सक्नेछन् । तर व्यवसाय नै बन्द गराउन भने स्थानीय स्वास्थ्य संरक्षण अधिकारी मात्र सक्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री