काँग्रेसलाई हेर्ने दृष्टिकोणले वाम दलहरुमा कलह

मेरो स्तम्भ पढिरहँदा कतै यस्तो आभास नहोस् कि म नेपाली राजनीतिको एउटा पक्षको मात्र तल्लो स्तरको उजागर गरिरहेको छु । तत्कालिन मालेसंग सम्बन्धित भएका विषयहरु प्रतिनिधिमूलक घटना हुन् वाम राजनीतिका ।

त्यो बेलाको निर्मल लामा नेतृत्वको चौथो महाधिवेशनसंग सम्बन्धित विद्यार्थीहरुको बारेमा एनआरएन बेलायतका भूतपूर्व सहसचिव बेलायतवासी सुरेन्द्र श्रेष्ठ पनि केटी साथी बनाउन संगठनमा लगभग वर्जित भएको कुरा ब्यक्त गर्नुहुन्छ । संगठनभित्र अनुशासन पनि पहिले वर्णन गरिएको जस्तै नै हुन्थ्यो । मानिसहरुका योग्यता त्यहाँ पनि सक्रियता र सैद्धान्तिक स्पष्टता चाहिन्थ्यो त्यही हदमा । १२ वर्षको कलिलो उमेरमा सिन्धुपाल्चोकमा निर्मल लामाको नेतृत्वमा तत्कालिन नेकपा (चौथो महाधिवेशन) संग सम्बन्धित श्रेष्ठ, चौथो महाधिवेशनको फुटपछि मोहनविक्रम नेतृत्वको नेकपा(मसाल) हुँदै  विदेशमा आएर माओवादीमा संलग्न हुँदासम्म त्यही अनुशासनको मापदण्ड खेप्दै आउनु भएको छ । त्यसैले मेरो तर्क के हो भने सबै तत्कालिन वाम पार्टीहरुमा आचरण र व्यवहारमा समानता थियो । राजनैतिक विचारले पार्टीभित्र ल्याउने उतारचढाव पनि उस्तै उस्तै नै थियो । नेकपाको शुरुवाती कालदेखि नै विवादको विषय प्रत्यक्ष वा परोक्ष रुपमा कांग्रेससंगको सहकार्य वा उसलाई हेर्ने विचार रहेको छ ।

माले सम्वद्ध विद्यार्थीहरुको संगठन अनेरास्ववियु पाचौँले उठाएको पार्टी स्वतन्त्रताको नाराले जसरी २०३९ सालमा विद्यार्थी संगठन र पार्टीबीच विवाद सिर्जना गर्यो । त्यसैगरी चौथो महाधिवेशन पनि त्यसै बेलामा विवादग्रस्त भयो र फुट्यो । फुटको मूल जरो त्यस्तै थियो २०३६ को आन्दोलनमा नेकासंग कार्यगत एकता गर्नमा निर्मल लामाले गरेको सफल प्रयत्न । यसलाई नेकातिर ढल्किएको अर्थमा अर्थ्याइयो । वर्तमान नेकपा नेता नारायणकाजी श्रेष्ठले लामालाई आत्मालोचना गर्न बाध्य पार्नु भएको थियो । लामा दक्षिणपन्थी हुनुको अर्थमा बुझाइयो र  राजिनामा गर्न बाध्य गरियो । अन्तत: पार्टी फुट्यो र मोहनविक्रम सिंहले १९८३ (०३९) मा अर्को पार्टी नेकपा (मसाल) बनाउनु भयो । यसको प्रभाव दूरगामी रह्यो । १९९० (२०४६/०४७) आन्दोलनमा उनीहरु अरु साना ठूला पार्टीहरु जस्तै संयुक्त वाम मोर्चा बनाएर नेपाली कांग्रेसको साथमा आन्दोलनमा लागेनन् । अपितु अलग्गै मोर्चा (संयुक्त राष्ट्रिय जन आन्दोलन) बनाएर आन्दोलनलाई समर्थन गरे । अहिले मेरो उद्देश्य २०४६को बारेमा बताउनु होइन । कसरी धेरै वाम पार्टीहरुमा आएका दुई धारमा एउटा धार लोकतान्त्रिक  बाटोमा थियो र अर्को दीर्घकालिन जनयुद्धको धारमा मोडिँदै थियो  २०३८/३९ तिरै भन्ने मात्र हो । त्यसले तल ल्याएको प्रभाव पनि थियो । नेकपा चौथो महाधिवेशन फुटको संघारमा पुग्दा र फुटेर दुईटा हुँदा तल बढी गैरराजनैतिक कुरा लगिन्थ्यो । सुरेन्द्र श्रेष्ठ सम्झनुहुन्छ: “मोहनविक्रमलाई यौन पिपासु र निर्मल लामालाई रक्स्याहा भन्थे विरोधी विचार राख्नेहरु” । वाम पार्टीहरुमा आचरणका कुरा उठाए पछि ठहरै बनाई हाल्थे । त्यसैले मेरो आग्रह के हो भने जताको उदाहरण दिए पनि म त्यो बेलाको राजनीतिको चलन र प्रक्रियाको चर्चा गरिरहेको छु र त्यसरी नै बुझियोस् ।

अखिलको पाचौं र छैठौं दुवैले २०३७ मा नेपाल बन्द गरे । यो निर्णय पनि उनीहरु सम्वद्ध पार्टीको निर्णय नै थियो । ई. नन्द बन्जाडे भन्नुहुन्छ, ” पाटनस्थित हाम्रो डेरामा २०३७ को भाद्रतिर बसेको तत्कालिन नेकपा मालेको सिपि, माधव र आश्रितको ३ सदस्सीय पोलिटब्यूरोको ३ दिने बैठकको चर्चा पनि गर्नु होला है । मेरो विचारमा त्यही बैठकले चैत्र १४ को नेपाल बन्दको पृष्ठभूमि तैयार गरेको हुनु पर्छ।” छैठौंसंग सम्बन्धित विद्यार्थी नेताहरुले त्यतिखेर नै मलाई यत्रो आन्दोलन पार्टीको निर्णय नभई हुँदै हुँदैन भनेर भन्नु भएको थियो ।

अखिलको पाचौं र छैठौंका गतिविधि लगभग समानान्तर  थिए । अझ महत्वपूर्ण कुरो त प्रतिष्पर्धा र सहयोग दुवै गर्दै संगै हिंड्दा र विवाद गर्दा एक अर्कालाई सम्वृद्ध पनि बनाए ।

२०३८ मा दुवैले राष्ट्रिय सम्मेलन पनि गरे । मेरो प्रयत्न को को नेता भए भन्ने मात्र होइन । यसले विद्यार्थीहरुको तहबाट कसरी वैचारिक विषयहरु प्रवाहित भैरहेको थियो भन्ने हो । त्यसको दुरगामी प्रभाव कस्तो भयो भन्ने नै हो । २०३८ सालको चैत्रमा भएको दुवै संगठनहरुका सम्मेलन सरकारी दमनका कारणले खुल्ला गर्न सकिएको थिएन । त्यतिबेला अनेरास्ववियु पाचौंको सम्मेलनको सिलसिलामा इञ्जिनियरिङ्ग क्याम्पसमा भब्य मंच बनाइएको थियो । म त्यतिखेर रोमणी भट्टराईको नेतृत्वमा बनेको अखिल पाचौंको बाग्मती क्षेत्रीय कमिटीको सचिव थिएँ । रोमणी भट्टराई अहिले पनि सम्झिनु हुन्छ, ”त्यस बेलामा  चुनावको बेलामा बाग्मतीभरि उम्मेदवार चयन गर्ने, प्रसार प्रसार गर्ने काम सके पछि, क्षेत्रीय कमिटी केन्द्रीय सम्मेलनको लागि महत्वपूर्ण जिम्मेवारी लिने काम गर्यो ।” वहाँ सम्झिनु हुन्छ, ”अहिले पनि वहाँलगायत थुप्रै अखिलका कार्यकर्ताहरु सम्मेलनको तयारीकै क्रममा समातिएका थिए । कृष्णगोपाल श्रेष्ठ, भीम रावल, सुरेन्द्र भण्डारी, सूर्य न्यौपाने र निलमणि पोखरेल आदि । ललितपुरबाट मधुकुमार चालिसे, मिठाराम शर्मा, ठक्कर शर्मा लगायत त्यसबेलाका कार्यकर्ताहरु समातिनु भएको थियो । डा.  अच्युत गौतम, जो त्यतिबेला काठमाण्डौ जिल्ला कमिटीमा हुनुहुन्थ्यो उहाँ एसियन स्टुडेण्ट एसोसियसनका प्रतिनिधिलाई स्वागत गर्न एयरपोर्ट गएका बेला समातिनु भयो । यसरी नै काठ्माण्डौ बाहिरका विद्यार्थीहरु पनि काठमाण्डौमै समातिएका थिए । धनकुटा क्याम्पसका स्ववियुका तत्कालिन सभापति डा. गोपालकृष्ण शिवाकोटी तीमध्ये एक हुनुहुन्थ्यो । यसअघि पनि वहाँ धनकुटामा पटकपटक समातिनेमा पर्नु हुन्थ्यो । समातिने क्रम देशभरि नै भए पनि धेरै समातिनेहरुमा उपत्यकाकाहरु पर्दथे । त्यो बेला प्राय जेल सरुवा गरेर पर पर लगिन्थ्यो र धेरै जनालाई उपत्यका बाहिरसम्म पनि लगिएको थियो । रोमणी भट्टराईलाई भैरहवा लगिएको थियो र वहाँलगायत थुप्रै बन्दी विद्यार्थीहरुले जेलभित्रै भोक हडताल गरेको पनि वहाँ सम्झनु हुन्छ ।

२०३८ साल चैत्र ११, १२, १३ गतेको लागि अखिल पाचौंको राष्ट्रिय सम्मेलनको तयारी गरिएको थियो इञ्जिनियरिङ्ग क्याम्पसमा । पुलिसले हस्तक्षेप गरेर त्यहाँ सम्मेलन हुन् दिएन । दाताराम खनाल त्यहीं समातिनु भएको थियो । कोमल भट्टराई लुकेर बच्नु भएको थियो भने सुमित्रा जोशी भाग्न सफल हुनु भएको थियो । पुलिसको हस्तक्षेपको कारणले सम्मेलन भूमिगत गर्नु पर्ने भयो । एसियन स्टुडेण्ट एसोसिएसनका प्रतिनिधिहरुलाई पनि सम्मेलनमा भाग लिन रोक्ने प्रयत्न गरियो । इराकी प्रतिनिधिहरु त सम्मेलनमा जान पनि पाएनन् ।

यसैगरी नेकपा चौमसंग सम्बन्धित अखिल छैटौंको सातौं सम्मेलन पनि भूमिगत नै भयो र लिलामणि पोखरेलको नेतृत्वमा केन्द्रिय समिति बन्यो ।  अखिल पाँचौको कमिटी टंक कार्कीको नेतृत्वमा बन्यो जसको उपाध्यक्ष र महासचिव क्रमश नन्द कन्दंवा र ठाकुर चन्द्र श्रेष्ठ हुनुहुन्थ्यो ।

यस सम्मेलनको चर्चा मूलत यसको राजनैतिक र वैचारिक पक्षलाई चर्चा गर्नु हो । यस सम्मेलनले पनि बोल्ने, संगठन गर्ने र सभा सम्मेलन गर्ने आदि माग राखेको थियो, जसलाई यस अघिको विद्यार्थी चुनावमा ‘पार्टी स्वतन्त्रता’ नाराको रुपमा ल्याइएको थियो भन्ने चर्चा अघिल्लो अंकमा भैसकेको छ ।  यस सम्मेलनले त्यसलाई ‘संगठन स्वतन्त्रता’ को रुपमा आफ्नो सम्मेलनको प्रतिवेदनमा लेखेको थियो । कांग्रेसको त्यस बेलाको माग दलको स्वतन्त्रता थियो । त्यस्तै मूर्त नारा चाहिन्छ भन्ने धारणा अखिल पाचौंभित्र आइरहेको थियो । छैठौं सम्मेलनबाट केन्द्रिय कमिटीमा चुनिएका कोमल भट्टराई भन्नु हुन्छ, ‘पार्टी स्वतन्त्रताले संगठन, सभा सम्मेलन, र वाक स्वतन्त्रता मूर्त अभिव्यक्ति दिन्थ्यो र यो शब्दावलीसहित मूर्तरुप दिने काम भने टंक कार्कीले गर्नु भएको थियो” । हुन त त्यो बेलाको मालेको महासचिव सिपी मैनाली हुनुहुन्थ्यो र विचार पनि वहाँकै थियो । त्यसैले वहाँले ल्याएको हो भन्न पनि पनि सकिन्छ । त्यसैले पार्टीकै विचार हो भन्ने नै हो भन्ने वहाँको मत छ । जे होस्, विद्यार्थी चुनावमा नाराको रुपमा आउनु, सम्मेलनले त्यसलाई पारित गर्नु र पछि त्यसलाई बुझ्ने गरी मूर्त शब्दमा ‘पार्टी स्वतन्त्रता’ का रुपमा आउनुले मालेलगायत सबै अन्य वाम समूहहरु प्रतिष्पर्धात्मक राजनीतितर्फ गइरहेको सहजै अन्दाज गर्न सकिन्छ (मसाल र मशाल को समूहको त्यो अवस्था थिएन, माथि हेर्नुस्) । त्यसैले यस अघि नै भनिए जस्तै, यसले संयुक्त वाम आन्दोलन र नेकासंगको सहकार्यमा  विचार निर्माण गर्यो भन्ने तर्क जायज ठहरिन्छ ।

तर यसले नेकपा मालेको (चौममा भए जस्तै) आन्तरिक जीवनमा प्रभाव पार्यो। २०३९ तिर चौम फुट्दा, माले भित्र ‘पार्टी स्वतन्त्रता’ र ‘राजनैतिक स्वतन्त्रता’ विवाद चरम भएको थियो । म आफैं पार्टी स्वतन्त्रता पक्षधर थिएँ  र सक्रिय पनि थिएँ । त्यसैले म एक पक्षीय हुन् सक्ने सम्भावना रहन सक्ने कुरालाई ध्यानमा राखेर स्वतन्त्र र निस्पक्ष विवेचना गर्ने प्रयत्न गर्नेछु। ३७ वर्ष पछाडी आएर हेर्दा, यो परिघटना राजनैतिक/वैचारिक  विवादभन्दा पनि वैचारिक जलपमा आएको कम्पन थियो भन्ने धारणा बनाउने आधार प्रशस्त देखिन्छ।

२०३९ सालको चर्चा अर्को अंकदेखि

क्रमश ……

(यो नलेखिएको ऐतिहासिक परिघटनाहरुमा कसैको नाम अथवा कुनै घटना छुटेको भए, नियतवश होइन भन्ने बुझी दिनुहुन अनुरोध छ । कुनै परिघटनाको बारेमा थप विचार भए, वा अरु कुनै विषयमा छलफल गर्नु पर्ने भए लेखकसंग सोझै सम्पर्क गर्नु हुन अनुरोध छ । छुटफुट भएको कुरा पुस्तकको रुपमा आउँदा सकेसम्म समावेश गरिने जानकारी गराइन्छ । लेखकको इमेल: [email protected])

 

डा. कृष्ण उपाध्याय

उपाध्याय राजनीतिक र मानवअधिकारका विषयहरुमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री