बेलायत पलायन हुनुका केही कारण

संस्मरण 

जनयुद्ध सुरु भएपछि करिब तीन महिना पनि चौतारामा बसिएन । राजनीतिमा प्रत्यक्ष संलग्न नहुने भनेर पार्टीबाट अलग रहे पनि मुद्दामामिला हेर्दा प्रायः सबै राजनीतिसँग सम्बन्धित हुने हुँदा प्रशासन्ले सधैं निगरानी राख्दथ्यो । धेरै साथीहरुलाई पक्राउ गरिसकेपछि पार्टीभित्रैबाट मेरो गिरफ्तारी भएमा सबै कुरा खुल्ने र पार्टीलाई झन् नोक्सानी हुने देखेर मलाई भूमिगत हुन दबाब आउन थाल्यो । एक दिन मलाई जिल्ला समितिको निर्णय भनेर एउटा पत्र आयो । स्याउलेमा शिव श्रेष्ठजीको घरमा जिल्ला नेतृत्वसँग भेट गर्न जानुपर्ने भयो । जयन्द्र दाइले पाल्नुभएको घोडा चढ्ने निहुँमा स्याउले पुगेको थिएँ । मैले केही दिनपछि निर्णय गर्छु भनेर छुटेको थिएँ । त्यही दिन दिउँसो कार्यालयमा जाँदा सीडीओ रामकृष्ण भुर्तेलले रातिराति साथीहरु भेट्नुहुन्छ होला भन्दा झसङ्ग भएथेँ  ।
ठूलो सिरुबारीको कृषि विकास बैंक आक्रमण गरेर सबै लालपुर्जा र नगद जफत गर्यो । केही समयपछि त्यसको नेतृत्व गर्ने सूर्य दंगालको टोलीलाई पक्राउ गर्यो । उनीहरुलाई कसैसँग पनि भेट गर्न दिएको थिएन । प्रहरी दिवसको दिन हामी सबै जनालाई भोजमा बोलाइएको थियो । म पनि गएको थिएँ । खानपिन गरेर नाचगान पनि गरियो । म अलि छिट्टै निस्कँदा थुनुवा कोठामा राखिएका सूर्यजीलाई हात मिलाउँदै पीर नगर्नुहोला, हामी सक्दो कोसिस गर्छौं भनेर निस्केको मात्रै थिएँ । मलाई इन्स्पेक्टरले पिछा गरेको रहेछ । म छिटोछिटो कम्पाउन्डबाट निस्कँदै थिएँ । पछाडिबाट ठोक सालेलाई बडो नाटक गर्दो रहेछ भनेको सुनेँ । कसो पालोमा बस्नेले आदेश मानेर हिर्काएन ? म एकै सासमा घर पुगेँ । भोलिपल्ट बजारभरि हल्लीखल्ली भएछ, म केही दिन घरमै बसेँ ।
जनयुद्ध सुरु नहुँदै तयारीको सिलसिलामा अलि अगाडिदेखि नै हतियार जम्मा गर्ने अभिएान चलेको थियो । मेलम्चीमा वन कार्यालयमा काम गर्ने एकजना रेन्जर साथीले एउटा कटुवा पेस्तोल छ, के गर्ने भन्नुभयो । मैले माथी सोधेर भन्छु भनेँ । सायद त्यतिखेर हामी बाहुनेपाटीमा एउटा कार्यक्रममा गएका थियौँ । त्यहाँ हितमान शाक्य मुख्य अतिथि भएर आउनुभएको थियो । मैले उहाँसँग सोधेँ के गर्ने भनेर । उहाँले सिधैं ल्याएर राख्नू भन्नुभयो । अवैध रुपमा सिकार गर्नेहरुसँग जफत गरिएको त्यो पेस्तोल सहायक डीएफओले आफ्नो कोठाको घर्रामा राखेको रहेछ । रेन्जर साथीले त्यो देख्नुभएको रहेछ । उहाँ पनि पार्टी जिल्ला समितिको सदस्य हुनुहुन्थ्यो । एक दिन दिउँसै हामीले जनमोर्चाको कार्यालय बनाएको हाम्रो डेरी र लजको माथि उहाँ आउनुभयो र माल ल्याएको छु भन्नुभो । म अलि आत्तिएँ तर खै दिनुस् भनेर एउटा झोलामा राखेर घरमा लगेँ । हामीले प्रयोग गर्ने गोदरेज दराजको भित्र रहेको सेफमा चाबी लगाएर राखेँ । मिनु डराउला भनेर केही दिन भनिनँ । जयन्द्र दाइलाई एक दिन कोठामा बोलाएर देखाए । गोली नभएको पेस्तोल घरमा हुँदा पनि आफूलाई निकै बलियो महसुस हुँदो रहेछ । करिब १५ दिनसम्म त्यो पेस्तोल घरमा हुँदा आफू बहुत सुरक्षित भएको भान भयो । मैले यो जानकारी यानप्रसाद गौतम र अग्नि सापकोटालाई पनि गरेको थिएँ । एक दिन ध्रुव पराजुली (सन्तोष) तत्कालीन जिल्ला सेक्रेटरी आएर त्यो पेस्तोल लिएर जानुभयो । त्यसपछि अलि ढुक्क त भएँ तर के हराए जस्तो, के नभएजस्तो भइराख्यो ।
मैले अधिवक्ताको परीक्षा दिने बेलामा हामी कुलेश्वरमा महेन्द्र मामाको घरमा बस्ने गरेका थियौँ । २०५२ सालको माघको तेस्रो हप्तातिर अग्नि सर मलाई भेट्न हाम्रै कोठामा आउनुभएको थियो । केहीबेर कुरा गरेपछि ल अब कहिले भेट होला वा नहोला, यो अन्तिम भेट हुन सक्छ भन्नुभयो । हुन त केही महिनाअगाडि नै ज्यामिरे गुफा चान्खुमा जिल्ला समितिले भूमिगत हुने सबै साथीहरुलाई एक रात दुई दिन प्रशिक्षण कार्यक्रमसहित खुकुरी दिएर रातो टीका लगाइदिएर भरुवा बन्दुक पड्काएर बिदाई कार्यक्रम गरेका थियौँ । त्यसबेला ‘कुन बाटो कहाँ जाने होला फेरि भेट होला कि न होला’ भनेर गीत पनि गाएका थियौँ । तर त्यस दिन अग्नि सरले हामी उपत्यकाबाहिर जाँदैछौँ फाल्गुन १ गतेबाट जनयुद्ध सुरु गर्ने निर्णय भयो । क्रान्तिको थालनी भएपछि के कसरी अगाडि बढ्छ मुक्ति या मृत्यु जे पनि हुन सक्छ भन्नुभयो । मैले दरिलो तरिकाले हात मिलाएँ, केही बोल्न सकिनँ ।
जिल्ला जान सक्ने अवस्था नभएकाले म यताउता गरेर बसिरहेको थिएँ। म बसेको घर हितमान शाक्य मामाको माइला दाइको थियो। त्यहाँ माओवादीको केन्द्रीय नेता लेखराज भट्ट पनि बस्नुहुन्थ्यो । जनयुद्ध सुरु भएपछि उहाँ पनि त्यस घरमा आउन छाड्नुभएको थियो । एक दिन थुप्रै पुलिसहरु आएर घर खानतलासी गरे । हामी बस्ने कोठा भुइँतल्ला अन्डरग्राउन्डमा थियो । खै मलाई के सुर चलेछ, मिनुलाई बाहिरबाट ताला लगाएर माथि जाऊ भनेछु । उनले पनि त्यसै गरिन् । माथि सबै कोठाहरु खोलेर हेरेछन् । खास त हितमान मामाले त्यतिबेला उपत्यका हेर्ने हुँदा उहाँलाई नै खोज्न आएको हुनुपर्छ । धन्न तल पनि कोठा छ भन्ने कुरा उनीहरुलाई थाहा रहेनछ । यदि त्यो कोठा खोलेर भित्र आउँदा मलाई देखेको भए के हुन्थ्यो होला ? बाहिर चाबी लगाएर भित्र किन बस्यो होला भनेर झन् त्यत्तिकै शंका गर्थे । समातेरै लान्थे होला । म सिन्धुपाल्चोकको नेता भनेर चिनेको भए किन छाड्थे होलान् र ? त्यो घटना सम्झेर अहिले पनि ठूलो गल्ती गरेको महसुस हुन्छ ।
म भूमिगत भएर राजनीति पनि नगर्ने, जिल्लामा पनि जान नसक्ने अवस्था रहिरहेकोले त्यति सहज भएको थिएन । तत्कालीन सीडीओ र डीएसपीसँग गौरती भीमसेन बनाउने क्रममा जयन्द्र दाइको राम्रो सम्बन्ध थियो । मेरो कुनै नेताहरुसँग सम्पर्क नभएको भूमिगत भएर पनि जाने इच्छा नभएकाले कानुन व्यवसाय गरेर बस्न चाहेको कुरा उहाँहरुलाई सुनाउने गरेको रहेछ । एक दिन दाइले फोन गरेर डीएसपी सुरतबहादुर शाह काठमाडौँ आउनु भएको छ, एक पटक भेट्न जानू भन्नुभयो । उहाँसँगै पशुपतिशमशेरसँग भेट्न जानुपर्ने भयो भन्दै हुनुहुन्थ्यो । मैले पनि हुन्छ भनेँ र गएँ । मैले आफ्नो कुरा सबै राखेँ । पशुपतिशमशेरले उहाँको पार्टीमा आउनुपर्यो भविष्य राम्रो हुन्छ भन्दै हुनुहुन्थ्यो । तर मैले अब उप्रान्त कुनै राजनीति नगर्ने, सामान्य नागरिक भएर बस्ने भनेर जोड गरेँ । ल त्यसो भए ठिकै छ भनेपछि जिल्ला जाने कुरा भयो । तर त्यही बेलुकी साँगाचोकमा बालकृष्ण श्रेष्ठको हत्या भएको र त्यहाँ पक्राउ पर्ने एकजना अलि पहिलादेखि भूमिगत भएर भर्खरै आएको रहेछ । कहाँ गएको भन्दा सुरेन्द्रले भाग्नु भनेर भागेको भनेपछि सिडिओ मसँग बेस्सरी रिसाउनुभएछ र औपचारिक रुपमा पत्रिकामा राजीनामा नछपाएसम्म जिल्लामा आउन नदिने भनेर अडान लिएको थाहा पाएपछि म पार्टीका कुनै पनि जिम्मेदारीमा नरहेको, साधारण सदस्यताबाट पनि राजीनामा दिएर सामान्य नागरिक भएर कानुन व्यवसायी भएर बस्ने विज्ञप्ति कान्तिपुरमा निकालेर चौतारा जाने निधो गरेँ ।
जिल्लामा गएपछि मुद्दाहरु हेर्न थालेँ । कुबिण्डेमा प्रहरी मारेको, ठूलो सिरुबारीमा बैंक कब्जा गरेको, गुफा चान्खुमा गुमान सिंहविरुद्धका कारबाहीहरू, कुबिन्डेमा भएका घटनाहरु, साँगाचोकमा बालकृष्ण श्रेष्ठको हत्या, मेलचौरमा भएका विभिन्न कारबाहीहरूसम्बन्धी मुद्दाहरु थिए । काठमाडौंबाट अरु वकिल साथीहरुलाई पनि बोलाएको थिएँ । विशेष त्यो साँगाचोकको घटनामा धेरै ठाउँमा विभिन्न प्रसंगमा मेरो नाम पनि केही साथीहरुले लिएका रहेछन् । थुनछेकको आदेशको क्रममा पक्राउ परेका करिब १५ जना र बरामद गरेका हतियारसहित अदालतमा उपस्थित गराउँदा माथि ठाउँ नभएर तल चौरमा नै राखिएको थियो । एकजना लामो जुँगा भएको असईले हत्यामा प्रयोग गरेको पेस्तोल र गोली समातेर बसेका रहेछन् । यही हतियार प्रयोग भएको रहेछ, वकिल साहेब भनेकाले खै हेरौं भनेको त त्यही दुई हप्ता मसँग भएको पेस्तोलजस्तो लाग्यो । मुख्य अभियुक्तको बयानमा पनि उक्त हतियार सन्तोषले नै दिएको हो भनेका रहेछन् । सन्तोषबाहेक अरु सबै पक्राउमा परिसकेको छ । कथंकदाचित सन्तोष पनि पक्राउ परेर त्यो हतियार मैले दिएको भन्यो भने के होला ? मेरो दिमाग रिंग्याउन थाल्यो, के गर्ने के गर्ने भयो । मैले त्यो मुद्दाको थुनछेकमा बहस पनि गर्न सकिनँ । अब यसरी सधैं डराएर बस्न नसकिने, कुनै पनि बेलामा केही पनि हुन सक्ने भएको हुँदा त्यो स्थितिबाट छुटकारा पाउन कि त म भूमिगत भएर युद्धमा जानुपर्ने वा कतै भाग्नुपर्ने भयो । मेरो यो अवस्थाबारे त्यतिबेला हाम्रो स्कुलमा स्वयंसेवक बनेर आएका रिचर्डलाई मिनुले सबै भनेकी थिइन् । ऊ आफैं पनि नेपालको त्यो आन्दोलनलाई ठीकै हो भन्ने गर्थे । उसले आमालाई सबै कुरा भनेकाले मलाई सहयोग गर्नका लागि तयार भयो । जेनले पढाउने ट्यामओर्थ कलेजमा नेपालको सामाजिक सांस्कृतिक राजनीतिक अवस्थाबारे जानकारी दिन विशेष निमन्त्रणा पठायो । स्कुलले जान आउन सबै खर्च व्यहोर्ने र अन्य व्यवस्था जेनले मिलाउने भनेकाले सजिलो भयो । मेरो अन्तरवार्ताको दिन कलाकार सरोज खनालसहित १० जना जतिको पनि सँगै समय भएकाले सबै कोठाहरु प्रयोगमा भएकाले मलाई झ्यालबाटै एकजना नेपालीले थोरै प्रश्न सोधेर पासपोर्ट लिन पर्सि आउनुहोला भनेर पठायो । मलाई भने के होला भनेर डर लागिरहेको थियो । पर्सिपल्ट पासपोर्ट लिन जाँदा भिसा मिलेको रहेछ । म त्यो दिन साह्रै खुसी भएको थिएँ । सायद त्यो दिन उनीहरु त्यति व्यस्त नभएको भए भित्र लगेर कुनै गोराले गाह्रो प्रश्न सोधेको भए भिसा नपाउने पो थिएँ कि भन्ने जस्तो लागिरह्यो । संयोगवश, हाम्रो स्कुलमा स्वयंसेवक भएर आएका रिचर्डको अनुरोधमा उसको आमा जेन बोनसले बेलायत आउने प्रबन्ध मिलाइदिएअनुसार सजिलै भिसा पाएर त्यो त्रासदी पूर्ण अवस्थाबाट बाहिर निस्केँ ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री