हामीले सोचेको डाटफोर्ड नेपाली कम्युनिटी

मातृभूमि छाडेर प्रवासतिर लागेपछि व्यवस्थित बसाई चाहना सबैको हुन्छ नै । त्यसमाथि पनि एउटा घर, कार, राम्रो जागिर र बच्चाहरुको राम्रो स्कुल तथा शिक्षाको अपेक्षा बेलायत बस्ने हामीहरुको न्यूनतम अभिस्ट हुन् ।  हामीमध्ये धेरैले यो सुविधा प्राप्तीका लागि संघर्ष गरिरहेका छौं भने कतिले यी सुविधाहरु उपयोग गरिरहेका छौं । कति प्राप्तिको सुरसारमा छन् । जहाँ जहाँ हामी बसेका छौं त्यहाँ आफ्नो समुदायहितका लागि गठन गरिएका समाजहरुले पनि हामी व्यक्तिले जस्तै आफ्नो घर खरिद गर्ने सोच र चाहना स्वाभाविक रुपमा राखेको देखिन्छ । अब हामी डार्टफोर्डबासीहरुले पनि आफ्नै घर खरिदको योजना अघि बढाउनुपर्छ भनेर कार्यसमिति र वार्षिक साधारणसभामा यो विषय उठान गरिसकेको छौं र अनुमोदित पनि भइसकेको छ । यसलाई पनि संस्थागत तथा दिगो विकासको कडीको रुपमा लिएका छौं र सोही अनुरुप यो सोचलाई अवधारणापत्रसहित योजनाको रुपमा अगाडी बढाउने निर्णय लिएका छौं । जसको जगमा टेकेर भावी नेतृत्वहरुले समेत थप योगदानसहित मूर्त रुप दिने विश्वास हामीले लिएका छौं ।

झट्ट सुन्दा करीब एक सय पचास घरधुरीमा सीमित हामी नेपालीले कसरी घर खरीद गर्न सकौंला जस्तो लाग्न सक्छ तर प्रत्येक यात्राको सुरुआत पहिलो पाइलाबाट भएजस्तै हामीले औपचारिक पाइलाको सुरुआत गर्न लागेका हौं । हिजो नेपालबाट बेलायत आउँदा तपाई हामी धेरै मानिसहरु रित्तोहात नै यहाँ आएका थियौं । बिस्तारै स्थिर बन्दैछौं र हामी धेरैजसो आफ्नै घरमा बसिरहेका छौं । कति जोड्ने सुरसारमा छौं, कयिपयले एकभन्दा बढी घरहरु पनि जोड्नु भएको छ । हामीले नै हाम्रो समाज र हाम्रा मान्यता स्थापित गर्ने हो यदि योजनावद्ध ढंगले बढ्ने हो भने एकाध वर्षमै हामी घर खरीदको लक्ष्यमा पुग्न सक्छौं । यसको लागि हाम्रो मान्यता “म” बाट “हामी”मा रुपान्तरित हुन भने जरुरी छ । यसो भएमा हामी सफल हुन्छौं भन्ने दृढ विश्वास छ । यही भएर हामीले नेतृत्व लिएपछि संस्थाले छ वटा रणनैतिक स्तम्भ तय गर्यौँ । जसमध्ये “हामी” अपनत्व महसुस गराउने भन्ने भावना पनि एक हो । यो “हामी”ले हामीलाई गन्तब्यतिर लैजान मद्दत गर्छ । यसका लागि सबै साथीहरु सकारात्मक पाएको छु र यो नै हाम्रो सफलतामा पुग्ने सुत्र हो जस्तो लाग्छ । एक वर्षअघि हाम्रो टिमले डार्टफोर्ड नेप्लिज कम्युनिटीको नेतृत्व लिएपछि केही अल्पकालीन र केही दीर्घकालीन योजना लिएर अघि बढेका थियौं । अल्पकालिनअन्तर्गत लामो समयसम्म व्यवस्थित हुन नसकेको विधानलाई दस्तावेजीकरण गर्ने,  आफ्नो वेभसाइड बनाउने, आजीवन सदस्यहरु र साधारण सदस्यहरुको नामावली अद्यावधिक राख्ने कामलाई विस्तारै सम्पन गरेका छौं । यसबीचमा हाम्रा छोरीछोरा पुस्ताकाहरुलाई समेत स्वतस्फूर्त र सकारात्मक सामाजिक (खुकुलो) बन्धनभित्र क्रियाशील गराउने जमर्को गरिरहेका छौं । भलै यो त्यति बाह्य रुपमा दृस्टीगोचर नहुन सक्छ । यद्यपि यहाँ जन्मिए पनि हाम्रा बालबालिकाहरुले नेपाली संस्कृति, परम्परा र भाषालाई केही हदसम्म पनि सिक्न सहयोग पुगोस् भनेर नेपालीहरुका ठूला चाड दशैंतिहार जस्ता कार्यक्रमहरुमार्फत हाम्रा रितिरिवाज, परम्परा तथा धर्म संस्कृतिलाई पारिवारिक भेटघाटसहित मनाउने गरिहेका छौं । यसरी नै आफ्ना शैक्षिक उन्नयन बढाउने बच्चाहरुलाई प्रोत्साहनस्वरुप वार्षिक रुपमा प्रगति गर्नेहरुलाई केही उपहार समेत प्रदान गर्न गैरहेका छौं । तिहारमा नेपालीहरुका घरघरमै पुगेर देउसीभैलो खेल्ने र एकअर्कामा रमाईलो साटासाट गर्नुका साथसाथै यस्ता सामाजिक कार्यबाट उठेका रकमलाई नेपाली भाषा कक्षाको दिगोपनको लागि (स्थानीय निकायले सहयोग नगरेको अवस्थामा पनि) खर्च गर्नसक्ने नीति लिएका छौं ।

जहाँ भएपनि नेपाली मन हो । त्यसैले अनौपचारिक तथा औपचारिक रुपमा सीमान्तकृत, अल्पसंख्यक तथा अफ्ट्यारोमा परेका वा प्राकृतिक प्रकोपमा परेका नेपालीहरुलाई सघाई रहेका छौं । यसरी बाह्य मात्र होइन डार्टफोर्डमा पनि हामीबिचमा समन्वयात्मक तथा निर्दिस्ट रुपमा सहयोग पुर्याउन आपतकालिन राहत कोष स्थापना गरेका छौं । जसमा बिउ पुँजीको रुपमा यस संस्थाले £१००० बाट सुरु गरेको छ । यद्यपि यसअघि पनि एक/ दुईवटा सहयोगको हातेमालो गरिएकै हो । तथापि निर्दिस्ट “आपतकालिन राहत कोष निर्देशिका”को अभावमा यसमा कसरी एकरुपता ल्याउने र दिर्घकालिन रुपमा लैजाने भन्ने प्रस्टता नहुँदा यसले मुर्तरुप लिन नसकेकोले तुरुन्त नै “आपतकालिन राहतकोष निर्देशिका” सहितको व्यवस्था गर्न गैरहेका छौं । नेपालका विभिन्न स्थानबाट आएका हामीमा अनेकतामा एकता जरुरी छ र यहाँ हाम्रो आफ्नो भनेकै तपाई हामीहरु नै हौं । अप्ठ्यारो पर्दा एक-अर्कालाई सहयोग गरेको ज्वलन्त उदाहरण कोरोनाले अभिसप्त बन्दा हाम्रो आफ्नै परिवार तथा अन्य परिवारले प्राप्त गरेको सहयोगबाट लिन सकिन्छ । कोरोनाले आक्रान्त पारेको विषम परिस्थितिमा कम्युनिटीको स्वयंसेवक परिचालन टीमले समन्वयात्मक रुपमा खाना समेत पकाएर  खुवाउने, सामग्री खरिद गरिदिने जस्ता कार्य गरी परिवारकै सदस्यको रुपमा हामीले पाएको सहयोग र स्नेहले साँच्चै नै तपाई हामी नै सुखदुखका साथी पनि परिवार पनि अभिभावक पनि हौँ भन्ने प्रस्ट्याएको छ । अझै पनि कोरोनाको यो त्रासले तपाईहरुबीच भेटघाट हुन पाएको छैन यद्यपि हाम्रो स्वास्थ्यकर्मीहरुको टोली र स्वयम्सेवी टोली कार्यरत नै छ । अझ त्यो कोभिड १९ उत्कर्षमा रहेको बेलाको सहयोगको न त तुलना हुन सक्छ । न त बिर्सन नै सकिन्छ । त्यसैले यो समाज भनेकै कठिनाईमा परेको बेला चाहिने हो ।  कहिले, कसलाई, के अप्ठ्यारो पर्छ भनेर कसले भन्न सक्दैन र त्यसैले नै हामीले संस्थागत र दिगो रुपमा आपतकालिन राहत कोष निर्माण गर्न गैरहेका छौं।

हामीले संचालन गरेको हाम्रो पहिचानयुक्त नेपाली भाषा कक्षालाई लकडाउनको अवस्थामा हामीले निरन्तर रुपमा गर्न सकेनौं । पहिलो पटक देखिएको यो भयावह परिस्थितिसंग हामी अभ्यस्त थिएनौं । सुरक्षित बस्नु र बाँच्नु नै हाम्रो जीवनको पहिलो लक्ष्य बन्यो । अब बिस्तारै हामी सहज स्थितिमा जाँदै गरेका छौं । यद्यपि बेलायत सरकारका स्वास्थ्य गाइडलाइनलाई हामीले पूर्ण पालना गर्नुपर्छ । हामी भौतिक रुपमा जम्मा हुने अवस्था नभएपनि  भर्चुअल रुपमै पनि बालबालिकालाई कसरी अध्यापन गराउन सकिन्छ भनेर हामी लागिरहेका छौं ।

गत मार्चदेखि बेलायत कोरोना भाइरसको चपेटामा परेकाले हाम्रो तय भैसकेका महत्वाकांक्षी तर सफलता नजिक पुगेका ठूला-ठूला कार्यक्रम पनि स्थगन गर्न बाध्य भयौं । जसमध्ये केन्ट, डार्टफोर्ड क्षेत्रका स्थानीय निकायका प्रतिनिधि तथा सांसद सहितको करीब तीन दर्जन बेलायती स्थानीय नेताहरुलाई एउटै ठाउँमा जम्मा गरी बेलायतस्थित नेपाली दुतावास र डार्टफोर्ड नेपाली कम्युनिटीको साझेदारीमा “नेपाल भ्रमण वर्ष २०२० तथा नेपाली नयाँ वर्ष २०७७” को कार्यक्रम गर्न हल बुकिङदेखि सम्पूर्ण तयारीपश्चात कोरोनाको कारणले दुखद रुपमा स्थगन गर्नुपर्यो  । यसका लागि हामीलाई साझेदारी गर्न विस्वास र सहयोगका लागि बेलायतस्थित नेपाली दुतावास र राजदूत डा. दुर्गाबहादुर सुवेदीज्युलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं । यसबाहेक समाजको नेटवर्किङको विकास र बिस्तारको लागि नेपाली समुदायबाट निर्वाचित, मनोनित स्थानीय निकायका प्रतिनिधिहरु, सामुदायिक संघसस्थाका अगुवा, तथा पेशागत संघसंस्थाहरुसंग हाम्रा साझा सवालमा सहकार्यको बृहत्तर सोचको अवधारणाको बारेमा केही चरणमा कुराकानीसमेत भएको अवस्थामा कोरोनाकै कारण यो कार्य पनि अधुरो रहेको छ । स्थिति सामान्यीकरण भएपछि यसलाई अगाडी बढाइने छ ।

मूलभूत रुपमा अहिलेको डार्टफोर्ड नेपाली कम्युनिटीको यो डाइनामिक टिम पुराना अनुभवी साथीहरु र सबैको विस्वासको कारण हामीहरुले छ वटा आधारभूत रणनीति (संस्थागत विकास, सदस्यता अध्यावधिक तथा वृद्धि, अपनत्वको विकास, पारदर्शिता, नेटवर्किंग विस्तार र विकास, संस्थाको आर्थिक सबलीकरण) को आधारमा यस डार्टफोर्ड नेपाली समुदायलाई संस्थागत विकासको आधारभूत स्वरूप दिने र सबल बनाउने जमर्को गरिरहेका छौं । हामी आफ्ना कामहरुमा सबैको भावना प्रतिविम्वि होस् भन्ने चाहन्छौं । सबैको सुझाव सहयोग सदैव अपेक्षा गर्दछौं र भोलि हामीले आउने पिंढीलाई संस्था नासोको रुपमा हस्तान्तरण गर्दा चुस्त पारदर्शी र गौरवपूर्वक हस्तान्तरण गर्न सकियोस् भन्नेमा अत्यन्तै सचेत छौं ।  अहिलेसम्मको साथ र शुभेक्षा सधैं प्राप्त होस् । यो हाम्रो मूलघर हो । आफ्नोघर र मूलघर दुवैलाई माया गरौं र आउने पिंढीलाई आफ्नो पहिचान सम्झाउने थलोको रुपमा सबै मिलेर यसलाई विकास गरौं ।

(डार्टफोर्ड नेपाली कम्युनिटीका अध्यक्ष कटुवालसित वार्तामा आधारित )

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री