न्यूयोर्क। टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयविरुद्ध क्यालिफोर्नियाको नर्दन डिष्ट्रिक्ट अदालतमा दायर मुद्दाको पहिलो सुनुवाइ जुलाई २९ मा हुने भएको छ । पहिलो सुनुवाइ मंगलबार २ बजेका लागि समय तोकिएको छ ।
नेसनल टिपिएस एलायन्सको अगुवाईमा २ नेपालीसहित ७ जना व्यक्तिगत वादीहरुले नेपाल, होन्डुरस र निकारागुवाको टिपिएस बचाउनका लागि संयुक्त रुपमा जुलाई ७ तारिखमा मुद्दा दायर गरेका हुन् । नेपालको तर्फबाट सन्ध्या लामा, होन्डुरसको तर्फबाट जोनी र निकारागुवाको तर्फबाट मारिया लेनालगायत रहनुभएको छ ।
युनाइटेड फर टिपिएस नेपाल (युटिपिएसएन)का संस्थापक संयोजकमध्येका एक सदस्य अनिल शाहीले विज्ञप्ति जारी गर्दै टिपिएसमा रहेका नेपालीहरुलाई नेसनल टिपिएस एलायन्सको सदस्यता लिन आह्वान गर्नुभएको छ । टिपिएस खारेजीको निर्णयले हजारौं नेपालीहरुको जीवनलाई प्रत्यक्ष असर पार्ने भएकोले टिपिएसवाहक नेपालीहरुलाई एनटिपिएसएको सदस्यता लिन आह्वान गरिएको हो ।
अमेरिकी सरकारले मुद्दाको सुनुवाइको क्रममा वादीलाई मात्रै वा एनटिपिएसएका सदस्यहरुलाई मात्रै कानुनी सुरक्षा प्रदान गर्न सक्ने गरी राहतलाई सीमित गर्न सक्ने सम्भावना भएकोले सबै टिपिएसवाहक नेपालीहरुलाई एनटिपिएसएको सदस्यता लिई संरक्षित हुन युटिपिएसएनले विज्ञप्तिमार्फत आह्वान गरेको हो । यो अदालतलाई अमेरिकी सरकारको आग्रह हो र मान्यो भने भन्ने सम्भावनाका लागि एनटिपिएसएको सदस्यता लिएमा नेपाली टिपिएसवाहकहरु पनि समेटिने भएकोले सदस्यता लिनु आवश्यक रहेको युटिपिएसएनको संयोजक शाहीको भनाइ छ ।
झण्डै ७ हजार ८ सय नेपाली टिपिएसअन्तर्गत छन् । एनटिपिएसएको सदस्यता नि:शुल्क रुपमा लिन सकिन्छ भने सदस्यता लिइसकेपछि टिपिएसवाहकहरुको कानुनी तथा राजनीतिक शक्ति बलियो हुने छ भने अदालतका आदेशहरु (एनटिपिएसए)को सदस्यमा सीमित भएमा सदस्यता लिएका नेपाली टिपिएसवाहकहरु पनि सुरक्षित हुने छन् । साथै टिपिएस संरक्षणका लागि चलिरहेको देशव्यापी आन्दोलनमा जोडिएर एकताबद्ध रुपमा लड्न सकिने र टिपिएससम्बन्धी मुद्दा, वकालत तथा विभिन्न गतिविधिहरुको जानकारी समयमा नै उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।
संयोजक शाहीले क्यालिफोर्नियाको सानफ्रानिस्कोमा बसोबास गर्ने नेपाली समुदायलाई सुनुवाइको दिन अदालतमा उपस्थित भई नैतिक समर्थन गरी साथ र सहयोग गर्न नेपाली समुदायलाई आग्रह गर्नुभएको छ ।
सदस्य बन्नको लागि तलको लिंकमा थिच्नुहोस् ।
https://actionnetwork.org/forms/solicitud-de-membresia-membership-application
युनाइटेड फर टिपिएस नेपालले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै ।