अघिल्लो अंकदेखि नै प्रसंग २०३७ कै चलिरहेको छ । अघिल्लो अंकमा भनिए झैँ स्ववियु निर्वाचन, नेपालका पहिलो नेपाल बन्द र विराटनगर र रामपुर क्याम्पसमा भएका हत्याकाण्डको बारेमा चर्चा बिना नेपालको राजनीति र सामाजिक मनोविज्ञानमा भैरहेको परिवर्तनको बारेमा वर्णन असम्भवप्राय छ । यी घटनाहरुले लामोकालसम्म देखिएको शक्ति सन्तुलनमा आएको परिवर्तनलाई इंगित गर्दथे । यो बेलाको राजनैतिक प्रतिस्पर्धा मूलत: जनस्तरमा वर्चस्व कायम गर्ने प्रतिष्पर्धा थियो । राज्यस्तरमा नेपाली कांग्रेस र नेकपाका विभिन्न समूहहरुले पहुँच बनाउन थालिसकेका थिएनन् । यसबेलाको तीव्र प्रतिष्पर्धाको कारणले इतर शक्तिहरुका बीचको सहकार्य त्यति नजिक र सरल देखिंदैन थियो । विद्यार्थी प्रतिष्पर्धा र लडाइँका कारणले माउ पार्टीहरु बीच शत्रुता बढेको थियो । विशेषगरी कांग्रेस र नेकपाका विभिन्न समूहहरु बीच । त्यति मात्र होइन, झापाली (तत्कालिन माले), मशाल, मसाल, र अरु पार्टीहरुबीच तीव्र वैचारिक मतभेद थियो । उनीहरुकै बिचमै पनि समकालीन राजनीतिको बारेमा फरक-फरक विश्लेषण थियो ।
राजाले ल्याएको शान्ति क्षेत्रको प्रस्तावको बारेमा सबैजसो राजनैतिक पार्टीहरु विरोधमा थिए । मालेले समर्थन गरेको थियो, उसको विश्लेषणमा यो देशभक्तिपूर्ण प्रस्तावना थियो । अरु पार्टीहरु राजाले आफ्नो सत्ता लम्ब्याउन गरेको प्रस्ताव भनेका थिए । अन्तर्रास्ट्रिय समाचारमाध्यमहरुमा नेकाभन्दा अरु पार्टी त्यति धेरै उल्लेख गरिंदैन थियो । उसको उदारवादी राजनीतिको समर्थनको कारणले अथवा स्वर्गीय विश्वेश्ववर प्रसाद कोइरालाको बटवृक्ष छविको कारणले । वहाँले आफूलाई एक समाजवादी चिन्तक र लोकतन्त्रवादीको रुपमा अन्तर्रास्ट्रिय रुपमै स्थापित गरिसक्नु भएको थियो । अझै पनि कांग्रेसी भाषणहरुमा मालेको कारणले बहुदल हारेको तर्क आइरहेका थिए । मालेले आफूले सक्रिय बहिस्कार नगरेको तर्क प्रस्तुत गरिरहेको थियो ।
२०३७ सालको पुषमा म काठमाण्डौ आउँदा निक्कै रमाइला भाषण सुन्न पाइन्थ्यो । भाषणको एउटा शैली थियो, फर्म्याट थियो । इतर राजनीतिका सम्वाहकहरु, विशेषगरी विद्यार्थीहरु, पंचायतलाई गाली गर्थे । सूर्यबहादुर थापाले नेपालका वनजंगल सखाप पारेर पंचायतलाई जिताएको तथ्य अगाडि ल्याउँथे । महंगीले आकाश छोएको कुरा गर्थे । पंचायतको क्रुरता दर्शाउन कांग्रेस र नेकपासंग सम्वद्ध राजनैतिककर्मीहरुको हत्याको कुरा उठाउँथे । सुखानीमा, छिन्त्तांगमा, जनकपुरमा हत्या गरिएका शहिदहरुका कुरा उठाउँथे । शिक्षा क्षेत्रको व्यवस्थापनको विरोध गर्थे । अझ वामपन्थी विद्यार्थीहरु जनावादी शिक्षाको आवस्यकताको बारेमा बोल्थे । तर त्यो शिक्षा कस्तो हुन्छ भन्ने बारेमा कहिल्यै प्रस्ट धारणा ल्याएनन् । महंगीले आकाश छोएको कुरा उठाउँथे । भ्रस्टाचारको कुरा उठाउँथे । त्यसपछि इतर पक्ष बीचको अन्तरविरोध उजागर गरिन्थ्यो । कांग्रेसले कम्युनिस्ट विचारधारा र त्यसका सम्बाहकको धुजा काढ्थ्यो । कम्युनिष्ट विचारधारावाला पनि त्यसै गर्थे । राजा र कांग्रेसको सांठगांठको कुरा उछाल्थे । अलि पछि त दुवैको घाँटी जोडिएको प्रसंग झिक्थे । कांग्रेसीहरुले कोशी र गण्डकी भारतलाई बेचेको आरोप लगाउँथे । कांग्रेसीजन बामपन्थीहरुलाई चीनमा पानी पर्दा नेपालमा छाता ओढ्नेहरु भन्थे । एकतन्त्रीय शासनका पक्षपाती भनेर विरोध गर्थे । हुन् पनि त्यस बेलासम्म नेपालका बामपन्थीहरुको मुख्य शक्तिहरु लोकतन्त्रप्रति प्रतिवद्ध थिएनन् ।
त्यतिमात्र होइन, वामपन्थीहरुको बिचमा चरम विवाद थियो । मालेलाई ‘झापाली उग्रवामपन्थी’ को आरोप अरु मशाल, मसालजस्ता चौथो महाधिवेशनबाट छुटेका धारका कम्युनिस्टहरुले लगाउँथे । मालेले मोहनविक्रमले नेतृत्वको गरेको लगायत सबै पार्टीहरुलाई संशोधनवादी भन्ने गर्थ्यो । यी दुइटा धारको बिचमा २०३७ सम्म आइपुग्दा चीनको सांस्कृतिक क्रान्तिलाई हेर्ने दृस्टिकोण पनि फरक भैसकेको थियो । मसाललगायत चौथो महाधिवेशनबाट निश्रित समूहहरु चीनको नयाँ नेतृत्वलाई संशोधनवादी भन्द्थे । यता मालेले नयाँ नेतृत्वलाई क्रान्तिकारी नै मान्दथ्यो । यसबेलासम्म आइपुग्दा यी दुवै धारको बिचमा सांगठानिक रुपमा प्रतिष्पर्धा पनि भैसकेको थियो । कार्यकर्ता आकर्षित गर्ने प्रयत्न हुन थालिसकेको थियो । यसले उनीहरु बिचमा तिक्तता बढ्दो थियो । तथापि माओ यी दुवै धारका श्रोत थिए । विषेशत: क्रान्तिको कुरा गर्दा । त्यो बेला शीतयुद्धको काल थियो र सोभियत संघको एउटा ध्रुव थियो । तर चीन वैचारिक रुपमा सोभियतबाट टाढा जाँदै थियो । सोभियत संघलाई हेर्ने दृस्टिकोण भने माले र मसालको मिल्द्थ्यो । उसको स्वरुपको वर्णन गर्ने शब्द चीनबाट आएको थियो र दुवैले त्यसैलाई प्रयोग गर्दथे । म काठमाण्डौ आइपुग्दा सडक र क्याम्पसका भित्ता रंगिएका थिए यस्ता शब्दका नारासहित: ” सोभियत सामाजिक साम्राज्यवाद मुर्दावाद, मुर्दावाद, मुर्दावाद!”
यसको सोझो ब्याख्या थियो, सोभियत संघ आफूलाई समाजवाद भन्छ तर साम्राज्यवादी छ । २०३६/०७ सालमा विद्यार्थीहरुलाई व्यवस्थित रुपले प्रशिक्षित गरियो । कांग्रेसजनहरु कम्युनिस्ट प्रजातन्त्रवादी होइनन् भन्ने तर्कसहित प्रजातन्त्रका आधारभूत् सिद्धान्तको ब्याख्या गर्थे र समाजवाद ब्याख्या गर्दा लोकतान्त्रिक समाजवादका विषयहरु बुझाउँथे । बामपन्थीहरु अझ ब्यवस्थित् थिए । युवाहरुमा राजनीतिकरण दुई चरणमा हुन्थ्यो । कांग्रेस र पंचायत इतर विचार बोक्ने र बोक्न सक्ने पृष्ठभूमि भएकाहरुलाई मार्क्सवाद पढाइन्थ्यो-द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद शुरु गर्दै । त्यसपछि मार्क्सीय राजनीति, शासन, संरचना, कम्युनिस्ट पार्टीको सर्वोच्चता र उसको नेतृत्वमा सर्वहाराहरुको शासन हुने कुरा बुझाइन्थ्यो । विभिन्न चरणमा भएका संघर्षहरुको गाथा पढाइन्थ्यो । स्पार्टाकस विद्रोहदेखि लिएर जाने जति सबै आन्दोलनको बारेमा पढाइन्थ्यो । कहिले कहिले ‘सैद्धान्तिक क्लास’ मा । कहिले पुस्तकहरु पढ्न दिएर । अनुशासनका कुरा पढाइन्थ्यो, माओका राता किताबहरु उधृत गर्दै । अर्को चरणमा उनीहरुलाई ‘रास्ट्रिय र अन्तर्रास्ट्रिय परिस्थितिको विश्लेषण” गर्न सिकाइन्थ्यो । त्यसबेला अन्तर्रास्ट्रिय परिस्थितिको विश्लेषण गर्दा सोभियत संघ सामाजिक साम्राज्यवादमा पतन भएको, अमेरिकी साम्राज्यवादले संसारमा उत्पीडन मच्चाई रहेको, भारतीय विस्तारवादले छिमेकीहरुमाथि थिचोमिचो गरिरहेको, चीन अहिले पनि पुँजीवादी जनवादी क्रान्तिकै चरणमा रहेको र मुक्तिकामी जनता र रास्ट्रको पक्षमा रहेको कुरा बुझाइन्थ्यो। रास्ट्रिय परिस्थितिको उल्लेख गर्दा पंचायतको उत्पीडनको कुरा आउँथ्यो तर यसलाई विदेशी शक्तिको सक्रिय सहयोग रहेको उल्लेख गरिन्थ्यो । त्यसैले लडाई साम्राज्यवाद र त्यसका रास्ट्रिय मतियार दुवैको विरुद्ध हुनु पर्छ भनिन्थ्यो । विद्यार्थीहरुमा, मजदुर र किसानहरुमा आएको यो चेत देश भरिका भित्ताहरुमा, क्याम्पस परिसरमा, अफिस भवनका भित्ताहरुमा पोतिएका थिए नाराको रुपमा ।
भारतीय विस्तारवाद मुर्दावाद
अमेरिकी साम्राज्यवाद मुर्दावाद
रुसी सामाजिक साम्राज्यवाद मुर्दावाद
जनजीविकाको ग्यारेन्टी गर
जनवादी शिक्षा लागु गर
हत्या, दमन धरपकड बन्द गर
यो चेत संगठनमा नेतृत्वको मापन थियो । ‘सैद्धान्तिक स्तर’ को आधारमा संगठनको नेतृत्व चयन गरिन्थ्यो । प्रारम्भिक समिति/ कमिटीमा राख्ने नराख्ने निर्णयसमेत सैद्धान्तिक आधारमा समेत गरिन्थ्यो । गतिशीलता र सक्रियता, इमान्दारिता, गोपनियता आदि अन्य पक्ष हुन्थे । यी पक्षहरु विशेषगरी जनवर्गीय संगठनको लागि महत्वपूर्ण मानिथ्यो । यी सबै गुण भएका विद्यार्थी, मजदुर, किसान, तथा शिक्षकहरुलाई क्रमश: “पार्टी सम्पर्क” गरिन्थ्यो। यो सुरक्षाका हिसाबले पनि चुनौतीपूर्ण थियो । पार्टी भूमिगत थिए, सम्पर्क दिने नेताहरु पनि ।
सम्पर्क भएपछि क्रमश: पार्टी साहित्य पढ्न पाउने अवसर हुन्थ्यो । विशेषगरी त्यतिखेर मालेको ‘वर्ग संघर्ष’ र नेकपा मसाल को ‘मसाल’ यस्ता कोटीका साहित्यमा पर्दथे । ‘समकालीन तिसरी दुनिया’ मार्फत आउने एसिया, अफ्रिका, र ल्याटिन अमेरिका भएका कम्युनिस्ट आन्दोलन र रास्ट्रिय मुक्ति आन्दोलनका कथाहरु आउँथे । रोबर्ट मुगावे र जोशुवा एङ्कोमोकोको संघर्षको बारेमा थाह पाउने श्रोत पनि यस्तै हुन्थ्यो । अंग्रेजको तुलनामा आइरिसहरुसंग सहानुभूति राख्ने चलन बढेको थियो अलिक पछि त । बबी सेंड्सको भोक हडताल र मृत्युको कथा सबैको लागि संघर्षको प्रेरणा बनेको थियो ।
साहित्य पनि मानिसहरुलाई प्रेरित गर्ने विषय बनेको थियो । म्याक्सिम गोर्कीको ‘आमा’ धेरैपछिसम्म युवाहरुको बीचमा लोकप्रिय रह्यो । राहुल सांकृत्यायन र अलिक पछिल्लो समयमा मोदनाथ प्रश्रितको ‘देवासुर संग्राम’ पनि उनीहरुको लागि प्रेरणाका श्रोत थिए । सम्झना भएसम्म संगठनभित्र घुसपैठ गरेर तहस नहस पार्न सक्ने अवस्थालाई चित्रण गरिएको चिनियाँ उपन्यास ‘युवाहरुको गीत’ लोकप्रिय भएको थियो । घरि घरि संगठन भित्र कसैलाई आरोप लगाउँदा यसको उदाहरण पनि दिइन्थ्यो ।
दोश्रो विद्यार्थी युनियनको चुनाव, इतिहासको पहिलो दोस्रो नेपाल वन्द र क्याम्पसमा भएका विद्यार्थीहरुको बिचको कुटपिट र हत्याको शृंखला अगाडि यो वैचारिक अवस्था र चेतको वर्णन यसकारण पनि आवस्यकता थियो कि यो चेतले यी घटनाहरुलाई केही हदसम्म निर्देशित गरेको थियो । यी घटनाहरु त्यस वर्षका अन्तिम महत्वपूर्ण घटना हुन् इतर पक्षको गतिविधि झल्काउने । यता पंचायतलाई अझ अलोकप्रिय बनाउने घटनाहरु उजागर हुन्छन् त्यसपछि । त्यस्तै एउटा घटना थियो नमिता-सुनिता काण्ड जसले मुलुकै हल्लाएको थियो । अर्को अंकमा यिनै विषयहरु आउने छन् ।
क्रमसः ….
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार