बुधबार, साउन २८ २०७७ | Wed, August 12, 2020
नेपालको समय: १२:०६ | UK Time: 07:21

साहसी कमरेडको आवश्यकता 

विदुर खत्री
२०७७ असार २६ गते १६:५६

 

जहानियाँ राणा शासन विरूद्धको आन्दोलनलाई ससक्त बनाउँदै कम्युनिस्ट ब्यवस्था स्थापना गर्ने उद्देश्यले ३० भाद्र २००६ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी विगत ७० वर्षमा विभिन्न आरोह र अवरोहहरू पार गर्दै आएको छ। संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठदेखि क. के पी वली र पुष्पकमल दाहालसम्मको नेतृत्वमा आईपुग्दा यो कम्युनिस्ट पार्टी विभिन्न चिराहरूमा विभक्त हुँदै पार्टीलाई दरबारमा सुम्पिने केशरजंग रायमाझीदेखि विश्वभर कम्युनिस्ट आन्दोलनमा आएको शिथिलतालाई गहन मूल्याङ्कन गर्दै समयसापेक्ष नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन सफल क.मदन भण्डारीले नेतृत्व गरेको पाइन्छ।

स्थापना कालदेखि कम्युनिष्ट पार्टी शोसित मजदुर, किसान र समग्र श्रमजीवी जनताको हित र राष्ट्रिय स्वाधीनताको नारामार्फत नेपालीहरुलाई गोलबन्द गर्दै एक दलीय पंचायती ब्यवस्थाको अन्त्य र बहुदलीय राजनीतिक ब्यवस्थाको स्थापनाका पक्षमा उभियो । क.मदनकुमार भण्डारीको बहुदलीय जनवादले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई प्रदान गर्याे भने क.मनमोहन अधिकारीको पहिलो कम्युनिस्ट सरकार, क. पुष्पकमल दाहालको नेतृत्वमा संचालित १० वर्षको जनयुद्धमार्फत गणतन्त्रको लागी उचित वातावरणको निर्माण गर्यो । २०६२ को संयुक्त जनआन्दोलन,  २०७२ को संघीय गणतान्त्रिक संविधानको निर्माण र २०७४ सालमा भएको संसदीय निर्वाचनमा नेकपाले झन्डै दुई तिहाई प्राप्त गर्यो । यसका लागी हाल नेतृत्वमा रहेका शीर्ष नेताहरु क. के पी वली, क. पुष्पकमल दाहाल, क. माधजकुमार नेपाल,क. झलनाथ खनाल, क.वामदेव गौतम लगायत सबै नेताहरुले तत्कालीन विषम परिस्थितिसंग जुध्दै आफ्नो ज्यानको बाजी लगाएर नेपाल र नेपालीलाई पुर्याउनु भएको योगदानको लागी उच्च सम्मानको हकदार छन्।

नेकपाले चुनावी घोषणापत्रमार्फत नेपाली जनतासमक्ष गरेको प्रतिवद्धतालाई विश्वास गर्दै दिएको झन्डै दुई तिहाइ मतको सरकारको कामकारबाहीबाट उच्च आकांक्षा बोकेर बसेका जनताहरु संतुष्ट नभई रहेको परिस्थिति छ । यसकाे पृष्ठभूमिमा सरकारको मात्रै परिवर्तन नभई ब्यवस्थाको नै परिवर्तन भएको र आधारभूत नियम कानुनको निर्माणदेखि विगत लामो समयबाट थुप्रिएका विकृतिका चाङहरू पन्छाउन समय लाग्ने भएकाले परिणाम नदेखिएको हो भन्ने सरकारको जवाफबाट मात्रै नेपाली जनता चित्त बुझाउने स्थितिमा छैनन्। विकासे केही योजनाहरु सुस्त गतिमै भएपनि अगाडी बढिरहेको तथा केही सूचांकहरूमा देखिएको सुधारले क्षितिजमा केही आशाका किरणहरु देखिरहेकोमा हाल विश्वलाई सताईरहेको कोरोना भाइरसबाट नेपाल पनि थिलथिलो हुने निश्चित छ। यस विषम परिस्थितिमा कसरी कमभन्दा कम जोखिमसहित समस्याबाट छुट्कारा पाउँदै नेपाली जनताका आकांक्षाहरु पूरा गर्दै जान सकिन्छ भन्ने विषयमा गहन विश्लेषण गरी नेतृत्वमा रहेका सबै नेताहरुले सरकारलाई सल्लाह र सुझाव दिनुपर्ने जिम्मेवारी देखिन्छ। तर विडम्बना नेकपा एमाले र नेकपा माओवादी एकीकरण तथा पछी भएका समझदारीहरूबाट समेत पछि हट्दै नेतृत्वमा देखिएको टकरावले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई अत्यन्तै चिन्तित बनाएको छ। सरकारका विविध कमीकमजोरीका बाबजुद पनि सम्माननीय प्रधानमन्त्री के पी वलीले भारतसंगको सिमानाको विषयमा सबैलाई एकजुट बनाई नयाँ नक्सा प्रकासित तथा संविधान संसोधन गरी कुटनीतिक वार्तामार्फत यथार्थमा भूभाग फिर्ता ल्याएर छोड्छु भनिरहेको र सबै नेपाली जनताहरू सोही दिनको प्रतीक्षामा छन् ।नेकपा एकीकरणदेखि हालसम्म शीर्ष नेतृत्वहरुको विभिन्न समयमा बाहिर आएका टिप्पणीहरुको गहिरिएर विश्लेषण गर्ने हो भने हाल नेकपाको नेतृत्वमा देखिएको समस्या आफू र आफ्ना  समूहका ब्यक्तिहरुलाई भने जति अवसर नदिएको कुन्ठाहरुको संगालो मात्र हो जस्तो लाग्छ। झन्डै दुई तिहाई प्राप्त प्रधानमन्त्रीले आफ्नो पक्षमा जनमत भएको पुष्टि गर्ने उद्देश्यले कोरोनाको संकमण ब्यापक भईरहेको अवस्थालाई समेत पर्वाह नगरी केही दर्जन कार्यकर्ता सडकमा उतार्नु भने लज्जास्पद हो।

नेकपा र समग्रमा राष्ट्रिय हित चाहने नेपालीहरूको ठूलो जमात प्रधानमन्त्री के पी वलीले गरेका कमीकमजोरीहरुलाई सच्च्याएर शीर्ष  नेतृत्व तथा पार्टी कमिटीहरुको सल्लाह, सुझाव र निर्देशनलाई मनन गर्दै यस संसदको बाँकी अबधि निष्ठापूर्वक देश र जनताको लागि समर्पण गरेको हेर्न चाहन्छन् । यो नै नेकपा बचाउने सर्वोत्कृष्ट उपाय हो। बाँकी अवधिभर नेकपाका सबै नेता तथा कार्यकर्ताहरू एकजुट भएर नेपाली जनतासमक्ष संकल्प गरेका वाचाहरु संभव भएसम्म पूरा गर्दै गएमा कुनै पनि शक्तिले पुनः सत्तामा पुग्नबाट रोक्न सक्दैन ।

नेकपाको स्पष्ट सैद्धान्तिक दिशानिर्देशदेखि आगामी पार्टी नेतृत्वको चयनको लागि छिट्टै महाधिवेशन गर्नु पर्ने बैधानिक बाध्यता छ। नेकपाले साँच्चै  लामो समय सत्तामा रहेर ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउन चाहेको हो भने हाल नेकपामा  रहेका विभिन्न समय सत्तामा पुगी आफ्ना योग्यता प्रदर्शन गरिसकेका अनुभव प्राप्त ६५ वर्ष माथिका सबै नेताहरु नेकपालाई आवश्यक सल्लाह र सुझाव दिने सल्लाहकारको रूपमा मात्रै रहनु पर्दछ। विश्वका शक्तिशाली र विकसित राष्ट्रहरुको नेतृत्व गरेर निवृत्त भईसकेका नेताहरु बाराक ओबामा र डेभिड क्यामरुनको उमेर पार गरिसकेका नेकपाका अझै युवा पुस्ता भनाउँदा नेताहरु अरु कति समय नेतृत्वले अवसर देला र सत्ताको नेतृत्व गर्न पाइएला भनेर प्रतीक्षा गर्ने ? हाल पार्टीमा देखिएको समस्यालाई समाधानका लागी  स्थायी समितिका  ११ जना दोस्रो पुस्ताका नेताहरुले गरेको भएको पहल प्रसंसनीय छ।यसैगरी हाल नेकपामा रहेका विभिन्न गुटगत स्वार्थभन्दा माथि उठेर सबै दोस्रो पुस्ताका नेताहरुमध्येबाट आगामी महाधिवेशनमा नेतृत्व सम्हाल्ने साहस गर्नुपर्ने देखिन्छ।विश्वभर देखिएका विकासका नविनतम् अवधारणाहरुलाई अब कुनै हालतमा पनि पुरानो पुस्ताले पछ्याउन सक्ने छैनन् । यस  महान अभियानमा छिटोभन्दा छिटो नेकपाका दोस्रो तहका नेताहरु एकजुट भई स्वदेश तथा विदेशमा रहेका विभिन्न विषयका बौद्धिक ब्यक्तित्वहरुसंग सहकार्य गरी नेपाल र नेपालीको समृद्धीको लागी के कस्तो योजना र नीतिहरुको निर्माण गर्नुपर्ने हो पहल गर्न ढिलाई गर्नु हुँदैन।आगामी महाधिवेशन एकताको महाधिवेशन भनिएकोले सकेसम्म समझदारीबाट नभए निर्वाचनमार्फत भएपनि नेतृत्व सम्हाल्न आँट गर्नुपर्छ । यसरी निर्वाचित नेकपाको अध्यक्षको नेतृत्वमा आगामी संसदीय निर्वाचनमा भाग लिंदै सरकारको नेतृत्व गर्न खुट्टा कमाउनु हुँदैन।

दृढ संकल्प र स्पष्ट दिशानिर्देश सहितको समग्र नेपालीको हितमा कार्यक्रम बनाई विकसित प्रविधिको चरम उपयोग गरी सबै नेपालीमा पुर्याउन सके उनीहरुको साथ पाउन कुनै कठिनाई देखिंदैन । यसरी दोस्रो पुस्ताले साहसी कदमहरू चाल्दै सरकारको नेतृत्वमा पुगी ब्यक्तिगत तथा गुटगत स्वार्थभन्दा माथि उठी कृषिलाई आधुनिकीकरण गरी आत्मनिर्भर हुँदै विदेशमा पैठारी गर्ने व्यवस्था मिलाउनु पर्छ । नेपालले वातावरण मैत्री जलविद्युत विकासमा जोड दिई अधिकतम् विद्युत निर्यात, प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालमा पर्यटनलाई आधुनिकीकरण गर्दै लाखौंलाख  विदेशी पर्यटकहरु भित्राई विदेशी मुद्रा आर्जन गर्नुपर्छ । औद्यीकरणमार्फत कम्तिमा आफ्नो देशलाई चाहिने सामान स्वदेशमा नै उत्पादन गर्ने ,सुशासानको प्रत्याभूति गर्दै भ्रस्टाचार कम गर्ने, लोककल्याणकारी राज्यको अवधारणा अनुरुप शिक्षा र जनस्वास्थ्य निशुल्क उपलब्ध गराउनु पर्छ । जनतालाई सामाजिक सुरक्षा सहज बनाउने, स्वदेशमा नै आवश्यक रोजगारीको अवसर सृजना गर्ने,आवश्यकताअनुसार भौतिक संरचनाको निर्माण गर्ने,  राष्ट्रिय स्वाधीनतालाई मजबूत बनाउँदै विश्व मानचित्रमा नेपालको प्रतिष्ठा बृद्दि गर्ने जस्ता केही महत्वपूर्ण कामहरु गर्दै नेपाललाई विकसित राष्ट्रहरुको दांजोमा पुर्याएको हेर्न समस्त नेपाली जनताहरु आतुर छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक