बाह्रबिसे नगरपालिका जम्बुका १५ घर बाढीले बगायो, दुईको मृत्यु, १८ बेपत्ता

वर्षाका कारण विभिन्न ठाउँमा क्षति
 गए रातिदेखि अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाँउमा क्षति । उद्धारका लागि निस्किएको नेपाली सेना प्रहरी पनि जम्बुसम्म पनि पुग्न नसक्ने अवस्था भएकाले स्थानीयवासीले समयमा साथ पाउन नसकिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । बाह्रबिसे नगरपालिकाको जम्बुका ठाडो खोलामा आएको बाढीले १५ घर बगाएको र केही व्याक्ति सम्पर्कविहीन भएका छन । तस्वीर : देवराज सुवेदी/रासस

मलेम्ची ।गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएकोे छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।

बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताए ।

“खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले भने, निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरे ।

बाढीले बाह्रबिसेमा दुईको मृत्यु, १८ बेपत्ता

यसैवीच, अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।

भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए ।

सभामुख सापकोटाको हेलिकप्टर धुलिखेलबाटै फर्कियो
यसैवीच, सभामुख अग्निप्रसाद सापकोटा सहितको टोली खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धुलिखेलबाटै काठमाडौँ फर्किएको छ । सिन्धुपाल्चोक जिल्लामा बाढीले पु¥याएको क्षतिको अवलोकन एवं जानकारी लिन आज बिहान उहाँ सहितको टोली त्यसतर्फ हेलिकप्टरमा जाँदै थियो ।

मौसम प्रतिकुलताका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसे जान नसकेपछि धुलिखेलको आकाशबाटै फर्किएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भएपछि टोली बाढी प्रभावित क्षेत्र प्रस्थान गर्ने छ । सभामुख सापकोटाको बुधबार मात्रै आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।
यता, नेपाली सेनाको उद्धार टोलीसमेत बाढी प्रभावित क्षेत्रमा गएको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री