परीक्षणको पर्खाइमा नेपालमा निर्मित कोरोनाको औषधि

हेटौंडा (रासस) ।हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा.ललितकुमार दासले निर्माण गर्नुभएको कोरोना (कोभिड—१९) विरुद्धको खोप तथा औषधी परीक्षणको अन्तिम तयारीमा रहेको बताइएको छ । डा. दासले नमूना औषधी तयार भइसकेको र अब परीक्षणको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिका बमोजिमको आवश्यक प्रतिवेदनको पर्खाइमा रहेको बताउनुभएको छ ।
सो प्रतिवेदन भित्रका मापदण्डहरु पूरागर्ने लामो प्रक्रियाको कारण तयारीमा केही समय लागेको डा.दासले बताउनुभयो । प्रतिवेदन कुरेर बसेकोले केही समय यो विषय ओझेल परेको जस्तो देखिए पनि आफ्नो कार्य निरन्तर भइरहेको उहाँको भनाई छ । डा.दासका अनुसार उहाँले आफ्नो प्रयोगशालामा कोरोनाको भाइरस हटाउनेसम्बन्धी ‘एण्टी अक्सिडेण्ट एक्टिभिटी’ र ‘इन्जियोमेटिक एक्सन’ भएका बिरुवाहरु लिएर त्यसमाथि आवश्यक शोध गरेर औषधी तयार गर्नुभएको छ । उहाँले कोरोना विरुद्धको खोप र खोपबाट हुनसक्ने एलर्जीका लागि समेत मुखबाट सेवन गर्न मिल्ने औषधी गरी दुबै औषधीको नमूना नै तयार भएको दाबी समेत गर्नुभएको छ ।
साथै उहाँले मानव शरीरको प्रतिरोधात्मक क्षमता बढाउने औषधीको समेत नमूना तयार भइसकेको र यी सबै औषधीको परीक्षणको लागि प्रतिक्षामा रहेको दाबी गर्नुभयो । आफुले तयार गरेको औषधी शतप्रतिसत सफल हुने दाबी गर्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलाललाई निरीक्षण गराएर प्रतिबेदन बुझाएर यसबारेमा थप सहयोग पुगेको महसुस गरेको डा.दासको भनाई छ । उहाँले हाल नमूनाको रुपमा औषधी तयार रहेको र परीक्षण सफल भएमा ठूलो परिमाणमा औषधी बनाउन पनि समस्या नरहेको बताउनुभयो ।
विगत २२ वर्षदेखी अनुसन्धान तथा अध्यापन गर्दै आउनुभएका उहाँले बनारस हिन्दू विश्वविद्यालयबाट फाइटोकेमिस्ट्रीमा विद्यावारिधी गर्नुभएको हो । यसअघि जेठ २२ गते उहाँले सार्वजनिक गर्नुभएको कोरोना विरुद्धको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा विश्व स्वास्थ्य संगठनले जानकारी लिएको थियो । विश्व स्वास्थ्य संगठनको जेनेभास्थित कार्यालयबाट नै भिडियो कोन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रसँग प्रत्यक्षरुपमा कोरोना विरुद्ध निर्माण भइरहेको औषधी र आवश्यक सहयोग सम्बन्धमा छलफल गरेको डा.दासले जानकारी दिनुभयो । उक्त छलफलमा विश्व स्वास्थ्य संगठनले आफ्नो निर्देशिकामा आधारित रहेर दुई घण्टा लामो सवाल जवाफ पनि गरेको थियो ।
उक्त प्रयोगशालामा उत्पादन गरिएको औषधी सम्बन्धमा आवश्यक जानकारीका लागि सो अध्ययन संस्थानका प्रध्यापक दामोदर गैरेले डब्लुएचओमा लिखित प्रस्ताव पठाएपछि उक्त प्रयोगशाला पनि छनौट भएको बताउनुभयो । सर्वप्रथम नेपालको सम्बन्धित निकायसँग खोपको परीक्षण गराउनुपर्ने र नभए विश्व स्वास्थ्य संगठनसँग त्यसको प्रभावकारिता मुल्याङ्कनका लागि पहल गरिने कुराकानी भएको बताइएको छ । उक्त खोपका लागि प्रयोजन स्वीकृत भएमा ‘ट्रायल फन्ड’ का लागि पाँच लाख अमेरिकी डलर प्राप्त हुने समेत उक्त छलफलमा जानकारी गराइएको डा.दासले जनाउनुभयो ।
डा. दासले आफ्नो औषधीको विषयमा गर्नुभएको दाबी सफल हुनसक्ने विज्ञहरुको भनाई रहेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन आयुर्वेदिक क्याम्पसका प्राध्यापक डा.चन्द्रराज सापकोटाले आयुर्वेदिक पद्दतीबाट बनाइएको औषधी सफल हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामीसँग परीक्षण गर्ने प्रयोगशाला भइदिएको भए हामीले प्रयोग गर्दै आएका गुर्जो, पिप्ला, मरिच, सुठो, बेसार मिलाएर बनाएको औषधीले काम गर्छ भन्ने प्रमाणित भइसक्ने थियो, तर प्रयोगशालाको अभावमा हामीसँग प्रसस्त सम्भावनाहरु भए पनि खुम्चिएर बस्नुपर्ने अवस्था छ ।” उहाँले यिनै जडिबुटीहरुको मिश्रणबाट डा.दासले औषधी तयार पार्नुभएको भए डा.दास सफल हुनुहुनेछ भन्नुभयो । आयुर्वेदिक औषधीबाट रुघा, खोकी, ज्वरो निर्मुल हुने भन्दै प्राडा. सापकोटाले कोरोना जीवाणु पनि स्वासप्रस्वाससँग बढी सम्बन्धित महामारी भएकोले डा.दासले जडिबुटीहरुको मिश्रणले तयार पार्नुभएको औषधीले काम गर्नसक्ने बताउनुभयो । उहाँका अनुसार कोरोना एक किसिमको कडा खालको रुघा नै रहेको र यसको आयुर्वेदिक उपचार सम्भव रहेको छ ।
डा.दासको उक्त कार्यलाई बागमती सरकारले प्रोत्साहन गर्दै सहयोग गर्ने भएको छ । यस्तो कार्यमा प्रदेश सरकारले चासो राख्ने सामाजिक विकास मन्त्री युवराज दुलाले बताउनुभयो । डा. दासले तयार पार्नुभएको उक्त औषधी परीक्षणको लागि प्रदेश सरकारले आर्थिक देखि अन्य आवश्यक सबै खालको सहयोग गर्ने पनि मन्त्री दुलाले बताउनुभयो । उहाँले डा. दासले औषधी तयार गरेको बताएको भए पनि यसको परीक्षणको प्रक्रियाबारे थाहा नपाएको कारण समय लागेको बताउनुभयो । उहाँले भन्नुभयो “डा.दाशले औषधीको लागि नेपाल सरकारसँग अनुमति लिनुपर्ने हुन्छ यो प्रक्रियामा जान सुझाएको छु यसका साथै उक्त प्रक्रियापछि उहाँ सही दिशामा हुनुहुन्छ वा हुनुहुन्न त्यो पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नै हेर्छ र उहाँको लागि आवश्यक सबै सहयोग प्रदेश सरकारले गर्नेछ ।” मन्त्री दुलालले आर्थिक कारणले उहाँको औषधी परीक्षण प्रक्रिया नरोकिने पनि बताउनुभयो ।
विश्वमा नै कोरोना बिरुद्धको औषधी निर्माण तथा परीक्षण जारी रहेका समाचारहरु आउने गरेका छन् । तर पनि यसको औषधी या खोप नै पत्ता लागिसकेको अवस्था भने छैन । यस्तो समयमा डा.दासको औसधीको परीक्षण सफल भएमा यो नेपालका लागि मात्र नभएर विश्वकै लागि पनि ठूलो उपलिब्ध हुनेछ । यस महामारीको औषधि भारतीय आयुर्वेदिक औषधि निर्माण कम्पनी पतञ्जलीले निर्माण गरेको दाबी पनि गरेको थियो । तर सो औषधी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको परीक्षण नभएको र औषधी निर्माणको अनुमति समेत नलिएको भन्दै त्यो औषधीलाई प्रतिबन्द लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री