काठमाडौँ । दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि छवटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन् ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले चार्टर्ड उडान गरी उनीहरुलाई स्वदेश फर्काइरहेका हुन् ।
नेपाल एयरलाइन्सले दैनिक तीनदेखि चार र हिमालयले दैनिक दुईदेखि तीन उडान भर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यी उडानमा कहिलेकाहीँ गन्तव्य तथा उडान सङ्ख्यामा पनि तलमाथि हुने गरेको छ । दुवै एयरलाइन्सले जुलाई महिनामा हुने उडान तालिका बनाएर धमाधम चार्टर्ड उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले जुलाई ११ तारिखसम्मको उडान तालिका सार्वजनिक गरेको छ । यसैगरी हिमालयले जुलाई दुईदेखि १० सम्मको उद्धार उडान तालिका निर्धारण गरेको छ । नेपाल एयरलाइन्सले यसअघि जुन पहिलो सातादेखि महिनाभर विभिन्न मुलुकमा चार्टर्ड उडान गरी नेपालीलाई स्वदेश ल्याएको थियो ।
त्यस्तै हिमालयले जुन १६ देखि अन्तिमसम्म उद्धार उडान गरेको थियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जुलाई महिनाको १२ तारिखसम्म मात्रै उद्धार उडान हुने जानकारी दिनुभयो । यसपछि एक/दुई साता चार्टर्ड उडान नहुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जुन महिनामा छुटेकासहित उद्धार उडान जुलाईको ११ देखि १२ तारिखसम्म हुनेछ । यसपछि दुई साता उडान हुनेछैन । सरकारले निर्णय गरेमा थप उडान हुनसक्ने जनाइएको छ ।
नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले निगमको पूर्वनिर्धारित तालिकाअनुसार दैनिक तीनदेखि चार उडान भइरहेको जानकारी दिनुभयो । पछिल्लो पटक निगमको एक वाइड बडी जहाज ग्राउन्डेड भएकाले अहिले दैनिक सरदर तीन उडान भइरहेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारोबडी जहाज छन् । हिमालयसँग तीन न्यारो बडी जहाज छन् ।
पर्यटन मन्त्रालयले जुलाई महिनामा विभिन्न मुलुकबाट गरिने उद्धार उडानका लागि नेपाल एयरलाइन्सलाई तीन र हिमालयलाई दुई उडान अनुमति दिएको छ । अन्य विदेशी एयरलाइन्सले पनि नेपालीको उद्धार उडानका लागि अनुमति पाएका छन् ।
हिमालयले औसतमा दैनिक दुईदेखि तीन चार्टर्ड उडान गरिरहेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । अहिलेलाई पूर्वनिर्धारित तालिकामा उडान भर्ने र थप उडानका लागि सरकारले निर्णय गरेमा उडानका लागि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।
उहाँले यात्रु चार्टर्ड र केही कार्गो उडानबाहेक अहिलेलाई कुनै योजना नभएको जानकारी दिनुभयो । एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरी चार्टर्ड उडान गरिरहेको छ ।
कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् । यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक नौदेखि १६ वटा चार्टर्ड उडान हँुदै आएका छन् । असार महिनामा धेरै सङ्ख्यामा उडान भएको विमानस्थलको विवरण छ । यही असार १२ गते एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो । यसअघि असार १० र ११ मा दैनिक १५ उडान भए । शनिबार र आइतबार दैनिक ११ उडान भएको विमानस्थलले जनाएको छ ।
सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सरकारद्वारा गठित कोभिड–१९ सङ्क्रमण व्यवस्थापन सेन्टर (सिसिएमसी) को निर्णयअनुरुप पहिलो चरणमा २५ हजार नेपालीलाई स्वदेश फर्काइने जनाइएको छ ।
सोह्र हजारभन्दा बढी फर्किए
विभिन्न मुलुकबाट भइरहेका उद्धार उडानमार्फत १६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को विवरणअनुसार यही असार १८ गतेसम्म विभिन्न मुलुकबाट १६ हजार २९४ यात्रु फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै कुवेतबाट तीन हजार ५२७, युएईबाट दुई हजार ७३७, साउदी अरेबियाबाट दुई हजार दुई, कतारबाट एक हजार ८१७ र मलेसियाबाट एक हजार ५३७ स्वदेश फर्किएका छन् ।
प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका पाँच हजार ३५८, प्रदेश नं १ का तीन हजार ८९, प्रदेश नं ५ का दुई हजार ५८१, प्रदेश नं २ का दुई हजार ४९८, गण्डकी प्रदेशका दुई हजार २१, कर्णाली प्रदेशका ३९४ र सुदूरपश्चिम प्रदेशका ३५३ स्वदेश फर्किएका छन् ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय