अहिले घर किन्नु ठीक छ कि छैन ?

 

लेखक भट्टराई

कोभिड-१९ ले पूर्ण रुपमा निस्कृय जस्तै रहेको बेलायतको प्रोपर्टी बजार केही दिन यता फेरि चलायमान हुन थालेको महसुस भएको छ । अहिले केही दिन देखिको प्रोपर्टी बजार हेर्ने हो भने सामान्य रुपमा नै अघि बढेको जस्तो महशुस गर्न सकिन्छ । तर यसको नाडी छाम्ने हो भने यो गतिलाई सामान्य गतिका रुपमा लिन सकिँदैन । यस्तो अवस्थामा प्रायः दिमागमा आइरहने प्रश्न यो हो कि यसको प्रभाव अवधि कति लामो हुनेछ ?
सामान्य रुपमा हेर्ने हो भने अब प्रोपर्टी बजारमा भारी गिरावट आउनु पर्ने हो । तर, अहिलेको बजारले त्यो भन्दैन यसको मुख्य कारण हो हालै युके सरकारले उपलव्ध गराएको फर्लो र बाउन्स व्याक ऋण । जसका कारण प्रोपर्टी बजारमा घर खरीद कार्यमा खासै कमी आएको छैन । तर यदि सरकारले प्रोपर्टी बजारमा लगानीकर्ताहरुलाई उत्साहित गर्ने खालका कार्यक्रम नल्याउने हो भने यो स्थिति धेरै दिन टिक्न सक्दैन । जस्तो बेलायत सरकारले दोस्रो घर खरीदकर्ता (सेकेन्ड बायर)लाई पनि पहिलो पटक घर खरीदकर्ता (फस्ट टाईम बायर)लाई जस्तै घर किन्दा लाग्ने कर (स्टाम्प डियूटी)मा सहुलियत प्रदान गरी बजारलाई धेरै हद्सम्म चलायमान राख्न मद्दत पुर्याउन सक्दछ ।
विश्व सन्दर्भ 

अक्सफोर्ड युनिभर्सिटीका एक जना अर्थशास्त्रीले २७ मार्चमा गरेको एउटा सर्भेअनुसार कोभिड-१९ का कारण विश्व नै आर्थिक मन्दिको शिकार हुने संभावना ५८ प्रतिशत देखिएको छ । जसले प्रष्ट पार्छ कि अहिलेको यो अवस्थामा प्रोपर्टी बजारमा वैदेशिक लगानीकर्ता आकर्षित हुने संभावना धेरै न्यून हुन्छ । जसले गर्दा पनि यो बजारमा धेरै नकारात्मक असर पर्ने देखिन्छ। अझ अर्थशास्त्रीको उक्त सर्भेले आर्थिक मन्दी यू आकारमा रिकोभरी हुने जनाउनुले पनि प्रोपर्टीमा लगानी गर्ने लगानीकर्ताहरु निरुत्साहित हुने देखिन्छन् ।

अहिलेको यो अवस्थामा रेजिडेन्सियल प्रोपर्टीभन्दा कमर्शियल प्रोपर्टी बढी प्रभावित हुने देखिन्छ । किनभने रेजिडेन्सियल प्रोपर्टीका लागि पहिलो पटक घर खरीद गर्ने खरीदकर्ता अनि प्रोपर्टी बजारमा लगानी गर्ने लगानीकर्ता दुवै किसिमका खरिदकर्ता आकर्षित हुन्छन् भने व्यावसायिक भवनका लागी भने लगानीकर्ता मात्र खरिदकर्ता हुन्छन्। जसका कारण कमर्शियल प्रोपर्टीको मूल्यमा भारी गिरावट आउने वा लामो समयसम्म बिक्री नहुने संभावना रहन्छ ।

सारांश

पहिलो पटक घर खरिदकर्ता (धेरै फस्ट टाइम बायर्स)हरुलाई अहिले घर किन्दा के हुन्छ ? यो उपयुक्त समय हो कि होइन ? भन्ने प्रश्नले पिरोलिरहेको देखिन्छ ।
अहिलेको यो परिस्थितिमा घर किन्दा धेरै विचार पुर्याउनु पर्ने हुन्छ । जस्तै हालको मार्केट मूल्य : सामान्यतया प्रोपर्टीमा धेरै ज्ञान नभएका खरीदकर्ता (बायर)ले त्यो घरको बजार मूल्य (मार्केट भ्यालु) प्रोपर्टी खरीदका लागि हेरिने वेभसाइडहरु जुप्ला वा राईटमुभ जस्ता प्रोपर्टी लिस्टिङ गर्ने कम्पनीका एपमा गएर घरको मूल्य सामान्यता कति पर्छ भनेर हेर्न सकिन्छ । त्यही अनुरुप आफुले किन्न चाहेको घरको सुहाउँदो मुल्य अफर गर्न सकिन्छ । वेलायतका धेरैजसो घर खरीद विक्री गर्ने कम्पनी (स्टेट एजेन्ट)हरुले कुनै घरको मूल्य मुख्यतया दुई तरिकाले निर्धारण गर्दछन्। एक त एप्लिकेसनको मद्दतले जस्तो त्यो एरियाको कुन प्रकारको घर ? कतिमा बिक्री भएको थियो ? मूल्य निर्धारण गर्नु पर्ने घरको विशेषता के-के छन् ? यसको आधारमा मूल्य तोक्छन् ।

अर्को बिक्रीकर्ताले नै मेरो घर मूल्य यति पाए भने बिक्री गर्छु भनेर मूल्य तोकेर एजेन्टलाई बेच्न लगाएका हुन्छन् । जे होस् घरको मूल्य अफर गर्दा पहिलो पटक घर खरीदकर्ताहरु (फस्ट टाइम बायरस)ले लोकेसन र त्यो एरियामा पहिले वा हालै खरीद बिक्री भएका घरहरुको मूल्यको अध्ययन गरी प्रोपटी मूल्याङ्कन (भ्यालुएसन) एप्लिकेसनहरु प्रयोग गरी अफर गर्दा उपयुक्त हुन्छ । व्यावसायिक लगानीकर्ताहरुले त सामान्यतया कमर्शियल एप प्रयोग गरी वा बजार मूल्यभन्दा १५ देखि २० प्रतिशतसम्म कम रेटमा अफर गरेर च्याँखे थाप्ने काम गर्दछन्।

(युवा व्यावसायी भट्टराई प्रोपर्टी खरीद बिक्रीमा विशेष ज्ञान राख्छन्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री