काठमाडौँ । नेपाल सरकारले आज मात्र विभिन्न मुलुकमा रहेका करिब १ हजार २०० नेपालीलाई स्वदेश फर्काएको छ ।
विभिन्न देशहरुबाट १४ वटा विमान चार्टर्ड उडान गरी उनीहरुलाई स्वदेश ल्याइएको हो ।
विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन् । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेधाहबाट २२५ यात्रु र एक शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सको जहाजले जापानको नारिताबाट १९ यात्रु ल्याएको छ । पुनः कुवेतबाट नेपाली ल्याउन त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ ।
त्यस्तै हिमालय एयरलाइन्सले कुवेतबाट १५५, अबुधाबीबाट दुई उडान गरी क्रमशः १४९ यात्रु र तीन बच्चा र दुई यात्रु, दमामबाट १५४ र दोहाबाट २८२ यात्रु काठमाडौँ ल्याएको छ । श्री एयरलाइन्सले म्यान्माको यंगुनबाट नौ यात्रु र एक बच्चा ल्याएको छ भने दोस्रो चार्टर्ड उडानका लागि उक्त एयरलाइन्स म्यान्मा उडेको विमानस्थलले जनाएको छ ।
टर्किस एयरलाइन्सले स्तान्बुलबाट दुई चार्टर्ड उडानमा क्रमशः २८० र २८२ यात्रु काठमाडौँ ल्याएको छ । त्यसैगरी मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट दुई उडानमा क्रमशः सात र चार नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको छ । बिहीबार पनि अन्तरराष्ट्रियतर्फ १३ उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ । दोहा, दमाम, यङ्गुन, अबुधाबी, बहराइन, क्वालालम्पुर र जापानको नारितामा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।