मैले प्रतिरोधी क्षमता बढाउन आग्रह गरेको हुँ : प्रधानमन्त्री

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको अनुरोधलाई मजाकमा नउडाउन आग्रह गरेका छन ।
अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनि र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरेका हुन । विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीको प्रभाव भइरहेका बेला प्रधानमन्त्री ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन त्यस्ता वस्तुको प्रयोग बढाउन आग्रह गर्दै आएका छन ।
प्रधानमन्त्री ओलीले भने, “मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहान्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऔँ । आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन् । यिनीहरुलाई अगाडि बढाऔँ ।” नेपाल योगको जननी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसै हिमवत्खण्डबाट सङ्गीत, नृत्य, योग र आयुर्वेदसहित असाधारण ज्ञान, अभ्यास र अनुसन्धान अगाडि बढको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले नेपाली भूभागबाट उत्पत्ति, प्रयोग र विकास हुँदै आएको योग आज विश्वव्यापी भएको जनाउँदै यसले नेपालको इतिहास, सभ्यता र गौरवलाई झल्काउने बताए । “व्यायाम, प्राणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ ।” प्रधानमन्त्री ओलीले थपे, “मानव जातिको सर्वोपरी आकाङ्क्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ । मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ ।”
प्रधानमन्त्री ओलीले नेपालको ऊर्वर, जीवनमय र औषधिमय प्रकृति भए पनि नेपाल गरिबीमा परेको कुरा अब स्वीकार्य नहुने भन्दै यसलाई अब बदल्नुपर्छ बदल्न आग्रह गरे । उनले भने , “समृद्धिका गन्तव्यमा पुग्ने आधारसहितको सङ्कल्प हामीसँग छ । यसका लागि स्वास्थ्य अनिवार्य पूर्व शर्त हो, त्यसैले निरोगी नेपालको अभियान सञ्चालन गर्ने भनेका छौँ । आहार, व्यायाम र आरामको अन्योन्याश्रित सम्बन्ध हुने भएकाले योग र आयुर्वेदलाई अगाडि बढाऔँ ।”
सो अवसरमा प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकको लोकार्पण गरे ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योग अध्यास र अध्ययनको क्रमको थालनी भएको बताउँदै निरोगी रहन यसलाई व्यापक बनाउन आग्रह गरे । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले विमोचित पुस्तक राष्ट्रिय योग अभ्यासक्रमको प्रकाशनले योगलाई जस्वनपद्धतिमा ढाल्न सहयोग पुग्ने बताए ।
शिक्षा मन्त्रालयका सचिव डा सञ्जय शर्माले राष्ट्रियस्तरमा योगको प्रयोगका सम्बन्धमा सरलीकृत व्याख्या गरेर पुस्तक प्रकाशन गरिएको जानकारी दिए । स्वामी आनन्द अरुणले कोरोना सङ्कटपछि विश्व पूर्ववत् अवस्थामा नरहने र मानसिक रोगी बढ्ने खतरा भएकाले मानसिक स्वास्थ्यतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उहाँले मानसिक समस्या भएमा शरीरको प्रतिरोधी क्षमता कमजोर हुने भएकाले योग र ध्यानलाई प्राथमिकता दिन आग्रह गरे ।
र्काक्रममा योगगुरु डा हरिप्रसाद पोखरेल, नायक निखिल उप्रेती, साधक सोनाम साथीलगायतले योगको व्यापकताका लागि आग्रह गर्नुभयो । नेपालले भने हरेक माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ ।

छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

यसैवीच, आज नेपालमा छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो। अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र सङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए। यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन्।

संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ। ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ। योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले आज विविध कार्यक्रम आयोजना गर्ने भएका छन्। यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम हुँदैछन्।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ । यस वर्ष दिवसको नारा ‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने रहेको छ।

नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो । योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ।

भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ । शिव र पार्वतीबीचको संवादलाई प्रचारप्र्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण नै शुरु भएको छ । प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ।

वर्षकै लामो दिनसमेत हुने आजको दिन आषाढ कृष्ण औँसीमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ। योग दिवसलाई ग्रहणले छोए पनि योग, ध्यान, जप, तप, पूजा, पाठ गर्न हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए।

विसं २०३६ देखि उत्तरायण शुरु हुने माघ १ गते योग एवं प्राकृतिक चिकित्साका अनुसन्धाता डा.हरिप्रसाद पोखरेलको सक्रियतामा नेपालमा योग दिवस मनाउन शुरु गरिएको हो। 

बेलायत पनि मनाइदै 

यसैवीच, जीवन योग प्रयोगशाला प्लमस्टेडले आज आइतबार सेक्रेट्स स्प्रिचुयल ट्रान्सफरमेसन बिषयमा एक प्रवचन कार्यक्रम गर्दैछ । छैटौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जीवन योग प्रयोगशालाले नेपालमा रहनु भएका जीवन विकास विशेषज्ञ एल पि भानु शर्माबाट योग प्रवचन दिदैछन । बेलायतको समयअनुसार १०:४५ बजे विहान प्रवचन कार्यक्रम तय गरिएको छ ।योग साधनामा इच्छुक सबैलाई निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री