काठमाडौँ । लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नयाँ नक्शाले संवैधानिक मान्यता पाएको छ ।
दुवै सदनबाट पारित भएको संविधान संशाेधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमाणीकरण गरेपछि अब नयाँ नक्शा लागू हुनेछ ।
नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति जारी जानकारी दिएका छन ।
सो विधेयक प्रतिनिधिसभाबाट गत जेठ ३१ गते र राष्ट्रियसभाबाट आज दुई तिहाइ बहुमतबाट पारित भएको थियो ।