कोरोना प्रभावितको सहयोगमा बेलायतका नेपालीको उदार मन

स्थानीय एनएनएसलाई नेपाली समुदायको सहयोग । तस्वीर विल्सायर एडभर्टाइजर

लण्डन । कोरोना भाइस प्रभावितहरुलाई सहयोगका लागि बेलायतस्थित नेपाली समुदायबाट १ लाख ५० हजार पाउण्डभन्दा धेरै राशी स‌ंकलन भएकाे पाइएको छ ।
बेलायत तथा नेपालमा कोभिड १९ बाट प्रत्यक्ष र अप्रत्यक्षरुपमा समस्यामा परेकाहरुका लागि आफैँ पनि प्रभावित रहेको समुदायबाट संगठित र व्यक्तिगत तवरमा  यति ठूलो रकम उठ्नु उदार हृदयको प्रतीक हो ।
वीनेपालीले संकलन गरेको प्रारम्भिक तथ्या‌कअनुसार बेलायतमा रहेका नेपालीहरुले संस्थागतरुपमा कम्तिमा १ लाख २५ हजार पाउण्डभन्दा बढी सहयोग उठाइसकेका छन् भने व्यक्तिगत रुपमा २५ हजार पाउण्डभन्दा बढीको सहयोग भइससकेको पाइएको छ ।
यो समाचार तयार पार्दासम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कोरोना राहत कोषमा २४ हजार ७ सय पाउण्डको प्रतिवद्धता आइसकेको कोषका संयोजक दीपक श्रेष्ठले जानकारी दिएका छन् । सो रकमबाट बेलायतमा कोरोनाबाट निधन भएका मृतकका परिवारहरु, विद्यार्थीहरु र बृद्धबृद्धाहरुलाई मास्क, ह्याण्ड स्यानिटाइजरमा खर्च गरिँदै आएको छ ।
यसैगरी, बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको छाता संस्था मर्जिङ नेपसोक्सले पनि यो पंक्ति तयार पार्दासम्ममा करिब २० हजार पाउण्ड सहयोग संकलन गरिसकेको छ । मर्जिङ नेपसोक्सलाई नेपाली दुताबासले समेत कोरोना प्रभावित विद्यार्थीहरुलाई सहयोग गर्न जिम्मा दिएको छ । मर्जिङ नेपसोक्सले विद्यार्थीहरुलाई सहयोग र राहत प्रदानमा करिब १४ हजार पाउण्ड खर्च गरिसकेको छ । मर्जिङ नेपसोक्सका अध्यक्ष पवन कँडेल सहयोग संकलन र राहत बाँड्ने कार्य अहिले तेस्रो चरणमा चलिरहेको बताउँछन् ।
युकेमा रहेका नेपाली समुदायका संस्थाहरुमध्ये एक प्रमुख संस्था तमुधिँ युकेले पनि कोरोना प्रभावितहरुका लागि करिब ११ हजार पाउण्ड संकलन गरी वितरण समेत गरिसकेको छ । तमुधिँ युकेले नेपाल तथा बेलायत दुवै देशका कोरोना पीडितहरुलाई सहयोग गरेको अध्यक्ष नन्दजंग गुरुङ बताउँछन् । तमुधिँ युकेले एनआरएनए युकेको कोषमा १ हजार ४०० पाउण्ड प्रदान गरेको छ भने फ्रिम्ली पार्क अस्पताल एनएचसलाई १ हजार पाउण्ड सहयोग गरेको छ । नेपालमा गण्डकी प्रदेश सरकार, कलाकार, पत्रकार लगायतलाई तमुधिँ युकेले सहयोग गरेको छ ।
यसैगरी, बेलायती डायस्पोराको मुख्य संस्थामध्ये एक मगर संघ युकेले पनि कोरोना पीडितहरुका लागि करिब १० हजार पाउण्ड संकलन गरिसकेको छ । मगर संघले सो कोष संकलन र सहयोगको जिम्मा मगर युवा संघलाई जिम्मा दिएको छ । युवा संघका अध्यक्ष किशोर रानाका अनुसार मगर संघले संकलन गरेको फण्डबाट बेलायत तथा नेपाल दुवैमा सहयोग गरिएको छ ।
नेपालीहरुको संस्थाले नेपालीहरुलाई मात्र होइन बेलायतका संस्थालाई पनि सहयोग गरेका छन् । यसको ज्वलन्त उदाहरण स्वीण्डनमा रहेका नेपालीहरुको संस्था नेपाली समाज विल्सायर हाे । समाजले बेलायतमा कोरोना महामारीको उपचारमा उल्लेखनीय कार्य गरेको भन्दै स्थानीय एनएचएसलाई १० हजार पाउण्ड सहयोग हस्तान्तरण गरेको छ ।
यस्तै, बेलायतकै अर्को संस्था तमु समाज युकेले पनि कोरोना प्रभावितहरुको सहयोगका लागि आफ्नो सदस्यहरुबाट करिब १० हजार पाउण्ड संकलन गरेको अध्यक्ष शिवचन्द्र गुरुङ बताउँछन् । समाजले सो कोषबाट समाजका वृद्धवृद्धा सदस्यहरुलाई मास्क, स्यानिटाइजर, वाइप्स जस्ता सामग्री किनिदिने गरेको पनि उनले जानकारी दिए ।
यसैगरी, बेलायतमा रहेका गुल्मेलीहरुको संगठन गुल्मी सामाज युकेले आर्थिक संकलन जारी राखेको छ । यो समाचार लेख्दासम्मा समाजले करिब ५ हजार पाउण्ड सहयोग संकलन गरिसकेको छ । त्यस्तै, एनआरएनए आइसिसी एक एनसीसी एक प्रोजेक्टअन्तर्गत कोरोना पीडितलाई सहयोगका लागि बेलायतबाट करिब ५ हजार पाउण्ड सहसोग प्राप्त भएको समितिका सदस्य खुशी लिम्बु बताउँछन् ।
यसैगरी, ननिटनमा रहेको ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसनले कोरोना प्रभावित आफ्ना सदस्यहरुका लागि संकलन गरेको सहयोग अभियानमा करिब ४ हजार पाउण्ड जम्मा भइसकेको महासचिव भीम सारु बताउँछन् । सो कोष संकलन कार्य जारी रहेको र कोषबाट सो क्षेत्रमा कोरोनाबाट दिवंगत सदस्यहरुका परिवार र विद्यार्थीहरुलाई सहयोग गरिएको पनि उनले जानकारी दिए ।
यी त केही उदाहरण मात्र हुन् । बेलायतमा करिब ३०० को हाराहारीमा नेपाली संघसंस्था छन् । तिनीहरुमध्ये आधाले सहयोग संकलन गर्दै आएका छन् । यसरी संकलित सहयोग नेपाल र बेलायत दुवै देशमा वितरण हुँदै आएको छ । डार्टफोर्डमा रहेको ब्रिटिश गोर्खा नेपलिज कम्युनिटीले २ लाख १५ हजार रुपियाँ इन्द्रेणी कार्यक्रममार्फत नेपालका कोरोना पीडितलाई पठाएको छ । यस्तै, डार्टफोर्ड नेपाली समाजले करिब १ हजार ५०० पाउण्ड सानो पाइला नामक संस्थामार्फत नेपालको तराई क्षेत्रमा कोरोना प्रभावितलाई भोजनका लागि पठाएको छ ।
यसैगरी नेपालका विभिन्न गाउँपालिका, नगरपालिका वा वडाहरुलाई लक्षीत गरेर समेत युकेमा सहयोग संकलन गरिएको छ । इलाम समाज युकेकी अध्यक्ष श्रीमती प्रमिला राई इलाम समाजले सहयोग संकलन नगरे पनि समाजभित्रका विभिन्न गाउँपालिका वा नगरपालिकाका युकेमा रहेका बासिन्दाले राहतका लागि सहयोग संकलन गरेको बताउँछिन् । उनका अनुसार सन्दकपुर गाउँपालिकाका लागि २ लाख ७८ हजार रुपियाँ र सूर्योदय नगरपालिकाका लागि २ लाख ४७ हजार रुपियाँ युकेबाट सहयोग गरिसकिएको छ ।
नेपाल वेलफेयर सोसाइटी युकेले नेपालको सातै प्रदेशको एक/एक वटा स्थानमा राहत वितरण गरिसकेको छ । तर सोसाइटीका अध्यक्ष धनबहादुर सार्की हालसम्म राहत वितरणमा कति रकम खर्च भयो बताउन चाहँदैनन् ।
यसबाहेक व्यक्तिगत तवरबाट पनि नेपालमा राहतका लागि युकेबासीले सहयोग गरेका छन् । वीनेपालीको प्रारम्भिक अनुमानमा युकेमा रहेका नेपालीहरुबाट व्यक्तिगत तवरबाट ४० देखि ५० लाख रुपियाँसम्मको सहयोग नेपालमा भएको पाइएको छ ।
बेलायतमा रसियाका डा उपेन्द्र महतो वा अष्ट्रेलियाका शेष घलेजस्ता अर्बपति नेपालीहरु छैनन् । तर चाहे नेपालको भूकम्पमा होस् वा अन्य विपत्तिमा बेलायतमा रहेका नेपालीहरुको सहयोग उल्लेख्य रहने गरेको छ । यसरी सहयोग गर्नेमा धेरैजसो निम्नमध्यम वर्गका आफैँ काम गरेर जीविकोपार्जन गर्ने वा साना तथा मझौला व्यवसाय गर्ने नेपाली छन् । अरु बेलाको स्थिति फरक थियो जस्तै भुकम्पमा बेलायतमा रहेका नेपाली सीधै प्रभावित थिएनन् । तर अहिले त बेलायत आफैैँमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक हो । यस्तो जोखिमयुक्त देशमा रहेर पनि ‘आफू पनि बाँचौँ अरुलाई पनि बचाओैँ’ भनी यहाँका नेपालीले मुठ्ठी फुकाएर गरेको सहयोग उदाहरणीय छैन र ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री