चितवन । चितवनस्थित इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ स्थित ल्याम्दार घर भएकी ७० वर्षीया डिलकुमारी चेपाङ एकल महिला हुन् । सानो झुप्रोमा एक्लै बस्दै आएकी उनले केही दिन यता कोरोनाका कारण दैनिक काम काज रोकियो । उनलाई खाना खान मुस्किल पर्दै गयो । जंगल चहारेर भेटेका कन्दमूलले जीवन गुजारा गर्दै आएकी ती चेपाङले बिहीबार राहतस्वरुप एक बोरा चामल पाइन । “भातको त स्वादै बिर्सन थालियो”, ३० किलो चामल बोकेर घरतर्फ अघि बढ्दै गरेकी उनले थपिन्, “यति भएपछि त अब एक महिनालाई आनन्दै भयो ।”
इच्छाकामनाको वडा नम्बर २ चेपाङ बाहुल्य वडा हो । पाँच हजार पाँच सय भन्दा बढी जनसंख्या रहेको यस वडामा ३ हजार ८ सय भन्दा बढी चेपाङ छन् । ८ सय घरधुरी मध्ये ९५ प्रतिशत राहत आवश्यक पर्ने खाले छन । गाउँमा उत्पादित तरकारी बजार पु¥याएर आम्दानी लिने देखि दैनिक ज्यालादारी मजदुरी गरेर भएको कमाईले गुजारा चलाउँदै आएका स्थानीयबासीलाई लकडाउनले सकसमा पारेको छ । चितवनको पहाडी भेगमा अहिले मकै हुर्कँदैछ । मकैको उत्पादन सुरु नहुने बेलासम्मलाई चेपाङ समुदायले भोकमरीको समय मान्छन् ।
यही समयमा लकडाउन भएपछी उनीहरुलाई खानामै समस्या भइरहेको छ । गाउँपालिकाले एक पटक सबै परिवारलाई १० किलोका दरले चामल वितरण गरेको थियो । तर त्यो राहत चेपाङ समुदायलाई ‘हात्तीको मुखमा जिरा’ सरह भयो ।राहतको आशामा बाटो हेर्दै बसेका डिलकुमारी चेपाङ जस्ता सयौं परिवारका लागि बुधबार भने खुसीको दिन बन्यो नेपाली जनसम्पर्क समिति बेलायतले यस वडाका १ सय ३० परिवारलाई तीस किलोका दरले राहत उपलब्ध गरायो । एनआरएनए अभियन्ता तथा नेपाली जनसम्पर्क समिति बेलायतका सदस्य विनय अधिकारीको संयोजनमा इच्छाकामना गाउँपालिकाका चेपाङ बाहुल्य क्षेत्रमा राहत वितरण गरिएको हो ।
जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको सकृयतामा समितिका शुभचिन्तक तथा सहयोगीहरुबाट संकलन गरिएको रकमले राहत वितरण गरिएको इच्छाकामना–४ का स्थानीयबासीसमेत रहेका अधिकारीले बताए । उनले गाउँको स्थलगत भ्रमणगरी समस्या बुझेर राहत वितरण गरिएको बताए । अधिकारीले गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङलाई एकमुष्ट राहत हस्तान्तरणगरी गाउँपालिकाको रोहवर सम्बन्धित ठाउँमै पुगेर राहत वितरण गरिएको बताए ।
गाउँपालिकासँगको समन्वयमा वडा नम्बर २ का मायाटार, भोर्ले, डाँडागाउँ, तेर्से, ल्याम्दार, रमाइलोडाँडा तथा वडा नम्बर ४ का मडकिना, गैरीगाउँ, खैरेनीटारलगायतका क्षेत्रका २ सय भन्दा बढी चेपाङ परिवारहरुलाई राहत वितरण गरिएको हो । गाउँपालिकाकी अध्यक्ष गुरुङले गाउँपालिकाको सबै ठाउँमा एक चरणको राहत पु¥याइएको जानकारी दिँदै आवश्यकताअनुसार थप राहत वितरण गर्दै गएको बताइन् वडा नम्बर २ को रमाइलोडाँडाका युवा सुन्दर चेपाङले राहतले चेपाङ समुदायमा खुसी ल्याएको बताए ।
“हामी मजदुरी गुमाएका युवाहरुलाई परिवार पाल्न निकै समस्या भइरहेको छ”, उनले भने, “गैर सरकारी निकायबाट प्राप्त भएको राहतले गाउँमा खुसी ल्याएको छ ।” वडाध्यक्ष पञ्चबहादुर चेपाङले ९५ प्रतिशत परिवार अतिविपन्न तथा सिमान्तकृत वर्ग रहेको क्षेत्रमा प्राप्त भएको राहतले स्थानीयबासी लाभान्वित भएको बताए । उक्त वडाका सचिव रिता अर्याल नेपालले राहत वितरणसँगै स्थानीयबासीमा कोरोना भाइरसबाट सतर्क रहने उपायबारे सचेत गराइएको बताइन् । राहत वितरणका लागि गाउँ पुगेकी गाउँपालिकाकी प्रबक्ता सावित्री गुरुङले तुलनात्मकरुपमा आर्थिक अवस्था कमजोर र कम साक्षर रहेको गाउँ भएकाले गाउँपालिकाले पनि चेपाङबाहुल्य क्षेत्रलाई प्राथमिकतामा पार्दै आएको बताइन्