पत्रकार महासंघ युरोपले गर्यो युकेका अभियन्ताहरुसित अन्तर्क्रिया

नेदरल्यान्ड्स। कोरोना कहरमा नेपालीहरुको अवस्थाका बारेमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले बेलायतमा रहेका सामाजिक अभियन्ताहरुसंग अनलाइन अन्तर्क्रिया गरेको छ।

कोरोनाका कारण नेपाली समुदायमा परेको असर र हालको अवस्थाका बारेमा महासंघले यसअघि यूरोपका विभिन्न १७ देशहरुमा शृंखलाबद्ध जुम अन्तरक्रिया गरेको थियो । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न उक्त अन्तर्क्रियामा  बेलायतका सामाजिक अभियन्ता र पत्रकारहरुको सहभागिता रहेको थियो ।
लगभग एक लाख पचास हजार नेपाली रहेको बेलायतमा कोरोना संक्रमणबाट ६७ जना नेपालीहरुको मृत्यु भएको जसमा ५६ जना पुरुष र ११ जना महिला रहेको बेलायतका लागि नेपाली राजदुताबासका उप नियोग प्रमुख शरदराज आरणले जानकारी गराएका थिए । बेलायतमा हाल पनि दैनिक करिब २ सयको हाराहारीमा मृत्यु हुने गरेको समाचारहरु आइरहेको प्रसङ्ग उल्लेख गर्दै सबैले बेलायतको सरकारका  नियमहरु पालना गर्नुपर्ने र सामाजिक दुरी कायम गर्दै स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए। बेलायतको डायस्पोरामा करिब ३०० संघ/संथा रहेको, एनआरएनए, नेपाल पत्रकार महासंघ लगायतका सबै संघसंथाहरु बीचमा राम्रो समन्वय भएको उल्लेख गर्दै राजदूतको अध्यक्षतामा उच्चस्तरीय समिति गठन भैसकेको अवस्थामा नेपाली बीचमा कुनै समस्या देखिए दुताबासले एनआरएनए र अन्य संघसंथाहरुसंग समन्वय गर्दै अगाडि बढ्दै जाने आरणले बताए ।
उप नियोग प्रमुख आरणले  बेलायत, माल्टा र आयरल्याण्डमा विभिन्न कारणबाट रोकिएर रहेका नेपालीहरु नेपाल फर्किन चाहेको र हालसम्म  ३५० जनाले नेपाल फर्किनका लागी दर्ता गरेको र ४०० भन्दा बढीले रजिस्ट्रेसन गर्नसक्ने उल्लेख गर्दै बेलायतमा नेपालीहरुको भौतिक सम्पतिमाथि भएको श्रृङखलाबद्ध घटना बेलायत सरकारलाई जानकारी गराइसकेको उप नियोग प्रमुख आरणले जानकारी दिए । माल्टाको समस्याको विषयमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अहिलेसम्म दुताबासमा सो बारेमा कुनै लिखित उजुरी नआएकाले केही भन्न नसकिने आरणले बताए ।
एनआरएनए बेलायतका महासचिव फडिन्द्र भट्टराईले कोरोना संक्रमणको सुरुवातबाटै संस्थाको अनलाइन बैठक बसेर पहिलो चरणमा जनचेतनामूलक कार्यक्रम गरेको प्रसङ्ग उल्लेख गर्दै २४ जना डाक्टरहरुको समूहले स्वास्थ्य र भयमुक्त हुनका लागी सूचनामूलक परामर्स दिँदै आएको बताए। उनले बेलायतका सबै संघसंस्थाहरुसंग एनआरएनएले समन्वय र सहकार्य गरिरहेको बताउँदै समस्यामा परेका नेपालीहरुलाई राहत र सहयोग निरन्तर जारी राख्ने जानकारी दिए । कोरोनाका कारण मृत्यु भएका परिवार, समस्यामा रहेका भूपू गोर्खा र बिध्यार्थीहरुलाइ एनआरएनएले आवश्यकता अनुसार औषधि, स्वास्थ्य सामाग्री, खाद्यान्न र नगद रकम पनि सहयोग गरेको समेत उनले प्रष्ट पारे ।
परिवारको परामर्श बिना कुनै पनि सूचना मिडियामार्फत नदिन पत्रकारहरुलाई अनुरोध गर्दै नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरले  यस विषम परिस्थितिमा कोरोना विरुद्धमा  नेपाली समुदायमा जन चेतना फैलाउन बेलायतमा रहेका मिडियाकर्मीहरुको सामूहिक सहभागिताको प्रसंसा गरेका थिए । पत्रकारले कुनै संघ/संथा र ब्यक्ति विशेषको पक्ष विपक्षमा लाग्न नहुने उल्लेख गर्दै उनले स्वतन्त्र भएर समाजमा रहनुपर्नेमा ध्यान दिन संचारकर्मीलाई आग्रह गरेका थिए । उनले नेपाल पत्रकार महासंघ बेलायतले कोरोना सम्बन्धी जानकारी स्वास्थ्यकर्मीहरु, जनस्वास्थ्य विज्ञहरु लगायतको अन्तर्वार्तामार्फत र अन्य जानकारीमूलक सामाग्रीहरु निरन्तररुपमा सबै मिडियाहरुलाई प्रदान गरेर जनचेतनामूलक कार्यहरु गरिरहेको बताए।
सकारात्मक संदेश जाने समाचार सम्प्रेसण गर्नुपर्ने र अहिलेको यस्तो विषम परिस्थितिमा अग्रपंतिमा रहेर काम गर्नेले सुरक्षित तवरले काम गर्नुपर्ने नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौलाको  कथन थियो। उनले बेलायतमा हालसम्म कुनै पनि पत्रकारहरुमा संक्रमण नदेखिएको बताउँदै प्रेस युनियन बेलायतले कोरोना विरुद्धको सचेतना जगाउने कार्यमा आफूले र सबै सदस्यहरुले समाचार सम्प्रेषण गरिरहेको उल्लेख गर्दै सबै संघसंथाहरु संग सहकार्य गरेर काम तयार रहेको प्रस्ट पारे ।
बेलायतमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी  नेपालीहरु धेरै रहेको र उनीहरुको परिवारहरुमा बृद्ध र दीर्घ रोगीहरु पनि रहेको अवस्थामा संक्रमणको उच्च जोखिम रहेकाले सचेत रहन आग्रह गर्दै मनोविद डा शुमाया राईले सामाजिक दुरी राखेर सरसफाइमा ध्यान दिनुपर्ने बताइन्। योगा र ब्यायाम नियमित गर्नुपर्ने र अनावस्यक चिन्ता नलिन पनि डाक्टर राईले सुझाब दिएकी थिइन् ।
बेलायतमा नेपालीहरुमा पहिलो पटक कोरोना संक्रमणको चेतनामूलक संदेश सार्बजनिक गरेकी र कोरोना भाइरसलाई समेत पराजित गरिसकेकी भगवती रानाभाटले आफ्नो अनुभव सुनाउँदै आत्मबल बलियो बनाउनु पर्ने, दैनिक जीवनशैली र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।
कार्यक्रमको सहजीकरण संघका सचिवद्वय द्रोण रिजाल र महेश खाती, कार्यकारिणी सदस्यहरु रविचन्द्र भट्टराई, राज कुमार थापा, सरला कट्टेल र युवराज फुयाँलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री