कोरोनाबाट बेलायतमा निधन भएका ६७ मध्ये ६ जना नेपालीलाई मात्र आर्थिक सहयोग

 

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले कोरोनाका कारण बेलायतमा निधन भएका ६७ जना नेपाली मध्ये ६ जनाका परिवारलाई मात्र आर्थिक सहयोग गरेको छ । कोरानाकै कारण निधन भएका अन्य ६१ जनाका परिवार बारेमा आर्थिक प्रतिवेदनमा केही उल्लेख गरिएको छैन । स्रोतका अनुसार व्यक्तिगत पहुचका आधारमा विना मापदण्ड ६ जना मृतकको परिवारलाई ३३ सय पाउण्ड बाडिएको हो ।कोरोना प्रभावित बेलायतस्थित नेपालीहरुलाई सहयोग गर्नको लागि सहयोग संकलन शुरु गरेपश्चातको आय व्यय सार्वजनिक बिहीबार सार्वजनिक गरिएको हो ।

कोषाध्यक्ष तेजेन्द्र रोका मगरले कोरोना सहयोग अभियान अन्तर्गत ९ हजार १ सय ४० पाउण्ड कोभिड-१९ का बिभिन्न शिर्षकमा खर्च भैसकेको छ । बिहीबारसम्म एनआरएन यूकेको खातामा १० हजार १ सय २४ पाउण्ड मौज्दात रहेको छ । एनआरएनए यूकेको खातामा १९ हजार २ सय ६४ पाउण्ड जम्मा भएको थियो । रोकाका अनुसार यूके विश्वविद्यालयमा अध्ययनरत ७७ जना नेपाली विध्यार्थीहरुलाई खाद्यान्न लगायतको सहयोगमा जम्मा २५ सय ८० पाउण्ड खर्च भएको छ । यसैगरी, मास्क खरिदमा १ हजार ४ सय २० पाउण्ड खर्च भएको छ । स्यानीटाईजर र सिटामोलमा ३ सय २५ पाउण्ड खर्च भएको छ । एनआरएनए आईसीसी मार्फत नेपाल सरकारको कोषमा जाने रकम अन्तर्गत १५ सय ६१ पाउण्ड रकमान्तरण गरिएको छ ।

यसैगरी, एनआरएनए यूकेको कोभिड-१९ सहयोग कोषमा अहिलेसम्म बेलायतका ३१ वटा नेपाली संघ संस्थाहरुले सहयोग पुर्याएका छन । संघ संस्थाहरुसंग सहयोग लगायतको समन्वय अध्यक्ष पुनम गुरुङले गरेकी छिन । त्यस्तै, व्यक्तिगत तवरबाट झन्डै २ सय व्यक्तिहरुले एनआरएनए यूके कोषमा सहयोग गरेका छन । एनआरएनए यूकेको तर्फबाट सहयोग संकलनको संयोजन इंगल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठले गरिरहेका छन । संयोजक श्रेष्ठका अनुसार प्रतिवद्धताको हिसावले अहिलेसम्म २१ हजार पाउण्ड भन्दा बढीको प्रतिवद्धता प्राप्त भईसकेको छ । कोभिड-१९ को सहयोग संकलन र वितरण कार्यलाई प्रभावकारी र पारदर्शी बनाउन एनआरएनए यूकेले कोष संचालन सम्बन्धि नियमावली यस अघिनै जारी गरेर सोही अनुरुप कार्यसम्पादन गर्दै आईरहेको छ ।
एनआरएन यूकेले सचिवस्तरीय हेल्प लाईनको साथै विभिन्न विभागहरुको गठन गरेर उपाध्यक्ष तथा अन्य पदाधिकारीहरुको संयोजनमा सहयोग तथा परामर्श जस्ता कार्यहरु संचालन गर्दै आएको छ । एनआरएनए यूकेले आर्थिक पारदर्शितालाई मध्यनजर गरेर आम समुदायमा आम्दानी खर्चका विवरण स्पष्ट रुपमा वेबसाइटमा समेत राख्ने तयारी रहेको कोषाध्यक्ष तेजेन्द्र रोका मगरले जनाएका छन । एनआरएन यूकेले संचालन गर्ने कोरोना सम्बन्धि सबै गतिविधीहरुलाई केन्द्रिकृत तहबाट अवलोकन, मुल्यांकन र दिशानिर्देश गर्ने गरी अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र कोभिड संयोजक सुनिल शाह सम्मिलित स्टेरिंग समितीको मातहतमा रहेर कार्यसम्पादन हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री