काठमाडौँ। बन्दाबन्दीका बेला पनि दुई अन्तर्राष्ट्रिय विमानस्थलको काम एक दिन पनि रोकिएको छैन ।
“अवस्था सामान्य भइदिएको भए पर्यटन मन्त्रालय अन्तर्गतका आयोजनाको प्रगति अवस्था निकै राम्रो हुने थियो”, पर्यटनमन्त्री योगेशकुमार भट्टराईले भने, “लकडाउनकै समयमा पनि हामीले भ्याएसम्म साधन स्रोतको प्रयोग गरेर काम गरिरहेका छौँ ।”
लकडाउन खुलेर अवस्था सामान्य भएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडै नै सम्पन्न हुने र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको काम यही अवस्थाबीच पनि तोकिएकै समयमा सम्पन्न हुने मन्त्री भट्टराईले बताए ।
गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पनि २९ चिनियाँसहित १५० जनाले काम गरी रहेको सो विमानस्थल आयोजनामा प्रमुख प्रवेश अधिकारीले बताए ।
सन् २०२० को मार्चसम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी सन् २०१४ नोभेम्बरबाट निर्माण थालिएको यस विमानस्थलको काम विश्व महामारीको रुप लिएको कोभिड–१९ का कारण केही समय पर धकेलिए पनि महामारीकै बीच पनि उपलब्ध साधन स्रोतको उच्चतम प्रयोगका साथ भइरहेको आयोजना प्रमुख अधिकारीले बताए ।
कोभिडको महामारी शुरु हुनुअघि भौतिक प्रगति ८५ प्रतिशत तथा आर्थिक प्रगति ५५ प्रतिशत रहेको यो विमानस्थलको काम अहिलेसम्म भौतिकतर्फ ९० प्रतिशत तथा आर्थिकतर्फ ६३ प्रतिशत प्रगति भइसकेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।
मार्चमम्ममा काम सकिने भने पनि जनवरीबाटै चीनबाट आउनुपर्ने सामग्री रोकिएपछि काम प्रभावित भएको हो । अहिले पनि कतिपय सामग्री बिच बाटो (ल्हासा)मा आएर रोकिएका छन् भने कतिपय सामग्री प्याकिङ नै नभएको अधिकारीले जानकारी दिए । उनले भने, “हामीले चिनियाँ पक्षलाई आउनुपर्ने सामग्री चीनको सीमासम्म ल्याउने पहल गरिदिन आग्रह गरिरहेका छौँ । त्यहाँसम्म ल्याउने अवस्था भयो भने यताबाट हाम्रै पहलमा ल्याएर भने पनि कामलाई गति दिने थियौँ ।” सबै निर्माण सामग्री आएको खण्डमा तीन महिनामा निर्माणको सबै काम पूरा हुने उनको भनाइ छ ।
अहिलेसम्म विमानस्थलमा तीन किलोमिटर धावनमार्ग निर्माणको काम सम्पन्न भइसकेको छ भने ट्याक्सी वे र एप्रोन निर्माणको काम पनि सकिएको छ । कार्गो टर्मिनलभवनको काम पनि करीब ५० प्रतिशत सकिएको छ । कार्गो टर्मिनल भवन आगामी कात्तिक १२ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सेक्युरिटी भवन निर्माणको काम करिब ९० प्रतिशत सकिएको छ ।
त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २५० चिनियाँ र नेपाली १०० गरी ३५० जनाले काम गरिरहेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । केही सामग्री केरुङ नाका र कलकता बन्दरगाहमा रोकिए पनि स्टक सामग्री भएकाले अहिलेसम्म काममा बाधा नआएको उनले प्रष्ट पारे । मुनकर्मीले भने, “अझै पनि स्टक सामान एक महिनाका लागि छ । केरुङमा रोकिएका सामान मात्र ल्याउन सकियो भने तीन महिनालाई काम गर्न पुग्छ ।”
आगामी जुलाईसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि काम प्रगतिका आधारमा लक्ष्यभन्दा छ महिना अगाडि नै योजना सम्पन्न हुने अपेक्षा गरिएको थियो । अहिले पनि बाहिरबाट सामग्री ल्याउन लकडाउनले असर नपारेको अवस्थामा तोकिएकै समयमा काम पूरा हुने पनि आयोजना प्रमुख मुनकर्मीले बताए ।