प्रधानमन्त्रीज्यू, युगपुरुष बन्ने अवसर नगुमाउनुहोस्

६८ वर्षअघि तेह्रथुम जिल्लाको सामान्य परिवारमा जन्मनु भएका सम्माननीय प्रधानमन्त्री के पी  शर्मा वली ४ वर्षकै कलिलो उमेरमा मातृ वियोगमा पर्नु भएकोले वहाँलाई हजुरआमाले हुर्काउनु भयो । वहाँको परिवार  झापामा बसाईसराई पश्चात मित्र रामनाथ दाहालसंगै शिक्षा हासिल गर्नुका साथै बामपन्थी राजनीतिबाट प्रभावित हुँदै अगाडि बढ्ने सिलसिलामा वहाँको उमेर १२ वर्षको हुँदा मित्र रामनाथ दाहालको हत्या भयो । उहाँ सन् १९६६ मा कम्युनिस्ट पार्टीको सदस्यता लिई सन् १९७० मा भूमिगत हुनुभएको थियो । शोषक र जमिनदारहरूको निर्मूल पार्ने नामबाट सुरु भएको झापा विद्रोहमा वहाँको प्रत्यक्ष संलग्नता रहेकोले सन् १९७३ मा पक्राउ परी काल कोठरीसहितको १४ वर्षको जेल सजाय भुक्तान गरी १९८७ मा जेलमुक्त हुनुभयो । सन् १९८९ मा कम्युनिस्ट पार्टी मालेको केन्द्रीय सदस्य हुंदै प्रजातन्त्रको पुनर्बहालीपश्चात सन् १९९१ मा पार्टीको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्षको जिम्मेवारी पूरा गर्नु भयो । नेपाली ईतिहासकै लोकप्रिय मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो । राजनीतिमा स्पष्ट वक्ता र चतुर खेलाडीका रूपमा स्थापित भएतापनि नेकपा एमालेको आठौं महाधिवेशनसम्म वहाँ छायाँमा नै पर्नु भयो। पार्टीको नवौं महाधिवेशनमा झिनो मतले आफ्नो प्रतिद्वन्द्वी वरिष्ठ नेता माधवकुमार नेपाललाई हराई अध्यक्ष भएपश्चात भने नेकपा एमालेमा वहाँको प्रभाव वजनदार हुन थाल्यो ।
दश वर्ष लामो माओवादी जनयुद्धपश्चात भएको पहिलो संविधान सभाको निर्वाचनमा पार्टीको सर्मनाक हार भएपनि अनेकौं जातिय राज्यको मागलाई समाधान गरी देशलाई जातीय द्वन्द्वबाट बचाउनुमा वहाँको महत्वपूर्ण भूमिका रह्यो । दोस्रो संविधान सभाको निर्वाचनमा पार्टी संसदमा दोस्रो ठूलो दल हुन सफल भएपछि नेकासंगको आधी-आधी अवधिको लागि सरकार चलाउने सहमति भयो । तर नेपाली कांग्रेसले धोका दिएकोले नेकपा माओवादीको सहयोगमा पहिलोपटक सन् २०१५ मा उहाँ प्रधानमन्त्री हुनु भयो।संविधान निर्माणको क्रममा छिमेकी भारतको हित अनुसारको सल्लाह नमानेकोले नाकाबन्दीको सामाना गर्नु पर्यो। नेपाली जनताको अपार समर्थन र धैर्यताको साथै वहाँको चट्टानी अडानले नै भारत नाकाबन्दी फिर्ता लिन बाध्य भयो। भुपरिवेष्ठित देश भएकोले बारम्बार भारतबाट नाकाबन्दीको पिडामा नेपालीले तडपनु नपरोस् भनेर उत्तरी छिमेकी चीनसंग सम्पन्न भएको ब्यापार तथा पारवहन सन्धि नेपालको इतिहासमा ‘ऐतिहासिक’ छ।
 पहिलो प्रधानमन्त्री कालमा देखाउनु भएको राष्ट्रिय भावना र नेकपा माओवादी पार्टीसंगको सहकार्यले गत संसदीय निर्वाचनमा झन्डै दुई तिहाई प्राप्त गरी दोस्रोपटक प्रधानमन्त्री भएपश्चात सारा नेपालीमा देश विकास, सुशासन र सम्बृद्धिको गहिरो आसा छ। हुनत शताब्दीओैँ देखिका विकृति र अस्त व्यस्तताबाट सजिलै र छिट्टै छुटकारा पाउन सम्भव छैन । तथापि नयाँ संविधानले आदेश दिएका आधारभूत कानुनहरुको निर्माण र पुरानै तरिकाले सासन संचालन गर्दै केही ठूला सपनाहरु देखाउनु बाहेक खासै गर्व गर्न लायक काम भएको देखिंदैन। नेपाली जनताको मन जित्न लामो समय लाग्दैन भन्ने कुरा त स्वर्गीय नेता मनमोहन अधिकारीले विभिन्न ब्यवधानको बाबजुद पनि आजभन्दा २५ वर्ष अगाडि पुष्टी गरिसकेका छन् ।
दोस्रो कार्यकालको अवधि आधाभन्दा बढी गई सकेकोले बांकी समयमा पार्टीले निर्वाचनको समयमा बाचा गरेका प्रतिबद्धताहरुमध्ये महत्वपूर्ण र सम्भव भएजति पूरा गर्दै कुनै आर्थिक भार नपर्ने सुसाशनको पक्षमा जनतालाई अनुभूति हुनेगरी काम गरेमा मात्रै आगामी संसदीय निर्वाचनमा नेपाली जनता समक्ष जाने बाटो खुल्दै जानेछ। आफैँले बेला बेलामा मेरो नाफाको जिन्दगी हो भन्नुहुन्छ के यो हजुरको अन्तरआत्माको नै आवाज हो भने आफ्नो पार्टी,आफ्नो समूहभन्दा धेरै माथि उठेर नेपाल र नेपाली जनताको सर्वोपरी हितमा मात्रै आफ्नो ध्यान केन्द्रित गर्नु पर्ने होइन र ? विभिन्न अनियमिततासंग जोडिएका विषयहरुमा नेपाली जनतालाई चित्तबुझ्दो र भरपर्दो जवाफ दिंदै सम्बन्धित निकायहरुलाई सत्यतथ्य पत्ता लगाउन सहयोग गर्नुको सट्टा न्यायमूर्ति झै विवादित विषयहरुलाई सुनपानीले चोख्याउने  प्रयास गर्नु  हुन्छ ?  भनिन्छ फलेको रूखको  हांगा निहुरिए झैँ हजुरले पनि उच्च पदको गरिमालाई बचाउँदै आफ्ना आलोचक नै किन नहुन् ओठै जवाफ फर्काई रहनुभन्दा सकारात्मक आलोचनाहरु छन् भने त्यसलाई ग्रहण गर्दै अन्यमा मौन बस्दा नै हजुरको कद उँचो हुदै जान्छ ।
 हाल कोरोना भाईरस (कोभिड १९) ले सारा विश्वलाई मानवीय र आर्थिक रूपमा नराम्ररी प्रभावित पारिरहेको परिप्रेक्ष्यमा हाम्रो देश नेपाल पनि यसबाट अछुतो छैन। हालसम्म न्यून मानवीय क्षति र थोरै संख्यामा मात्रै संक्रमण कायम राख्न सक्नु हजुरको सरकारको सफलता हो भने अझै यस रोगको जटिलतालाई गहन मनन् गर्दै तयारी ब्यापक र प्रभावकारी बनाउन जरुरी छ । यसको आलावा विदेशमा समस्यामा परिरहेका गैरआवासीय नेपाली युवा युवतीहरूको सम्भव भएसम्म उद्दार गर्नु अत्यावश्यक छ ।
भारतले  सन् १९६२ देखि भारत र चीन युद्धपश्चात सुगौली सन्धिको  १८१६ को धारा ५ ले कायम गरेको नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक अनधिकृत रूपमा कब्जा गरी कालापानीमा सैनिक राखिरहनुमा विभिन्न कारणहरु हुन सक्छन्। राजतन्त्र सकृय रहेको अवस्थामा राजतन्त्र जोगाउने रणनीतिदेखि बहुदलीय ब्यवस्थाको आगमनपश्चात पार्टी स्वार्थ र कार्यकारी प्रमुखको पद संरक्षण गर्नु समेत होलान् । नेपालको राजनीति अस्थिर हुंदा मात्रै आफ्नो कुत्सित स्वार्थ पूरा गर्न सकिन्छ भन्ने सोचबाट ग्रसित भारत लामो समयसम्म सफल भएतापनि विसं २०७२ को नयाँ संघीय गणतान्त्रिक संविधानको निर्माणपश्चात भने असफल हुँदै आएको छ । जसको फलस्वरुप झन्डै दुईतिहाइ बहुमत हासिल गरी नेकपाले सरकार चलाईरहेको छ। लामो समयदेखि थाँती रहेको सीमा विवाद समाधान गर्नुको सट्टा गत साल भारतले नेपालको अखण्ड भूभाग समेटेर राजनीतिक नक्सा जारि गरेपश्चात कुटनीतिक माध्यमबाट समस्या समाधान गर्ने प्रतीक्षामा रहेको नेपालको सदासयतालाई लत्याउँदै चीनको मानसरोवरसम्म जाने निर्माणाधीन सडक उद्घाटनले विषयलाई झन जटिल बनाएको छ। विभिन्न राजनीतिक दल, दलका नेताहरु र सामाजिक अभियन्ताहरुले भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ नक्सा जारी गर्न जोडदार माग गरिरहेकोमा सोही अनुरुप नक्सा बनाई मन्त्रिपरिषदबाट पास गरी संविधानको समेत संसोधन गरी आवश्यक ठाउँहरूमा नेपालको नक्सा सच्याईनेछ भन्ने सरकारको प्रतिवद्दता सुन्न पाउँदा मात्रै सारा नेपालीहरु आ-आफ्नो असीमित खुशी विभिन्न माध्यमबाट ब्यक्त गरिरहेका छन् । यहाँ मनन् गर्नु पर्ने अर्को महत्वपूर्ण पक्ष के पनि हो भने नेपाल सरकारले जारी गरेको नयाँ औपचारिक नक्सा आगामी संसदीय निर्वाचन हुन बांकी  करिब तीन वर्ष सम्ममा पनि नक्सामा मात्रै सीमित भयो भने हजुर र हजुरको पार्टीले फलाक्दै आएको राष्ट्र प्रेमको नारा नै स्वयम गलपासो बन्न सक्ने खतरालाई पनि समयमा नै विचार पुर्याउनु पर्ला ।
 सम्माननीय प्रधानमन्त्रीज्यू हजुरले आवश्यक कुटनीतिक माध्यमबाट यस सीमा समस्याको समाधान गरी नेपाली भूमि फिर्ता गर्दै संसोधित नेपालको नक्सालाई संधैको लागि विवादरहित बनाउन र भविष्यमा पुनः यस्ता विवादहरू हुन नदिन नेपाल-भारतको सीमा ब्यjस्थापन गर्न सीमामा कांडेतार वा बार लगाउन सफल हुनुहोस् । साथै यदि हजुरको वरिपरि कुनै स्वार्थी ब्यक्ति वा समूहहरु छन भने तिनीहरुको पहिचान गरी तिनीहरूलाई बिस्थापन गर्न नेपाल भित्र वा संसारभरि छरिएर रहेका योग्य र क्षमतावान नेपालीहरूलाई अवसर दिंदै हजुरको सुखी नेपाली सम्बृद्ध नेपाल भन्ने नारामा सामेल गराउँनु भयो भने हजुरको नाम नेपाली ईतिहासमा युग पुरुषको रुपमा युगौँयुग सुनौला अक्षरले रङ्गिने छन् ।

विदुर खत्री

अधिवक्ता खत्री एनआरएनका विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री