नेपाल सरकारद्वारा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्शा पारित

नोट यो नक्शा नेपाल सरकारबाट जारी आधिकारिक नभई सम्भावित मात्र हो ।

काठमाडौँ । नेपाल सरकारले नेपालको कालापानी, लिम्पुयाधुरा र लिपुलेक क्षेत्र समेटिएकाे नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित गरेको छ ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री  डा.युवराज खतिवडाले साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपालकाे नक्सा अद्यावधिक गरेकाे बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो प्रस्ताव परिषदमा ल्याएकोमा परिषद्ले पारित गरेको साेमबार साँझ आयाेजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले जानकारी  दिए ।

याे नक्साले नेपालकाे उत्तरी, पूर्वी, दक्षिणी, पश्चिमी अन्तर्राष्ट्रिय सीमाहरूसहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेकाे उनले बताए । उनका अनुसार याे नक्सा नेपालकाे सबै किसिमका प्रशासनिकलगायत सबै प्रबन्धहरूमा प्रयाेग गर्ने गरी सरकारले निर्णय गरेकाे हाे । ”याे नक्सामा नेपालकाे सङ्घीयताअनुरूपका प्रदेश तथा स्थानीय तहहरूसमेत समेटिएका छन्” मन्त्री खतिवडाले भने, ”याे नक्साबमाेजिम निशानछाप, सरकारी कामकाजमा प्रयाेग हुने नक्साहरू, विद्यालयमा पढाइ हुने पाठ्यपुस्तकहरू र सबै सार्वजनिक प्रयाेगमा ल्याइने नेपालकाे नक्सा अद्यावधिक हुनेछन् ।”

नेपालकाे पश्चिमी सीमामा रहेकाे लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेपछि त्यसको सर्वत्र विरोध भएकाे सरकारले यस्ताे निर्णय गरेकाे हाे । यसअघि सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पनि भारतद्धारा मिचिएको भूमिसमेत समेटेर नेपालको नक्सा अद्यावधिक गर्ने प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री