स्वास्थ्यमन्त्रीलाई पूर्वस्वास्थ्यमन्त्रीको सुझाव : ‘स्वास्थ्य सेवा पुनर्संरचना गर्ने अभूतपूर्व अवसर छ, नचुकाउनुस्’

गगनकुमार थापा । तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोभिड महामारीको चुनौतीसँगै नेपालको स्वास्थ्य क्षेत्रको आमूल रूपान्तरणका लागि अवसर आएको भन्दै त्यसलाई नचुकाउँन सुझाव दिएका छन्। थापाले बुधबार स्वास्थ्य मन्त्रालयमा प्रत्यक्ष भेट गरेर छलफल गरी बिहीबार लिखित रूपमै कोभिड नियन्त्रणका लागि तत्काल गर्नुपर्ने काम र नीति तथा कार्यक्रम र आगामी बजेटमार्फत् स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि गर्नुपर्ने कामसम्बन्धी सुझाव दिएका हुन् ।

थापाले आफ्नो छोटो कार्यकालयमा स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि गरेको प्रयत्न पूर्णता पाएको भए अहिलेको महामारी सामना गर्नसक्ने अवस्था आउने विश्वाससमेत व्यक्त गरेका थिए । ‘माननीयज्यूले आफू मन्त्री रहँदा सुरु गरेको धेरै कुरा अलपत्र परेकै कारण अहिलेको महामारी सामना गर्ने सामर्थ्य अभाव देखिएको भन्दै त्यसलाई अगाडि बढाउन वर्तमानमन्त्रीसँग आग्रह गर्नुभएको हो’ मन्त्रालयका एक उच्च अधिकारीले भने । ती अधिकारीले ढकालले थापाले दिएको सुझावलाई ध्यानपूर्वक सुनेको र आफूले यी सुझावलाई मनन गर्ने वचन समेत दिएको बताए ।

मन्त्रालयमा बुझाएको सुझावमा उनले सुरुमा कोभिड महामारी अझै लामो समयसम्म चल्ने र थप समस्या र जटिलता आउँनसक्ने भन्ने सोच राखेरै परीक्षण विस्तार, परीक्षण सामग्री र पिपिईलगायतको पर्याप्त मौजादमा ध्यान पुर्याउन आग्रह गरेका थिए । उनले तत्काल काठमाडौ र सातै प्रदेशमा हरेका मेडिकल कलेज वा निजी अस्पताललाई लिएर कोभिड अस्पतालको रूपमा विकास गर्न र अहिलेका अस्पतालहरूमा सेवा नियमित गर्नसमेत सुझाव दिएका छन् । नियमित जनस्वास्थ्य सेवाहरू खोप पोषण कार्यक्रम, दीर्घरोगको उपचार प्रभावित हुन नदिने अवस्थाको सुनिश्चितता र विदेशबाट आएका नेपालीको परीक्षणका लागि पनि तयारी रहन सरकारसँग अग्राह गरे ।

आगामी नीति तथा कार्यक्रम र बजेटतर्फ भने उनले स्वास्थ्य सेवालाई बेडभन्दा सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने, स्थानीय तहदेखि केन्द्रसम्म पर्याप्त मात्रामा प्रयोगशाला स्थापनामा समेत थापाले जोड दिए । थापाले स्वास्थ्य सेवासम्बन्धी छुट्टै ऐनको व्यवस्था, जनस्वास्थ्य ऐनअनुसारका नियमावली र संरचना निर्माण निर्माणमा समेत जोड दिए । थापाले आफूले मन्त्रालय सम्हाल्दाका समयमै आपतकालीन स्वास्थ्य सेवाका लागि बेग्दै युनिट र रोग नियन्त्रण केन्द्रको परिकल्पना गरेर काम अगाडि बढाएको भन्दै आगामी बजेटमा त्यसलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

औषधीका सन्दर्भमा स्वदेशी औषधी उत्पादन प्रवर्द्धन र आत्मनिर्भर नभएका औषधीमा जिटुजी प्रक्रियाबाट खरिद गर्ने दीर्घकालीन काम थाल्न उनको सुझाव थियो । सामान्य अवस्थामा र महामारीका सन्दर्भमा पनि स्वास्थ्यसेवाका लागि गैरसरकारी क्षेत्रसँग साझेदारीको मोडल अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री