बेलायतमा कोरोनाले आक्रान्त हामी ‘केयरर’

रिता डोटेल

‘हेलो, रितु के छ ? सन्चै छौं ?’

‘कस्तो छ तिम्रो केयर होममा ? म त तिमीलाई सम्झेर तिम्रोमा कस्तो छ भनेर कल गरेकी नि । मेरोमा त हेरन कस्तो टेन्सन भाको छ, कोरोनाले बुढाबुढी मरिराछन् । काममा जान पनि डर लागिराछ । आज त बिरामी छु भनेर छुट्टी लिएं तर सधैं यसो गर्न नि नमिल्ने । तिमी गएकी छौ कि छैनौं ?’

यो मेरी साथी रितुकै कल थियो। उनी एउटी उदाहरण हुन् । यसैगरी धेरै यस्तै फिल्डमा काम गर्ने साथीहरुले फोन गरेर सोध्ने गर्छन्, ‘के छ तिम्रोमा ?’ भनेर अनि मेरो जवाफ हुन्छ ‘अहिलेसम्म सब ठीक छ भोलिको कुरा के हुने हो ?’

सबैको गुनासो उही । ‘काममा कोरोना संक्रमण फैलेको छ ।’ ‘तनाव भाछ काम छोड्दिम कि’ आदि इत्यादि । मेरो काममा केही संक्रमण छैन् र त म पनि कति तनावमा हुन्छु भने उहाहरुको तनाव म सहजै अनुभूति गर्न सक्छु । संक्रमणले तर्साएको शुरुवाती दिनहरुमा म पनि यति त्रसित भएं कि घरमा छुट्टै बेड लगाउन तयार भएं । तर, कहिले घरमा हुँदाका समय (उसलाई बच्चैमा छंदा राति छोडेर काम पनि गरेकै हो) सुत्नेबेला काख नछोडेकी मेरी छोरीको बिलौना सहन गाह्रो परयो । जे होला संगसंगै भोगौंला भनेर बेड छुट्टयाउने सोच त्यागिदिएं ।

तर काम छोडौं अथवा कुनै बहानामा छुट्टी लिएर बसौं भन्ने सोच मेरो दिमागमा कहिले आएन । साथीहरुलाई पनि सम्झाएर हौसला दिने गरिराको छु। यस्तो कठिन परिस्थितिमा काम गरिरहंदा आफन्त, साथीभाई तथा इष्टमित्रका फोन कल तथा सन्देशहरुले छुट्टै उर्जा थप्ने काम गर्छ। जस्तो कि ‘आफ्नो ख्याल गर है’ । हातमा तातो पानीको गिलास नछुटाउनु । कामको भारले अलिकति थाकेको शरीरको तापक्रमसंग डराएर त कतिपटक तापक्रम नापें नापें तर त्यसो भन्दैमा आत्मवल चाहिं कत्ति गुमाएकी छैन् । किनकी मैलै धेरै अस्पतालमा अग्रपंक्तिमा रहेर काम गर्नुहुने नेपाली नर्स दिदीबैनीहरूका कोरोना पोजिटिभको अनुभव र उहांहरूको साहसका कथा दिनहुँजसो पढिराखेकी हुन्छु

। उहाँहरुको आत्मबल नै भाइरसलाई जित्नुको मुख्य कारण हो रै’छ भन्ने बुझिराखेकी छु। उहांहरुको अगाडि त हामी धेरै सुरक्षित रहन सक्छौं । किनकी हामी त्यसरी अस्पतालमा जस्तो बिरामीसंग नजिक रहनु पर्दैन र पुराना दिनमा भन्दा पीपीइको प्रयोगमा अलिक ज्यादा ध्यान दिए पुग्छ।

मैले स्वास्थ्य क्षेत्रको जोखिमलाई तीन समूहमा विभाजन गरेर हेरेकी छुः

१. सरकारी अस्पताल (एनएचएस)

२. नर्सिङ होम

३. रेसिडेन्सियल केयर होम

अहिलेको परिस्थितिलाई नियाल्दा अस्पताल अति नै संक्रमणको जोखिम केन्द्रको रूपमा पाएं । नर्सिङ होम दोस्रोमा पर्छ । त्यो कसरी भने मेरो अनुभवअनुसार नर्सिगं होमबाट बिरामीलाई विभिन्न बाहानामा अस्पताल लगिराख्नु पर्ने हुंदा सुरूका दिनहरुमा चालै नपाई कोरोना भित्रिन पुग्यो । अनि एकपछि अर्को हुंदै बिरामी तथा स्टाफमा फैलिंदै गयो । स्टाफ त धेरै हदसम्म निको भएर फर्कन सफल भैराखेको पाएको छु तर विडम्वना ती अन्तिम क्षण गुजार्न बसेका वृद्धवृद्धालाई यो संक्रमणसंग लड्न अलि गाह्रो परयो । म चाहिं तेस्रो नम्बर यानिकी रेसिडेन्सियल होममा काम गर्छु । उनीहरु उमेरले बुढा पनि छैनन् र शारिरीक रुपमा पनि तन्दुरुस्त छन् । हिंड्न, चल्न, खान साधारण नै हुन्छन् । धेरैजसोसंग त शुरुमा देख्दा मै झुक्किएकी थिएँ स्टाफ हुन् कि ‘रेसिडेन्ट’ हुन् पत्ता लगाउन नसकेर । उनीहरु आफ्नो दैनिक क्रियाकलाप हामी साधारण मानिसले जस्तो गर्न सक्दैनन् । उनीहरुलाई कसै न कसैको सहारा चाहिन्छ । हाम्रो काम भनेको उनीहरुलाई दैनिक जीवनयापनको लागि सहारा दिने हो। म आफैं पनि सेवाको भावना राख्ने स्वभावकी हुनाले केयर होममा काम गर्न औधी मन पर्छ। त्यसैले होला अहिलेको जस्तो विषम परिस्थितिमा पनि कामसंग हार खाएकी छैन् ।

प्रसासनका कर्मचारी सबैलाई विश्वब्यापी तालावन्दीले छोपेको अवस्थामा एक मेनेजर मात्र हामीसंग हातेमालो गर्दै हौसला बढाउन लागि पर्छन् । तर कुनैबेला उही मेनेजरको पनि अनुपस्थिती खेप्नुपर्दा कामको बोझ थपिएको महशुस हुनेगर्छ । जस्तोकी आएका फोन कल रिसिभ गरी त्यसको जानकारी लिई सम्बन्धित ठाउंमा पुर्याउनु, यतिबेला आउने धेरै जसो फोन कामको खोजीका हुने गर्छन् । यस्ता फोनहरु उठाउँदा लाग्छ मेरो त काम छ हेर त कति छन् दिनदिनै कामको खोजीमा भौतारिनेहरु । सरकारलाई  कर तिरेर काम गर्नेहरुलाई त ऐले पनि सरकारले ‘फर्लो’ दिएको छ । तर, कतिपय यसरी काम गर्न सम्भव नभएका अथवा सम्भव भएरै पनि बिभिन्न कारण बस अन्य तरिकाद्वारा आयआर्जन गरी जिबिको चलाऊनेहरुको पीडा म राम्ररी बुझ्न सक्छु र त म यो बिकराल परिस्थितिमा पनि मेरो कामलाई सम्मान गर्छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री