काठमाडौँ । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीको स्वदेश फिर्ता गर्न थप परामर्श थालेको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मङ्गलबार खाडी तथा अफ्रिकी मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग त्यस बारेमा भर्चुअल परामर्श गरेका छन् ।
उनले विभिन्न मुलुकबाट नेपालका नागरिक फिर्ता ल्याउनुपर्ने अवस्था छ, कसरी कुन प्रक्रियाले फिर्ता ल्याउन सकिन्छ पहल सुरु गर्नुहोस् भनी त्यस क्षेत्रका राजदूत तथा नियोग प्रमुखलाई निर्देशन दिएका थिए ।
परराष्ट्र मन्त्री ज्ञवालीले त्यहाँको सरकारसँग नजिक रहेर थप प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिए । त्यस्तै कोभिड–१९ को महामारीका कारण विभिन्न समस्यामा परेका नेपालीको समस्या समाधानका लागि प्रयत्न गर्न पनि उनले आग्रह गरे ।
अन्य देशमा नियमित रोजगारीको समय सकिएर फर्कने अवस्थाका, वार्षिक बिदाको अनुमति लिइसकेका, बिरामी परेका र आफन्त भेट्न गएका परिवारका सदस्य लगायतका नेपालीलाई कसरी फर्काउने भन्ने विषयमा मन्त्री ज्ञवालीले राजदूतसँग परामर्श गरेको मन्त्रालयस्थित मध्यपूर्व तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले जानकारी दिए ।
साउदी अरब, कतार, कुवेत, यूएइ, बहराइन ओमान लगायतका देशमा नेपालीको वास्तविक अवस्थाको यकिन तथ्यसहित मन्त्रालयलाई बुझाउन पनि मन्त्री ज्ञवालीले अनुरोध गरेका दिए । हाल आइरहेको तथ्याङ्क गैरआवासीय नेपाली सङ्घले दिने तुलनामा निकै कम आइरहेकाले मन्त्री ज्ञवालीले सचेत गराए ।
‘भर्चुअल’ अन्तक्रियामा राजदूतहरु शर्मिला पराजुली, डा. अञ्जान शाक्य, झविन्द्र अर्याल, कृष्णप्रसाद ढकाल, नारद भारद्वाज, पदम सुन्दास, महेन्द्रप्रसाद सिंह, उदयराज पाण्डे, गोमा भण्डारी र जेद्दाहका कार्यवाहक महावाणिज्य दूत रेवतीरमण पौडेल सहभागी थिए ।
मन्त्रालयबाट मन्त्री ज्ञवालीसहित परराष्ट्र सचिव शङ्करदास बैरागी तथा विभिन्न देश हेर्ने महाशाखा प्रमुख सहभागी थिए ।