नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेकोमा एनआरएनएद्वारा भर्त्सना


काठमाडौं । भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भत्सर्ना गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तले सोमबार सीमा मिच्ने भारतीय हेपहा प्रवृत्तिको विरोधमा भत्सर्ना गरेका हुन । ‘यसअघि पनि भारतले एकतर्फी रुपमा नेपाली भू भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधीको संघ कडा भत्सर्ना गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।
भारत सरकारको पटक पटकका यस्ता कदम अन्तर्राष्ट्रिय कानून विपरित तथा नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको संघको ठहर छ।

प्रेस विज्ञप्ती

भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको बारे गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको छ। यसअघि पनि भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधीको संघ कडा भत्सर्ना गर्दछ। भारत सरकारको पटक-पटकका यस्ता कदम अन्तर्राष्ट्रिय कानून विपरित तथा नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको संघको ठहर छ।

सयौँ वर्ष पुरानो सीमा विवाद कुटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनुको सट्टा ऐतिहासिक सुगौंली सन्धी लगायतका दस्तावेजमा स्पष्ट रुपमा उल्लेख गरिएका नेपाली भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति विश्वभर छरिएर रहेका हामी लाखौँ नेपालीहरु रोष प्रकट गर्दछौँ।

भौगोलिक, धार्मिक, सांस्कृतिक, र भाषिक रुपमा परापूर्व कालदेखि निकट दुई छिमेकी राष्ट्रबीच सदैव प्रगाढ र सौहार्दपूर्ण सम्बन्ध रहोस् भन्ने हामी सम्पूर्ण नेपालीको चाहाना हो तर त्यही आडमा नेपाली सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने कार्यको हामी निन्दा गर्दछौँ। भारतीय भूमिको रक्षार्थ हाम्रा वीर नेपाली गोर्खाली सपूतले योगदान गरेको इतिहास साक्षी छ, यसर्थ हर एक नेपाली आफ्नो भूमिको रक्षार्थ ढाल भनेर उभिने र त्यसका लागि विश्वभर छरिएर रहेका नेपालीहरुले ऐक्यवद्धता जनाउने स्पष्ट पार्न चाहान्छौँ।

नेपाली हामी सदैव सावैभौमिकताको सम्मान गर्दछौँ र हाम्रा छिमेकी मुलुकले समेत सोही सम्मानको भाव प्रकट गरोस् भन्ने अपेक्षा राख्दछौँ, यसर्थ सीमा सम्बन्धि यस विषयलाई राजनीतिक र कुटनीतिक संवादको माध्यमबाट तत्काल टुंगोमा पुर्याउन ठोस कदम चाल्न सम्बन्धित सरकारको ध्यानाकर्षण गराउँदछौँ। साथै देशको भौगोलिक अखण्डताजस्तो गम्भीर विषयमा नेपाल सरकार र नेपाली दाजुभाई दिदीबहिनीले चाल्ने हरेक सकारात्मक कदममा हामी गैरआवासीय नेपालीहरु ऐक्यवद्धता व्यक्त गर्दछौँ।

अन्त्यमा, नेपालको भूमि (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरी जारी गरेको नक्सा सच्याउन तथा सीमामा तैनाथ भारतीय सेना अभिलम्ब फिर्ता गरी उच्च स्तरीय राजनीतिक एवं कूटनीतिक वार्ताको माध्यमबाट जारी सीमा विवाद समाधान गर्न जोडदार माग गर्दछौँ।

कुमार पन्त, अध्यक्ष, गैरआवासीय नेपाली संघ

११ मे २०२०

प्रतिक्रिया

सम्बन्धित सामाग्री