शुक्रबार, साउन २३ २०७७ | Fri, August 07, 2020
नेपालको समय: ०९:४० | UK Time: 04:55

बुद्धभूमिको भ्रमण

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७७ वैशाख २५ गते १३:१७

 

सासूआमाको दाहसंस्कारपछि अस्तु बाँकी राखिएको रहेछ । भाइ इन्दुले लन्डनमा घरको बगैचामा एउटा चिबा बनाउने र त्यहा“ आमाको अस्तु राख्ने र हामीले पनि ठैबको घरमा चिबा बनाउने सल्लाह गर्याै । आमाको अस्तु कुनै बुद्धभूमिमा लग्ने कुरा भयो । मिनु र म बोधगया, सारनाथ, कुशीनगर र लुम्बिनी जाने भयौ । एकचोटि नमोबुद्धमा पनि जाने कुरा भयो र निलु दिदी, विश्व दाइ, राजेश र हामी त्यता गयौ ।
सन २०१८ को फेब्रुअरी १३ गते रातिको बसबाट हामी वीरगन्ज हिड्यौं । भोलिपल्ट बिहान ५ बजेतिर रक्सौल पुग्यौ र रेलबाट पातलीपुत्र हुदै गया गयौ । स्टेसनको अगाडि एउटा गुलाबको फूल किनेर मिनुलाई दिएर भ्यालेनटाइन डे भनियो । बेलुकी ८ः३० तिर बोधगया पुग्यौ । अस्तु घरभित्र लान नमिल्ने हुँदा सिधैं बोधगया पुग्नुपरेको थियो । त्यहाँ नमोबुद्धका एकजना लामासँग भेट भयो र अस्तु उनैलाई जिम्मा दियौं । उहाँले नै नजिकैको होटल लुम्बिनीमा बासको प्रबन्ध गरिदिनुभयो । भोलिपल्ट बिहान नुहाइधुवाइ गरेर बोधगया स्तूपमा गयौ । बौद्ध परम्पराअनुसार विधिवत् पाठ पढेर आमाको अस्तु त्यहींको पोखरीमा बगाइदियौं । त्यहाँबाट हामी सारनाथ जाने टिकट मिलाउन ट्राभल अफिसमा पुग्यौं । गयाबाट रातिको टिकट मिलाएर हिड्यौं । मेरो आमाको पिण्ड दिने कुरा पनि थियो ।

टिकट मिलाउने मान्छेले पितृको पिण्ड दिने सबैभन्दा उत्तम ठाउँ भनेर विष्णुपद पीठ भनेकाले त्यहीं गयौं । बालुवा मात्रै देखिने समुद्र रहेछ । पिण्ड दिनका लागि अरु धेरै मान्छेहरु पनि आएका रहेछन् । स्थानीय ब्राह्मणहरुसँग भेट भयो । नेपालीमूलका तर लामो समयदेखि त्यही बसोबास गर्दै आएका रहेछन् । अचम्मको चलन के देखियो भने, पूजापाठ सबै बाहुनले सकाएपछि अन्तिममा आशीर्वाद लिन पाण्डाकोमा जानुपर्ने र दक्षिणा दिनै पर्ने रहेछ । त्यहाँ माथि सबै बालुवा देखिए पनि भित्र बाट पानी बग्छ भन्ने गरेको पाइयो । अलिकति खनेपछि पानी पनि भेटियो । पानी जम्मा गर्नका लागि ड्रम पनि राखेको देखियो । सीताको सराप लागेर पानी सुकेको र भित्रभित्रै मात्र बगेको भन्ने पौराणिक कथन रहेछ । बुद्धले ध्यान गरेको बोधिवृक्षसँगै ठूलो स्तुपा बनाइएको बोधगया बौद्धधर्मावलम्बीहरुका लागि पुग्नै पर्ने स्थल हो । बुद्धले ज्ञान प्राप्त गरेको बोधगयामा संसारभरिका बुद्धधर्मीहरु आस्था राख्नेहरु आउने गर्दछन् । फरकफरक देशका भिक्षुहरुले फरकफरक पोसाक लगाइने कुरा त्यहाँ पुगेर मात्र थाहा भयो ।
फेबु्रअरीको १५ को राति १ बजे रेलबाट हामी बाराणसीको बिचमा अवस्थित विष्णुको मन्दिरमा लामो लाइन बसेर पूजा गर्न पुग्यौं । मन्दिर खुलेपछि बन्द नभएसम्म साह्रै नै व्यस्त रहने रहेछ । हिन्दुहरुका लागि महत्त्वको थलो भएकाले पनि होला जहिले पनि व्यस्त नै हुने । त्यहाँबाट टेम्पो लिएर हामी सारनाथ पुग्यौं । बुद्धले ज्ञान प्राप्त गरिसकेपछि पहिलोचोटि पाँचजना शिष्यलाई शिक्षा दिएको स्थान भनेर यो ठाउँ परिचित छ । अजंगका भग्नावशेषहरु रहेको सारनाथमा विश्वभरिका बुद्ध अनुयायहीरुको भिड हुने गर्छ । त्यहाँको एउटा स्तूपमा बुद्ध जन्मेको, ज्ञान पाएको, पहिलो प्रवचन दिएको र मोक्ष प्राप्त गरेको स्थल भनी, क्रमशः लुम्बिनी नेपाल, बोधगया, सारनाथ र कुशीनगर भनेर स्पष्ट लेखेको देखियो । राजनैतिक रुपमा फाइदा लिन चाहने भारतीयबाहेक अन्य भारतीयहरुलाई बुद्धको जन्मस्थानबारे भ्रम रहेनछ भन्ने लाग्यो ।
त्यही राति उत्तरप्रदेश राज्य सरकारले सञ्चालन गरेको बसबाट हामी गोरखपुर हिड्यौं । यो बस यति पुरानो र कारुणिक थियो कि नेपालमा २० वर्ष पहिले चलेका बस बरु राम्रा सुकिला थिए । तर बस भने बेजोडले कुदाउने रहेछ । हावाले गर्दा साह्रै चिसो भयो, सुत्ने कुरै भएन । बिहान गोरखपुर पुगेपछि रेल्वेनजिकैको होटलमा केही समय आराम गयौं र घुम्यौं पनि । दिउँसो २ बजे बसबाट कुशीनगर पुग्यौं । त्यहाँ पुगेपछि अर्कै अनुभूति भयो । राज्य सरकारले पर्यटकीय स्थलहरुमा आफैंले होटल सञ्चालन गर्ने गर्दो रहेछ । हामी त्यही पथिक होटलमा बस्यौं । राम्रो व्यवस्थापन थियो त्यहाँ । सबै सहयोगी देखिन्थे, एकछिनको आरामपछि पैदलयात्रामा बुद्धले परिनिर्वाण प्राप्त गरेको स्थानसम्म पुग्यौँ। सघन वातावरण, शान्तिको अनुभव गर्न पायौं । तीन घण्टा जति बसेर विभोर भयौं, बाहिरतिर चियाका पसलहरु लहरै थिए । केही खाजा पनि खायौं । भोलिपल्ट बिहान पनि फेरि हिडेरै पुगेका थियौं । मिनुले लामै ध्यान बस्यो । यो ठाउँ चुम्बकीय शक्ति भएको स्थानजस्तो अदृश्य उर्जा चारैतिर फैलिएको सहज अनुभव हामीले गरेका थियौं । म भने बाहिर आएर चिया पसलेसँग कुरा गरिबसेको थिए ।
पसले रोजगारीका लागि केही वर्ष इराकतिर गएका रहेछन् त्यहाँबाट फर्केर २० वर्षदेखि यही चिया पसल चलाइरहेका रहेछन् । भएका दुई छोराहरुलाई राम्रो शिक्षा दिने प्रण गरेका रहेछन् । मैले साटेको पैसा सकिएकोले नजिकै एटीएम छ कि भनेर उनलाई सोधे तर नभएको बताएपछि के गर्ने होला भन्ने मेरो अन्यौलता देखेर उनले १ वा २ सयले हुने भए लैजानु भनेको सुन्दा तीन छक्क परे । अब भेट कहिले होला ? यसअघि कहिल्यै देखभेट नभएको मान्छेले त्यो पनि भारतमा यस्तो घटना घट्नु आश्चर्य थियो । कस्तो सहयोगी मन रहेछ भन्ने लाग्यो र मनमनै धन्यवाद दिए । मिनु आएपछि सँगै दुवै जनाले चियानास्ता खायौं ।
मिनुसँग कति पैसा बाँकी रहेछ भनेको सबै गनेर ८० रुपैयाँ छ भनेको पसलले सुनेछ । पैसा तिर्ने बेला आजको खाजा मेरा तर्फबाट भयो, पैसा तिर्नु पदैन जानुस् भन्यो । हामीले हुदैन भने पनि उसले चाहिदैन भनिरह्यो । तर हामीले पैसा लिन कर गरेपछि उसले ८० रुपैयाँ भयो भन्यो र हामीसँग भएको सबै पैसा दियौं । जाने बेलामा उसको मोबाइल नम्बर मागेको थिए । पछि काठमाडौं पुगेर फोन पनि गरे । सोचे यस्ता मनकारी मान्छेसँग भेटले यात्रालाई यादगार बनाउने गर्छ, संयोग मिल्यो भने फेरि कुनै दिन भेट होला नै । कुशीनगरबाट गोरखपुर हुदै लुम्बिनी जानुपर्ने थियो, गोरखपुर पुगेपछि ट्याक्सीमा जाने कुरा भयो । पाँचजना सवारी लिएर जाने चलन रहेछ । दुई जना भारतीय थिए, तीमध्ये एकजना महेन्द्र यादवसँग त बेलाबेलामा फेसबुकमा कुराकानी पनि हुन्छ । अर्को एकजना नेपाली रहेछन भारतको पल्लो कुनामा काम गर्ने, मोबाइलमा गीत सुन्दै रमाइलो कुराकानी गर्दै हामीले बाटो कटायौं । राति भैरहवा पुग्दा लुम्बिनी जाने बस चल्न छोडिसकेको थियो । फेरि ट्याक्सीमा जानुपर्ने भयो । चालक पनि रमाइलो रहेछ । पहिले बस चलाउँदा दुर्घटनामा परेर काठमाडौंको अस्पतालमा भर्ना भएको र त्यही काम गर्ने नर्ससँग प्रेम भएर भगाएर लिएर हिडेको घटना सुनाएका थिए ।
कथा सबैसँग हुन्छ, केश काट्ने हजाम, रिक्सावाल, ट्याक्सीवाला सबैसँग रमाइला कथा हुन्छन् उनीहरु भन्न रुचाउँछन् र सेयर पनि गर्छन् । उनको कथा सुनेर बाटो कटेको पत्तै भएन । राति लुम्बिनी मायादेवी मन्दिर नजिकैको होटलमा बास बस्यौं । लुम्बिनी आइपुग्दा त घरै पुगेको जस्तो पो भयो । फरक वातावरणमा आउँनुले पनि सारा थकान मेटिएजस्तो भयो । भोलिपल्ट स्तूपा र मायादेवी मन्दिर दर्शन गर्याैं । त्यहाँको एउटा पुरानो पीपलको रुख काटिएकोमा चिन्ता व्यक्त गयौं । त्यहाँ शान्ति दिदीसँग पनि भेट भयो, जेतवन ओशो आश्रममा पनि गयौ । राम्रो व्यवस्थापन देखियो । सबै निर्माण योजनापछि यो ठाउँ अझै सुन्दर देखिने छ भन्ने लाग्यो । यसरी हामीलाई बुद्धको महत्त्वपूर्ण स्थलहरु एकैचोटि भ्रमण गर्ने अवसर प्राप्त भयो । करिब ६ दिनको दौरानमा हामी धेरै स्थानहरुमा पुग्न सफल भयौ । बिनातयारी जहाँ पुग्यो, त्यही योजना बनाई अघि बढ्ने यात्रा पनि रमाइलो नै हुने रहेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक