कोरोना भाइरसबाट सिर्जित नयाँ रोग कोभिड १९ बाट अहिले विश्व आक्रान्त छ । चीनबाट शुरु भएको यो रोगले अहिले महामारीको रुप लिएको छ र अहिले यसको संक्रमण विश्वभर फैलिसकेको छ । एक तथ्यांकअनुसार यस रोगले हालसम्म छुन बाँकी विश्वमा १५ वटा देश छन् । पछिल्लो समयमा युरोप र अमेरिका यो महामारीको केन्द्र बनेका छन् । ती देशमा बसोबास गर्ने नेपालीहरु पनि यो रोगको शिकार भएका छन् । हालसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी नेपालीहरु यस महाव्याधिको शिकार बनेको मुलुक बेलायत हो । यहाँ यो पंक्ति तयार पार्दासम्म ४० जना नेपालीको यस रोगबाट मृत्यु भएको नेपाली दुताबासबाट पुष्टि भइसकेको छ । यो संख्या अझै धेरै हुनसक्छ । यसरी मृत्यु हुनेहरुमा ८० प्रतिशतभन्दा बढी भूतपूर्व गोरखा सैनिकहरु र उनका परिवार छन् ।
के कारण गोरखा भूतपूर्व सैनिक परिवार यस रोगबाट सबैभन्दा प्रभावित बने त
यस रोगबाट मृत्यु हुनेहरुमा गोरखाहरुको संख्या सबैभन्दा बढी देखिनुको पहिलो कारण उनीहरुको जनसंख्या हो । बेलायतमा बसोबास गर्ने नेपालीहरुमा सबैभन्दा बढी जनसंख्या पूर्व गोरखाहरुकै छ । बेलायतको सबैभन्दा पछिल्लो सन् २०११ को जनगणनाले नेपालीहरुको जनसंख्या करिब ६० हजार देखाएको थियो । तथापि धेरै नेपालीहरु त्यतिबेला अवैधानिक रुपले बसोबास गरिरहेको र एउटै घरमा सरकारले तोकेको मापदण्डभन्दा बढी संख्यामा बसोबास गरिरहेकाले कतिपयले जनसंख्यामा सहभागिता नै जनाएनन् । नेपाली समुदायको अनुमानमा बेलायतभर करिब १ लाख ५० हजार जनसंख्या नेपाली मूलका नेपालीको छ भन्ने छ । जसमा कम्तीमा ७० प्रतिशत हिस्सा गोरखा भूतपूर्व समुदायको भएको मानिन्छ । यसरी जसको ठूलो जनसंख्या छ उनीहरुमा रोगको प्रभाव ज्यादा देखिनु स्वाभाविक नै भयो ।
इंग्ल्याण्ड र वेल्समा कोभिड १९ बाट ५५ वर्ष माथिका मानिसहरु सबैभन्दा बढी प्रभावित भएको यहाँको राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक आँकडा छ । युकेका भूतपूर्व गोरखाहरुको ठूलो संख्या यस उमेर समूहमा पर्छन् । खासगरी बेलायत सरकारको सन् २००८ को निर्णयपछि बेलायत आउने भूतपूर्व गोरखाहरु त अहिले यहाँको सेवा निवृत्त हुने उमेर (६५ वर्षभन्दा बढी) समूहमा पर्दछन् । ६५ वर्ष माथिको उमेर समूहका भूतपूर्व गोरखा र उनीहरुको परिवारको संख्या यहाँ करिब १५ देखि २० हजार रहेको अनुमान गरिएको छ । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरुमध्ये ७० प्रतिशत हिस्सा ७५ वर्ष माथिको उमेर समूहको छ । त्यसैले यो रोगले बयोवृद्धावस्थाको जनसंख्यालाई नराम्ररी असर पार्दा गोरखा भूतपूर्व सैनिक र उनीहरुको परिवार पनि पर्नु सामान्य नै हो ।
बुढ्यौलीसँगै गाँसिएर आउने अर्को समस्या हो कमजोर स्वास्थ्यावस्था । कोभिड १९ ले पहिल्यै विभिन्न स्वास्थ्य समस्या भएका मानिसहरुलाई नराम्ररी थलाउने गरेको देखाएको छ । बेलायतको तथ्यांकअनुसार कोरोना भाइरसबाट मृत्यु हुनेमा सबैभन्दा बढी संख्या पहिल्यै मुटुको समस्या भएकाहरुको छ । त्यसपछि डिमेन्सिया वा अल्जाइमरजस्ता रोगबाट पहिल्यै ग्रसितहरु छन् । पहिले कुनै पनि स्वास्थ्य समस्या नभएकाहरु कमै मात्र कोरोना भाइरसको संक्रमणबाट बितेका छन् । धेरैजसो बुढ्यौली अवस्थाका गोरखा भूतपूर्व सैनिकहरु पहिल्यै कुनै न कुनै स्वास्थ्य समस्याबाट ग्रसित छन् । मधुमेह, उच्चरक्तचाप, कोलेस्ट्रोल, बाथ, दम जस्ता समस्या उनीहरुका साझा समस्या हुन् । त्यसैले उनीहरु कोरोना संक्रमणको जोखिममा पर्ने नै भए ।
बयोवृद्धावस्थाका गोरखाहरु कोरोनाको संक्रमणमा बढी पर्नुको अर्को कारण हुनसक्छ–भाषाको ज्ञान र स्वास्थ्य सेवामा पहुँचको अभाव । बेलायतको जनस्वास्थ्य इंग्ल्याण्ड लगायतका निकायहरुले तयार पारेका कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने उपायहरु समेटिएका सामग्रीहरु सबै अंग्रेजीमै छन् । मूलप्रवाहका सञ्चारमाध्यमहरु सबै अंगे्रजी भाषामै प्रकाशन प्रसारण हुने गर्छन् । जनस्वास्थ्यका विज्ञ, चिकित्सकहरु प्रायको अन्तरवार्ताहरु अंग्रेजीमै छन् । औँलामा गन्न सकिने स्थानीय काउन्सिलहरुले नेपाली भाषामा ती उपायहरु अनुवाद गरेका थिए तर अफसोच ती सामग्रीहरु घरघरमा पु¥याउन नपाउँदै बेलायतमा लक डाउन शुरु भइहाल्यो । लक्षीत परिवारसम्म पु¥याउनै नपाइकन । यस्तै, भाषाको अज्ञानताका कारण कोरोना संक्रमणको लक्षण देखिँदा पनि धेरै गोरखाहरु सम्बन्धित स्वास्थ्य संस्थामा फोन नगरी घरमै बस्न बाध्य भए । आफूमा कोरोनाको लक्षण देखिएको छिमेकी वा आफन्तलाई भन्दा कतै छिःछीः दुरदुर पो भइने हो कि भन्ने चिन्ता यहाँ वृद्धावस्थाका गोरखाहरुलाई मात्र होइन युवा, अधबैँसे नेपालीहरुमा पनि व्याप्त छ । त्यसैले समयमै उपचार नपाउँदा उनीहरु बढी प्रभावित भएका पनि हुन सक्छन् ।
बेलायत सरकारले कोरोना संक्रमणबाट बच्न एकान्तबास (आइसोलेसन) र सामाजिक दुरी (सोसल डिस्ट्यान्सिङ) को अवधारणा ल्याएको छ । यो कसरी र को–कोसित पालना गर्ने भन्ने बारेमा वृद्धावस्थाका गोरखा भूतपूर्व सैनिक र तिनको परिवारलाई बुझाउन नसकिएको देखिन्छ । समाचार संकलनका क्रममा कोरोना संक्रमणका कारण दिवंगत भएका एक गोरखा भूतपूर्व सैनिकको बारेमा बुझ्दा उनको परिवारका सबै सदस्यहरु स्वास्थ्य सेवा र केयर होममा काम गर्दारहेछन् । परिवारका सदस्यहरु कम उमेरका र दैनिक भाइरस संक्रमितहरुसित काम गर्दागर्दा उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने नै भयो । उनीहरुलाई कोरोना संक्रमण जोखिमपूर्ण भएन तर पहिल्यै विभिन्न रोगको औषधि खानपर्ने र उमेर पनि पाको भइसकेका आमाबाबाका लागि यो रोग खतरापूर्ण थियो । उनीहरुले आफ्नै आमाबाबासित घरभित्र सामाजिक दुरी र एकान्तबासको नियम पालना नगर्दा दुवैजना भाइरस संक्रमणमा परे । जसमध्ये बाबाको निधन भयो भने आमा उपचारपछि घर फर्किन् । कोरोनाबाट बच्न आफू घरबाहिर नजाने मात्र होइन आफ्नै घरका सदस्यहरु जो घर बाहिर आउजाउ गर्छन् भने उनीहरुसित पनि अलग्गै रहनुपर्छ ।
वयोवृद्ध अवस्थाबाहेक काम गर्ने उमेर समूहका धेरै पूर्व गोरखा परिवार र नेपालीहरु यहाँ अत्यावश्यक सेवाका क्षेत्रमा काम गर्छन् । अस्पताल, केयर होम, ग्रोसरी, जस्ता बन्द गर्न नमिल्ने क्षेत्रमा काम गर्ने उनीहरुले कार्यस्थलमा अरु मानिससित सम्पर्क गर्नुपर्ने हुन्छ । आवतजावतका लागि सार्वजनिक सवारीसाधनहरु चलाउनु पर्ने हुन्छ । तर अहिले बेलायतमा बितेका नेपालीहरुको संख्या र अत्यावश्यक सेवामा काम गर्ने नेपालीहरुको हिसाको अनुपात केलाउँदा नेपाली समुदायमा भएको क्षतिलाई बढी भन्न मिल्दैन । उदाहरणका लागि बेलायतको स्वास्थ्य सेवामा काम गर्ने नेपालीहरुको संख्या बाक्लो छ । अहिलेसम्म १०० भन्दा बढी यस सेवामा कार्यरत कर्मचारी कोरोनाबाट बितिसकेका छन् । सौभाग्य नै मान्नुपर्छ जसमा नेपालीहरु परेका छैनन् ।
बेलायतमा कोरोना संक्रमणबाट अफ्रिकन र एसिएन मूलका मानिसहरु उनीहरुको जनसंख्याको अनुपातभन्दा धेरै प्रभावित भएको पाइएको छ । यसको पछि के कारण हुन सक्छन् भन्ने बारेमा सर्वत्र चासो छ र बेलायत सरकारले पनि अनुसन्धान गर्ने वचन दिइसकेको छ । त्यस्तो अनुसन्धानबाट निस्किने कारणहरु र नतीजाहरु नेपाली समुदायका लागि पनि कामयावी हुनेछन् ।
अन्त्यमा यदि समयमै भूतपूर्व गोरखाहरुलाई कोरोनाबाट बच्ने उपायहरु उनीहरुले बुझ्ने भाषा, सरल शैली र प्रयोगात्मक हिसाबले देखाउन, बुझाउन र पु¥याउन सकिएको भए केही हदसम्म उनीहरुलाई बचाउन सकिन्थ्यो । तर धेरै गोरखाहरु पहिल्यै विभिन्न रोगबाट पीडित, उमेर पनि निक्कै पाको भइसकेको अवस्थामा रहेकाले भाइरसबाट हुने प्रभाव उल्लेख्य रुपमा कम गराउने ठाउँ भने त्यति देखिँदैन । यसैगरी, काम गर्ने उमेर समूहका गोरखा परिवार र समग्र नेपालीहरुलाई हेर्ने हो भने उनीहरुले काम गर्ने क्षेत्रमा रहेको जोखिमअनुसार कोरोनाले धेरै क्षति पुर्याएको भन्न मिल्दैन ।
(यस लेखको सम्पादित र छोट्याइएको रुप २४ वैशाख २०७७ को गोरखापत्र दैनिकमा प्रकाशित भएको थियो)

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार