आइतबार, जेठ २५ २०७७ | Sun, June 07, 2020
नेपालको समय: १५:४८ | UK Time: 11:03

निर्विकल्प विकास रोजौं, देशलाई जोगाऔं 

निर्मल थापा 
२०७७ वैशाख १४ गते १६:४४

निर्मल थापा

प्रिय पाठकहरु,

देशका नागरिकहरु, देशबाहिर रहेका तर देशको प्रगतिका खातिर चिन्ता गर्ने नेपालीजनहरु, विदेशी भएर पनि नेपालको सुखदुःखमा साथै हुने र अहोरात्र खटिने परदेशी मित्रहरु !

आउनोस् आज हामी एउटा सर्वकालिन् मन्थनमा बसौं । गन्थन त धेरै गर्यौं र देख्यौं पनि तर अब मन्थनको मदानीमा स्पष्ट परिणाम हात लाग्ने विचारको निर्क्यौलमा पुग्न होस्टेमा हैंसे गरौं । कुनै आग्रह–पूर्वाग्रह वाद–विवाद भन्दा पनि विशुद्ध नेपाली भई नेपालको हितमा आत्मसाक्षी भएर समकालिन परिदृष्यमा देखिएका उतार–चढावको लेखाजोखा गरौं ।

मेरो राजनीति रुझान लामो छैन तर मैले सुरु गर्नेबेला वा नेपालभित्रको भइरहेको राजनीति जानेबुझेको छु भन्ने बखत राजाको राज थियो । बहुदलीय प्रजातन्त्र भनेपनि सबैदल राजाअन्तर्गत थिए । दरवार बलियो शक्तिपुञ्जका रुपमा हरेक साना ठूला घटनाहरुमा सरिक भइरहेको अवस्था थियो । नेताहरुलाई सरकार संचालन गर्न दिएपनि देशको अभिभावक म नै हुँ भन्ने राजाको बुझाइ थियो । तसर्थ पार्टीगत रुपमा जजसले जे भनेपनि राजाका अघिल्तिर दाम राख्नेहरु सबै देखेपछि राजाकै आडमा राजनीति किन नगर्ने भन्ने ध्याउन्न मभित्र पलाएको थियो । त्रिचन्द्रमा अध्ययन थियो, गगन थापा, गुरुराजहरु सक्रिय विद्यार्थी नेताहरु थिए । मैले किर्तीनिधी विष्टको संरक्षकत्वमा दरवारसँग साँठगाँठ भएको बिद्यार्थी संगठनको अध्यक्षता गरेको थिए । दरवारसँगका पटक पटकका पटके भेटघाटहरुपछि परीणाम विचार गर्दा म विस्तारै निरास बन्ने अवस्था आयो । दरवार हत्याकाण्ड, माओवादीको अदृष्य सक्रियता र गृहयुद्धको भयावह अवस्था ह्याण्डल गर्न नसकेको सरकारी संयन्त्र र दरबारको ग्याप, नेताहरुले गर्ने भ्रष्टाचारको बिगबिगी सहनेदेखि ज्ञानेन्द्रको द्रव्यमोह र पारिवारिक कलह देखेर भित्रभित्रै मक्कियर फुट्ने अवस्थामा म थिएँ । तसर्थ संगठनको विधान निर्माणमा गगनसँग लिएको सल्लाह र अन्य साथीहरु जो अहिले विभिन्न दलमा गतिलो भूमिकामा सक्रिय छन् उनीहरुसँग छलफल गरेर पनि आफैँ निरास बनेर सक्रियता त्याग्दै गएँ । पछि राजा फालिए, माओवादीहरु सरकारमा बहुमत लिएर आए, कोइरालाले जीवनको अन्त्यसम्म देशलाई भन्दा दरवारसँग र अन्य विपक्षीसँगको इखलाई ठीक बनाउनमै व्यस्त भएदेखि म पूर्णत राजनीति नबुझ्ने दाउपेच रहेछ भनी टाढै बस्न थाले । लामो समय भयो कुनै पार्टीभन्दा पनि देशको साझा एजेण्डा बोक्ने विभिन्न पार्टीको व्यक्ति विशेषहरु मेरो आसाका बिन्दु बन्न थाले । उनीहरुका क्रियाकलापहरु नियाल्नमै उत्सुक हुन थाले । तर पनि एकले अर्कोलाई पायो कि सिध्याउने प्रपञ्चको घृणित खेल देखेर बेला बेलामा ऐंठन अनुभव गरेपनि सुनौलो नेपालको परिकल्पना मेरो मानसमा सधै बाँचिरहेको छ र मेरो प्रयत्न एक बुँद रगत वा एक मुठी श्वास रहेसम्म रहिरहनेछ ।

भइरहेको राजनीतिक थालको चर्को आवाजलाई संगीत मान्ने पक्षमा म छैन । चाहे त्यो सहमतिमा बनेको कामचलाउ सरकार होस् वा दुइतिहाईको परिचय पाएको तर आन्तरिक रुपमा चिरैचिरा परेको वर्तमान सरकारलाई ठीक भनेर विश्वास गर्न सकिने अवस्था किंचित छैन । म यही ठीक भन्ने पक्षमा छैन वा मेरो गोरुको बाह्रै टक्का भन्ने आसय पनि मेरो होइन । शक्तिको चक्रलाई हेर्दा परिवर्तन अपरिहार्य भएर जोडिएको छ । अहिलेको मेरो मानक वा ठानेको ठीक केही कालपछि बेठीक भएर जानेछ । जसरी एउटा दलको सरकार बन्छ र उसले आफ्ना आदर्शका नाम अंकित अस्पताल, स्कुल, पार्क वा सरकारी भवन निर्माण गराउँछ । क्षमताले भ्याएसम्म मूलबाटो, चौबाटोमा अर्ध, पूर्णकदका सालिक बनाउँछ । र त्यससँगै घडीको घडा पनि फेरिन्छ । सरकारमा बस्ने दल फेरिन्छ, उसले पुराना मान्यतालाई बदलिन्छ, नयाँ सरकार एकएक गरेर पुराना सबैको नाम फेर्छ, रंग फेर्छ आसनको डसना फेर्छ तर बिर्सन्छ उ पछि आउने अर्को ज्ञात अज्ञातमा रहेको दलले पनि सरकारमा आउँदा उसका परिवर्तीत स्फूर्तिलाई उसैगरी फेर्छ जसरी पहिले फेरिएका थिए । सम्झौं एउटा घरमा हरेक महिलाले आफूलाई छोरी, श्रीमती वा आमाको भूमिकामा एकैचोटी देख्न सक्थिन् भने संसारले बुन्दै सुन्दै आएका सासुबुहारीका अपत्यारिला मर्महरु पुरिने थिए । अकबर, वीरबल, हेन्सल-ग्रेटल, इसप देखि अरेबियन नाइट्सका कथाहरु बिर्साउने हाम्रो समाजमा सासुबुहारीका गाथाहरु छन्, मात्र सुन्नसक्नुपर्छ घरका भित्तामा कान लाएर । तीनको निवारण तिनै महिलाबाट हुनुपर्छ ज–जसले कलहको बिउ घर–घरमा रोपे । च्यारिटी बिगेन्स एट होम भने झैं समस्याको चुरोलाई सम्हाल्ने काम पनि हरेक घरबाट सुरु हुन्छ र पछि त्यो विश्वव्यापी भएर जान्छ ।

अवस्था के भइदियो भने, जसले समस्या बिउ रोपे उनीहरु नै म अपराधमुक्त भनेर स्वघोषणा गरिरहेका छन् । देशको पुरानो संरचनालाई राजा वा दरवारसँग नजोडिकन वैज्ञानिकरुपमा हेर्नसक्यौ भने हामी क्षेत्रगत विभाजन र राज्य संचालनको विधी त्यो भन्दा अर्को कुनै विकल्प नै देखिदैन तर जनतालाई विभाजनकारी चेत दिने निहुँमा हामीले क्षेत्रीयताको अवधारणालाई मुलनारा बनायौं । जातपातको व्यवस्थालाई समुचित प्रबन्धन गर्न छाडी हामी साना साना सामाजिक अस्तित्वमा घुलेर मिलेर बसेका सम्प्रदायलाई उक्सायौं र कलहको बिउ रोप्यौं । अहिले हामीले मानेको, कठिन संघर्षपछि ल्याएको भनिएको गणतन्त्रको फल यही हो त ? हेरौं हाम्रो केन्द्रिय सरकार र क्षेत्रीय सरकारको दुरीलाई र राज्यसंचालनको अस्पष्ताको जंगलमा हामी दिनानुदिन भासिदै गएका छौं । तर हामी मान्न तयार छैनौं हामी नै यसका कारण हौं र त्यसको निराकरण पनि हामी बाटै सम्भव छ भनेर । बरु हामी यस्तो निकृष्ट स्वभावले ग्रसित भएका छौं, समस्या सृजना कसले गर्यो भन्दा आफ्ना प्रतिद्धन्दी वा विपक्षीलाई औंला देखाइदिन्छौं । गल्ती भएको हो र अब हामी सुधार्नतर्फ लाग्छौं भन्न पनि हामी सक्दैनौं र जहाँ खाल्डो देख्छौं समस्या त्यही वरपरकालाई कारण देखाएर आफ्नो हीनग्रन्थीलाई अघि हिंडाउन तेल सामल खोज्छौं । त्यो हीनताले खोजेको कुरा घुस हुनसक्ला, कुटिल स्वार्थ पूर्तीको घुमाउरो डाडु होला, शक्तिमा बसिरहन खोज्ने मन्दबुद्धिको पाषणकालिन् लोभ होला तर हामी सरकारमा रहेकालाई हेर्यौं भने केवल यही दृष्यको पुनरावृत्ति मात्र देख्न सक्छौं । सरकारी व्यवहार जनतामुखी कम र आफू वा आफ्नो परिवार वा दलमुखी बढी सोझिएको देखेका छौं । नेपाली राजनीतिको इतिहासमा हामीले दलगत राजनीतिलाई सिद्धान्तसँग भन्दा पनि उद्योगधन्दा वा स्रोतविहीन सम्पत्ति शक्ति थुपार्ने संयन्त्रका रुपमा मात्र लिइरह्यौं । हाँसोलाग्दो कुरा के छ भने केही समय पहिले नेपाल भ्रमणमा आएका चिनियाँ नेता सि जिपिंगले नेपाली नेताहरुको विलासी शैली उपर नै आश्चर्यप्रकट गरेका थिए । तर  दुईतिहाइको सरकारले भूगर्भमा रहेको माओको सिद्धान्त, मार्क्सको सिद्धान्तलाई शीरमा राखेर जति नै कोकोहोलो गरेपनि व्यवहारत उनीहरु कम्युनिष्ट होइनन् भनेर चिनियाँ नेताले भनिसकेका हुन् तर त्यसलाई न कुनै समीक्षा गरियो न सोझा आम नेपाली जनताले बुझ्न सके । सरकार चलिरह्यो । ऐतिहासिक दुईवर्ष गाँठ मनाएको अवसरमा सरकारमा रहेका अधिकारी भन्छन्, सरकार यतिबेलासम्म टिक्नु नै यसको सफलता हो । यहाँनिर हामी हेर्न सक्छौं सरकारमा रहेकाको प्राथामिकता देशको विकास होइन कि उनीहरुलाई टिकिरहनुमा छ । त्यो वनजंगल फँडानी गरेर हुन्छ, वा सेना परिचालन गरेर घुमाउरो ढंगले भ्रष्टाचारलाई संस्थागत गर्न सकिन्छ वा समृद्धिको नारालाई सरकारी मुखपत्रमा प्रकाशित गरेर हुन्छ वा प्रचार र प्रसारमा सधै बाँचिरहन पाऔं जस्तो मूढता गरिरहेको दृष्य हेर्न समाचार पढ्न अभिसप्त छौं हामीहरु । एउटा कुनै त्यस्तो कार्यक्रम वा पहल समेत हुन सकेन दुइतिहाइजस्तो बलियो सरकार बनेको मध्यकालसम्म पनि । बरु आन्तरिक शक्ति बाँठफाँडमा कलह भइनैरह्यो । कसले मन्त्रालय पाएन, कसले विदेशी नियोगमा जान पाएन, कसलाई सरकारी संयन्त्रमा प्रवेश गराउने हो, ठूला मोटा ठेक्कापट्टा कसको जिम्मामा दिने हो ? संदेहयुक्त स्रोत भएका विदेशी लगानी ल्याउने वातावरण बनाएर कसरी कमिशन कुम्ल्याउने हो ? प्रतिपक्ष वा सम्भावित प्रतिकूल हुने व्यक्ति संयन्त्रलाई कसरी तह लगाउने हो भन्नेमा सरकार लागिरह्यो जसको परिणाम हाम्रो हातमा छ ।

देशमा माओवादी र एमालेको योगले ल्याउने विकासको आस सारा संसारका नेपालीलाई थियो  तर अमेरिका, भारत लगायतका वामपन्थी विचारलाई अमान्य देशहरु बाहेक सबैले सघाएको स्पष्ट तथ्य जगजाहेर नै छ । तर त्यो हात्ती आशालाई पूर्व एमाले र पूर्व माओवादीको स्थानीयस्तरसम्म छिरेको द्धैधचरित्रलाई पार्टीले सम्बोधन गर्न सकेन, सरकार सीमित व्यक्तिको खल्तीबाट संचालन हुनथाल्यो । दुई अध्यक्ष भएको विशाल पार्टीका निर्णय आज हुने र भोलि नहुने अवस्थामा ठेलमेठल भएर चलिरहे । त्यसको तमासा हेर्न हामी बाध्य भयौं । देशको विकासको गतिलाई पछिल्तिर धकेल्ने तत्वका सामू हामी निरीह भएर भोग्न बाध्य भयौं तर आसाको दियो भने बचाएकै थियौं । कम्युनिष्टको सरकार भनेर विश्वले त्रास र संसय जनाएका बेला पनि नेपालभित्रका कम्युनिष्ट व्यवस्था चीन, उत्तर कोरिया वा रुसको जस्तो होइन भनेर हामीले आफैसँग चित्त बुझाउँदै सरकारले अघि ल्याएका नीति योजनामाथि अक्षरश पालना गर्दै आयौं तर त्यसको बिषाद परिणामको सिकार अहिले हुनु परेको छ, सहनुको मूल्य चुकाउनु परेको छ ।

कोरोनाको महामारीमा संसार जलिइरहेको छ । नेपालको सरकार भ्रष्टाचारको पराकाष्ठामा उत्तालिएको छ । बिना तयारी गरिएको लकडाउनको समयसीमा भारतीय पक्षलाई हेर्दै थप्दै गरेको अवस्था छ भने दैनिक ज्यालादारी काम गर्ने, खाने बस्ने समस्या भएकाहरुलाई समेट्ने वा आफ्ना घर फर्कन चाहनेहरुका लागि राहतकारी कार्यक्रम हातमा लिएका संयन्त्रहरु आकारअनुसारको वैधानिकरुपमा अनियमितता हारालुछ गरिरहेका छन् । यस्तो लाग्छ, रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेछ । केही समय पहिले ओलीले बालुवाटारमा बजाएको बाँसुरी र अहिले नेपाली जनताले पाउनुपर्ने स्वास्थ्यसामग्रीको अभाव, श्रमिकहरुले भोकै रुनुपरेको कारुणिक दृष्य, नागरिक देशका दशगजामा अनागरिक भएर महिनौंदेखि अड्किरहेको अवस्था, प्रवासमा रहेका नेपालीहरुको देश फर्कनका लागी गरिरहेको अरण्यरोदन, संमवेदनसील पेशागत कर्मचारीहरु प्रहरी, स्वास्थ्यकर्मी आदीको अवस्थाबारे सुन्ने र सम्बोधन गर्ने, स्थानीय निकायसँगको अत्यावश्यक संयन्त्र समेत कायन हुन नसकेको दृष्टान्त छर्लङ्ग छ ।प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली सरकारमा रहिहरनुको पहिलो कारण उनको क्षमता नभइकन उनको शारिरीक अस्वस्थता थियो र छ पनि । उनको निजी स्वास्थ्यलाई लिएर नेपाली जनताले सधैं सुस्वास्थ्य र दिर्घायुको कामना गरिरहे तर उनले इमोशनल ब्ल्याकेमल गरिरहे । उनले के भ्रम पाले भने जनताहरु मेरो शासन प्रणालीदेखि खुशी छन् । नेपाल कम्युनिष्ट आन्दोलनमा प्रख्याती कमाएका स्वर्गीय नेता मदन भण्डारीको हत्याका विषयमा छानबिनको कुरा कहिँकतै सुनिँदैन । उनको सालिक पार्टी कार्यालयमा झारले पुरिएको छ, जसरी सैद्धान्तक स्खलनता पार्टीमा आएको छ । स्व. भण्डारीको योगदानलाई सम्झँदै उनकी श्रीमतीलाई देशको सर्वोच्च पद दिने निर्णय यही नेपाली जनताले भावनामा आएर गरेका थिए । यी त्यही जनता हुन् जो अहिले मदन भण्डारीले गरेका भाषणका टुक्रालाई टिकटकमा समेटर त्यो बेला र यो बेला भनि हिसाब मागीरहेका छन् । पुराना भिडियोलाई ब्यूँताएका छन्, क्षमताविहीन व्यक्तिद्धारा साशित हुनुपरेको पीडामा बर्बराइरहेका छन् । उनको हत्याको कारण त्यसपछि पार्टी भित्र फाइदा लिनेहरु हुन् वा देशलाई शताब्दीयौं पछाडि धकेलेर आफ्नो स्वार्थ पूर्ति गर्ने विदेशी तत्वहरु हुन् । त्यस विषयमा कहिल्यै कसैले फाइल उघार्ने हिम्मत गरेनन् । दुईतिहाइको सरकार शक्तिको भागबण्डामा र पूर्व माओवादीका नाममा वा पूर्व विरोधीका निहुँमा आफ्नै पार्टीका शीर्षस्थ नेताहरुको साख सखाप पार्ने ध्याउन्नमा ओली लागेको देखियो ।

सारा संसारका मुलुकहरु कोभिड१९ लाई परास्त गर्ने रणनीतिमा लागेका छन् भने ताजा नेपाली राजनीतिमाथि दृष्टि लाउँदा हामी देख्न सक्छौं ओली आफ्नो वशमा रहेका थोरै उद्यमीहरुको हितमा ठेक्कापट्टाको जोहो गरिरहेका छन्। प्रचण्डले सर्वपक्षीय संयन्त्र निर्माणमा जुटौं भन्दा सुन्ने धैर्यता समेत छैन, अरु विज्ञलाई ओभरटेक गरेर कोरोनाको मनगढन्ते व्याख्या र रोकथामका उपायबारे बोलिरहेका छन् । रोगका बारेमा संसार अनभिज्ञ भएको अवस्थामा ओलीले ज्ञान आर्जन कसरी गर्नसके त्यो देखेर पेशामा रहेका चिकित्सकहरु पनि लेट्स रिफ्रेश भनि हाँसिरहेका छन् । गर्नुपर्ने काम छोडेर जनताका आधारभूत आवश्यकता र अभावमा जेनतेन चुपचाप सास्तीलाई ओली असारे वर्षाका चटारोमा किसानलाई घरभित्र थुनेर आफू भने सत्ताको सुरक्षित खेतीमा खेल खेलिरहेका छन् । आश्चर्य त तब भयो जब अध्यादेश बारेको उनको तयारी र निर्णयका बारेमा शीर्षस्थ पार्टीका, सरकारका व्यक्तिहरुलाई समेत छैन । कोरोनाको कुहिरो बढिरहेको अवस्था छ, मृत्यु नभएपनि मनोवैज्ञानिक त्रास चारैतिर छ तर शक्तिको खोरमा बसेर अध्यादेशका नाममा ओलीले बर्षाएको गोली अध्यादेश फिर्ता लिए पनि कालान्तरमा गएर निशाना स्वयंमाथि पर्ने निश्चित छ वा ज-जसलाई साँचेर उनले अध्यादेश ल्याए ती सम्भावित शक्तिहरु एकजुट भएर व्यवहारिक रुपमै प्रतिकार गर्नेछन् त्यो पक्का हो तर पनि कानुनी लेप दिएर अपराधिक क्रियाकलापहरु भइरहेका छन् । सरकार विरुद्धमा बोल्नेहरुलाई मध्यरातमा घरबाट अपहरण गरिएको छ, यस्तै अराजक श्रृंखलाहरु चलिरहेका छन् ।

ओलीको योग्यता भनेकै उनको विगत हो । यदि तटस्थरुपमा ओलीका बारेमा सुन्ने धैर्यता र जान्ने कौतुहलता छ भने जेलजीवनका बारेमा राधकृष्ण मैनाली र जेल बाहिरका बारेमा सिपी मैनालीले एक्सरे शैलीमा बिस्कुन लाउन सक्छन् । राजनीतिमा सधैँ चातुर्यतालाई हतियार बनाउने, लुकेर हिँड्ने गुप्तवासका क्रममा बनारसबाट फर्कदा विराटनगरमा पक्राउ परेका उनले अहिलेसम्म देशको लागि १४ वर्ष जेलजीवन भोगें भन्दै सहानुभूति पाइरहेका छन् । हामी कल्पना गरौं जेल बसेकै कारण कोही १६ वर्ष वा २० वर्षे पूर्वबन्दी आएको खण्डमा उसलाई देश चलाउने भूमिकामा राख्न  सकिएला त ? यो बेला भनेको देशको समुचित सेफ ल्याण्डिंग हो, जनताको न्युनतम् आवश्यकता बारे बोल्ने हो तर त्यो कहिँकतैबाट पनि यो सरकारबाट सुन्न सकिएको छैन । अब विकल्पतिर मनन् गरौं । जतिबेला ओली जेलमा बेकामे दिनहरु व्यथित गरिरहेका थिए अर्को सहअध्यक्ष प्रचण्ड सैद्धान्तिकरुपमा उही तर फरक जोश र सन्देश लिएर हिँडिरहेका थिए । ०५२पछि शसस्त्र द्धन्दमा पूर्णकालिन भएर लागेका प्रचण्डले आमूल परिवर्तनको पक्षमा तत्कालिन् व्यवस्थाको विरुद्धमा ज्यान हातमा राखेरै आक्रमणमा ओर्लिए । हामी मानौँ नमानौँ नेपाली भूमिमा माओवादी प्रकृतिको बलियो सरकार विरोधी समूह कहिल्यै भएको थिएन जसले आम जनतालाई राजनीति जान्ने र बुझने मार्ग प्रशस्त गरेको थियो । माओवादी शान्तिप्रक्रियामा आएदेखि नै नेपाली जनतालाई आसा थियो, अब सुनौला दिन आउनेछन् । तर संसदीय अभ्यासको अभाव हो वा सैद्धान्तिक, आर्थिक कारणले बलियो माओवादी भिन्न भिन्न गुटमा बाँडिन थाल्यो । आम कम्युनिष्ट पार्टीको नियति नै फुट्ने जुट्ने नै हो तर नेपालीलाई जसरी हुन्छ देशले गति लिनुपर्छ । बलियो दीर्घकालिन् सरकार हुनुपर्छ भन्ने नै थियो । माओवादीभित्रको कलह टुक्रने जोडिने भइरहँदा समेत नेता प्रचण्डमा भने कुनै हतोत्साही भावना थिएन । शान्तिप्रक्रिया र राजा फाल्ने क्रममा जस पाएका मूलतत्व स्वर्गीय नेता गिरीजाप्रसादको अर्को विकल्पका रुपमा प्रचण्डलाई लिन थालिएको थियो । सारमा नेपालको राजनीति संचालन गर्न चाहिने योग्यता सक्रिय अन्य नेताहरुका तुलनामा प्रचण्डमा बढी देखिन्थ्यो । गिरिजा समयले बनाएका नेता थिए, उनी  हुनुमा कोइराला परिवारको निरन्तरता थियो, उनी पछि पनि अहिलेसम्म आइपुग्दा नेपाली काँग्रेसको बिउ कोइराला परिवारको इर्दगिर्दमा नै घुमिइरहेको छ ।

ससर्ती हेर्दा मूलरुपमा चलायमान पार्टीहरुभन्दा पनि सम्पूर्ण नेताहरुमध्ये प्रचण्ड नै निर्विकल्प नेताको रुपमा देखिन्छ । यो सत्य पार्टीभित्रका असुरीतत्व वा अन्य पार्टीभित्रका देशविरोधीलाई छाडेर भन्ने हो भने प्रचण्ड उपायहीन पात्र हुन् । भनिन्छ कुनै पनि देशको राजनीति गर्न त्यो देशका भूभाग घुमेको, जनतालाई बुझेको, सिद्धान्तलाई मूलमन्त्र मानी जस्तोसुकै अवस्थामा पनि विचलित नहुने, मृत्यु स्वीकार्ने तर पार्टी र देशले लिएको विषयलाई हार्न नदिने मूल तत्वहरु प्रचण्डका गहना हुन् । ७१ वर्षे नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकाललाई हेर्दा प्रचण्डको सक्रियता चौथो महाधिवेशनको भेला देखिको मसाल, एकता केन्द्र, माओवादी केन्द्रदेखि हालको नेपाल कम्युनिष्ट पार्टीसम्म आइपुग्दा उनको लयवद्धता सैद्धान्तिकरुपमा आफैँमा एउटा सजीव प्रमाण हो । भूमिगत कालखण्ड पार गरेर सरकारमा आएर पनि उनी कहिले परिवारको कलहमा, कहिले पार्टीका साथीहरुको लहलहैमा, कहिले कुटिल छद्मरुपी दलालीहरुको दलदलमा थाहौ नपाइकन परेर उनका दुवे कार्यकाल नै आशातित रुपमा सफल हुन सकेनन् । तर हामी हिसाब गरौं, विकास र समृद्धि स्थिरताको सूचकांक हेर्यौ भने अहिले ओलीको सरकारभन्दा कैयौ गुणा सबलढंगले प्रचण्डको सरकार (सन् २००८–२००९, सन् २०१६–२०१७) ले छोटो समयावधीमा गरेका कामहरु देख्न सकिन्छ । गल्ती मान्छेबाटै हुने हो, यदि गल्ती नभए त उ भगवान भइहाल्यो । हो प्रचण्डमा निजीगत प्रभावबाट, देशीविदेशी चलखेल आदि कारणले मुखर हुन नसकेकै हो त्यसबेला तर अहिले बलियो एकल सरकार भइकन पनि ओलीको अर्कमण्यताबाट आजित भएर फेरि विकल्प खोज्नेक्रममा निर्विकल्प प्रचण्डले नै सक्रिय भई देशलाई अन्धकारबाट उठाउनुपर्ने देखिन्छ । अवश्य पनि प्रचण्ड पूर्व सूसुचित हुनुपर्छ बिचौलियाहरुदेखि, पारिवारिक प्रभाव र भावनात्मक सम्बन्धदेखि माथि उठेर कोरोनाका कारण मात्र होइन ओली सरकारका कारण भएका अनियमितताका फाइलहरु सच्चाएर देशलाई सुत्रबद्ध गरी अघि बढाउनुपर्ने देखिन्छ । स्वास्थ्यको महामारीका कारण बेलायत, अमेरिका, युरोपका अधिकांश देशहरु त पछि धकेलिएका छन् भने नेपालजस्तो गरीब देशको अवस्था पक्कै पनि अझ खस्कनेमा कुनै शंका छैन तर देशमा भएका स्रोतसाधनको भरपूर प्रयोग गरेर, विदेशमा रहेका नेपालीको अनुभव र ज्ञानलाई यथोचित स्थान दिएर, रैथाने उद्यमका बाटाहरु पहिल्याई रोजगार सृजना गरेर, क्षमताले भ्याउने र आवश्यकता परेका ठूला कलकारखानाहरु व्यूँताएर देश हाँक्ने बेला भएको छ । अहिले ओलीलाई पाखा लगाएर मात्र समस्याको समाधान नठानी सिंगो पार्टीको हितमात्र होइन देशको हितलाई सर्वोपरितालाई अंगिकार गर्दै वास्तवमै सर्वमान्य नेताका रुपमा अघि आउनुपर्ने देखिएको छ ।

प्रिय पाठकहरु,

आसा गरौं यो कोरोनामय त्रास पनि बिलाएर जानेछ जसरी रात निख्रीएर दिन आउँछ । र हामीहरु आफ्नो परिवारका सदस्यसँग एकबद्ध हुन सक्नेछौं, इलममा फर्कन सक्नेछौं । एकबद्ध भई प्रण गरौं कोरोनासँगै ओली सरकारको आहारामा परेर दुःखको आहलमा डुबेका आम नेपालीहरु तंग्रिएर फेरि एकजुट हुनेछौं । राल्फाली गायक रामेशले गाएको गीत जसरी ..,,,,,,जो जस सँग जे छ त्यही लिएर उठ्नुपर्ने बेला भएको छ, गाउँ गाउँ बाट उठ्ने बेला आएको छ, बस्ती बस्तीबाट जाग्ने बेला आएको छ । विश्वयुद्धपछि कसिएका जापानीहरु जसरी हामी नेपाली श्रममा जोतिनु परेको छ । श्रमको पसिनाले माटोका डल्ला फुटाउने बेला आएको छ । जो सँग जे छ त्यहीलाई सीप मानि देशको शिर उठाउने बेला भएको छ ।

नेपाल र नेपालीको सदैव जय होस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक