शनिबार, जेठ २४ २०७७ | Sat, June 06, 2020
नेपालको समय: १७:०३ | UK Time: 12:18

गलत नम्बर

कथा

सुरेन्द्र नेपाल श्रेष्ठ
२०७७ वैशाख १३ गते १२:०७

भाग २

लेखक

समय बित्दै गयो, उमेर बढ्दै गयो तर जवानी घट्दै गएजस्तो लाग्न थाल्यो उनलाई । विदेशको जीवन कहिलेसम्म एक्लै बस्ने हो ? अब विवाह गर्न पर्ने सोच आउन थाल्यो । सानैमा विवाह गर्ने चलन अलि कम भइसकेको अवस्थामा जन्मिए तर विवाह गर्ने उमेरमा देशलाई स्वर्ग बनाउने उद्देश्यमा होमिए र युद्धमा लाग्न पुगे । त्यही युद्धबाट बाँच्ने क्रममा यूरोप आइपुगे । त्यहाँ पनि त्यस्तै समस्या थिए । आफ्नो देशमा चाहेको बेला जान सकिँदैन भन्दा पत्याउने पनि कोही थिएनन् । यदि स्वदेश जान पाइएन भने आफ्नो जीवनसाथी को बनाउने हो भन्ने सोच कर्मराजले सोचेकै थिएनन् । अष्ट्रेलियामा भएका आफन्त भाइसँग भने बेलाबेलामा विवाहको कुरा सम्म गर्न भ्याउथे । उनले नेपालमा फुपूदिदीसँग कुरा गर्न सुझाएछन् । चिनजान भएका सबैको बिहे भइसकेको थियो वा सबैका केटा साथी हुन्थे । विदेशमा एक्लो मान्छे पाउनै मुश्किल ।

फूपुदिदीको नम्बर टिपेर पछाडिको खल्तीमा राखेका रहेछन् कर्मराजले । केही दिनपछि फोन गर्छु भनेर हेर्दा त फोन नम्बर स्पष्ट नदेखिने भइसकेछ तैपनि अन्दाजमा नम्बर डायल गर्न पुगेछन् । उताबाट पनि महिलाकै स्वर आएकोले नम्बर मिलेछ भन्ने पर्यो । घर परिवारका बारेमा भन्दै गर्दा उताबाट कसलाई फोन गर्नुभएको हो ? भन्ने भएपछि उनले सविस्तार आफ्नो बारेमा बताएछन् । तर गलत नम्बर भन्ने भएपछि फोन राख्नुसिवाय अरु विकल्प थिएन । उनले सम्पर्क गरेको नम्बरबाट २/३ दिन पछि फेरि मिसकल आएपछि कर्मराजसँग बेलाबेलामा ती महिलाको कुराकानी हुन थालेछ । एकदिन उनले विवाह गर्नुपर्ने खै दुलही पो भेटिएन भनेछन् । उताबाट पनि ‘ए मेरो त विवाह भइसक्यो कस्तो खाले जीवनसाथी चाहिएको हो’ भनी जिज्ञासा राखेपछि उनले विदेशमा नर्सहरुले सजिलै राम्रो काम पाउने कमाइ पनि बढी हुने हल्ला सुनेका कर्मराजले पाए त स्टाफ नर्स भए राम्रै हुन्थ्यो भनेछन् । खोजेर विवाह गर्न पर्ने भएपछि चाहेजस्तो किन नखोज्ने भन्ने उनको सोचाइले ठ्याक्कै काम गरेछ । उताबाट ‘सर, एकजना मेरी नर्स बहिनी छिन् कुरा गर्ने हो भने फोन नं दिन्छु’ भनिछन् । फेरि पहिलेजस्तै नम्बर मेटिएला भनेर उनले तुरुन्तै फोन गरिहालेछन् । अपरिचित दिदीले आफ्नी बहिनीको नम्बर त दिइन् तर बहिनीले यसबारे कुरा गर्न भ्याएकी रहेनछिन् । ‘कसले दियो मेरो नम्बर ? नचिनेको मान्छेलाई फोन गर्ने ? जर्मनीमा छौ कि जुम्लामा छौ मलाई के मतलब भनिछन् ?’ कुरा जे जस्तो गरेपनि उनको स्वरले भने लठ्ठै पारिसकेको थियो कर्मराजलाई । ‘तपाई अस्मिता होइन र ? नर्सिगं गर्नुहुन्छ भन्दै थिए’ ‘ए हो तपाई मलाई कसरी चिन्नुभयो त ? अब फोन नगर्नुहोला’ भनेर लाइन काटिदिइन् । त्यो अपरिचित मीठो आवाजले यता कर्मराजलाई भने रोमाञ्चित बनाउन थालिसकेको थियो । करीब एक हप्तापछि फेरि फोन गरेर नम्बर कसरी पाएको बेली विस्तार सुनाए । यसपटक पनि उन्को मन पगाल्न सकेनन् कर्मराजले तर फोन गर्न भने छाडेनन् । २/ ४ दिनको फरकमा फोन गर्दै रहे र विस्तारै लामो भलाकुसारीमा झुम्मिन थाले । ६ महिना पछि कर्मराजले आफू विवाह गर्न ढिला भइसकेको र जोडी खोज्न पर्ने छ, मलाई साथ दिने हो भन्ने हिम्मत सम्म गरेछन् । तर स्वाभाविक उत्तर कहिल्यै नदेखेको मान्छेसँग कसरी जीवन साथै बिताउछु भनेर निर्णय गर्नुभयो ? त्यसो भए फोटो पठाइदिनु न म पनि पठाउँछु भन्दै फकाउँदा पनि केही लागेन । फोटो पनि हेर्न नपाइने भयो तर कुराकानी भने अलि बढी हुन थाल्यो, चलचित्रको डायलग झैं ‘अब म तपाईंलाई तिमी भन्छु है’ भन्ने सम्मको अवस्था आइपुग्यो ।

आफूले काम गर्ने कम्पनीमा बिदा मिलाएर भारत हुँदै नेपाल जाने, माने अस्मितासँगै विवाह गर्ने नभए अरु कोही खोज्ने निष्कर्षका साथ कर्मराज नेपालतर्फ हानिए । काठमाडौं पुगेपछि पहिलो काम अस्मितालाई भेट्ने भयो । फोनमा त आफूलाई अस्मिता बस्नेत भनेको थियो मान्छे हेर्दा आफ्नै गाउँको राई-लिम्बु जस्तो देखियो । चिम्सा आँखा गठिलो शरीर, ठूल्ठूला गाला देखेर कर्मराजले फोनमा सुनेको र देखेको मान्छे उही हैन कि क्या हो ? मात्रै भनेको थिए तपाई पनि लाहुर गएको खाइलाग्दो अग्लो मोटो खड्का ठिटो होला भनेको त कस्तो मरन्च्याँसे बाहुन जस्तो पो देखियो भनेर पहिलो भेटमा एक वर्षको प्रयास माटोमा मिलाइदियो । अमिलो मन लिदै दुवै जना छुट्टिए ।

अब कर्मराजलाई ठूलो समस्या आइलाग्यो । बल्ल बल्ल केही सम्बन्ध जोडेको केटीसँग अगाडि कुरा बढ्ने नदेखेपछि घरमा दाइले एकजना एआइजीको छोरी हेर्ने कुरा मिलाए । मनमा अनेक कुरा खेलाउँदै केटी हेर्न गएका खड्का ठिटोलाई फेरि त्यही ज्यानको कुरा गरेर असुन्तुष्टी ब्यक्त भयो । कर्मराजलाई पनि रिस उठेर ‘अनि यो आइग्लास जत्रो चश्मा चाहिँ किन लाउनुभएको’ त भनेर सोध्दा ‘म त चश्मा नलाई आँखा देख्दिनँ’ भन्ने जवाफ आएपछि कर्मराज पनि विवाह गर्ने कुराबाट पछि हटेछन् । ती महिलाले पछि छुटिने बेलामा ‘मैले अघि तपाईलाई होचो दुब्लो भनेर हेपेर हुँला वास्तवमा तपाईमा कुनै खोट छैन तर मेरो केटासाथी पहिलेदेखि नै थियो घरमा भन्न नसकेर तपाईमा खोट देखाएकी हुँ, कृपया मेरो घरमा मिलाएर भन्दिनुहोला’ भन्दै माफ माग्दै रुन थालिन् । उनले पनि आँखा कमजोर भएकै कारण बिहे नगर्ने भन्दा पनि उनको पहिले देखिनै केटा साथी भएको कुरा व्यक्त गर्दै चाहेको मान्छेसँग विवाह गरिदिए राम्रो घरवार हुने तर्क दिँदै आफू भने उक्त सम्बन्धबाट अलग्गिए ।

दोस्रो प्रयास पनि असफल भएपछि कर्मराज अलि हरेस खाने स्थितिमा पुगे । यो तालले जीन्दगी एक्लै पो बाँचिने भइयो भन्ने अवस्थामा पुगेका थिए । एकदिन साथीहरुसँग रमाइलो गर्दा धेरै पिएको पत्तै भएन । शायद पीडा पनि मनमा थियो एकल जीवन बाँच्नुपरेको । त्यसैले फेरि एकचोटी अस्मितालाई फोन गरेर भेट्ने निर्णयमा पुगे । तर लर्बरिएको स्वरमा केवल भेट्न चाहेको भन्यो तर ‘अहिले राति भइसकेको बरु भोलि म आफैँ फोन गर्छु’ भन्ने उत्तर आएपछि केही हलुको भएर सो रात साथीहरुसँगै बसे । नभन्दै भोलिपल्ट अस्मिताको फोन आयो । गत राति फोनमा भएका कुरा सम्झन सकिइरहेका थिएनन् । उनले ‘साँच्चै मसँग विवाह नगर्ने नै हो त’ भने ? ‘अब म फर्कन्छु तर तिमीलाई जीवनभर बिर्सन सक्दिन होला’ भने । उनले ‘मलाई भेट्ने भन्नुभएको होइन, बरु खाना खाएर आउनुस्, औपचारिक लुगा लगाएर आउनुहोला’ भनिन् । अलि समय लगाएर तयारी हुँदा साँझ आउदा हुन्छ कि भनेपछि सोही अनुसार भेट्ने तय भयो । घरमा बुवाआमा दाजुभाइ सबैजना कर्मराजलाई कुरिरहेका थिए । उनले पनि साथमा ठूलोबाको छोरालाई लिएर गएका थिए । परिचयकै क्रममा भएका सबै कुरालाई बेलीबिस्तार लगाए । हुनेवाला ससुराली पनि राजनीतिक पृष्ठभूमिका रहेछन् । दाजु त एमालेकै जिल्लास्तरका ठूलै नेता थिए । घरपरिवारका सबै सदस्यलाई हुनेवाला ज्वाई मन परेपछि विवाहको कुरा निर्क्यौल भयो । कर्मराजलाई काममा फर्कन १० दिन मात्र बाँकी थियो । हतार हतार पाँच दिनमा मगनी गरेर सामान्यरुपमा विवाह सम्पन्न भयो । विवाहपछिका पाँच दिन बिताएर भारत हुँदै जर्मनी आउनु थियो । करीब एक वर्षको चिनजानलाई पाँच दिनमा विवाहमा परिणत गरी छैठौं दिनमा मीठो भविष्यको कल्पनासहित दिल्ली पुगे नवदुलाहा कर्मराज ।

दिल्ली एअरपोर्टमा फ्रयान्कफर्ट जर्मनीका लागि उड्न तयार भएर कर्मराज लाइनमा लागे । तर अध्यागमन अधिकारी महिलाले निकै केरकार गरिन् । भिषा मान्छे सबै सक्कली नै भएकोले कर्मराजलाई कुनै डर थिएन तर निकै समय लगाएपछि पो थाहा भयो, उड्नुपर्ने मिति त हिजै रहेछ । अब पर्यो आपत, खल्तीमा पैसा छैन, काम सुरु हुने भइसक्यो तर अब आइलागेको विपतबारे कसलाई भन्नु । उनले नवदुलहीलाई विस्तृत कुरा बताउने निर्णय गरे किनकी अरु कुनै उपाय पनि थिएन । टिकट क्यान्सिल भएको पीडालाई थप केही दिन श्रीमतीसँग बस्न पाइने खुशीले भने सान्त्वना दिएको थियो । त्यसैले काठमाण्डौँ, दिल्ली हुँदै फ्रयान्कफर्टको टिकटका लागि श्रीमतीलाई जानकारी गराए । भित्रभित्रै ४/५ दिन अरु बस्न पाए पनि हुनेथियो भनेपनि काममा ढिला हुँदा पीर परेकै थियो । जर्मनी पुग्दा पुरानो काम नपाउँदा फेरि नयाँ काम खोज्नुपर्यो । भर्खरै विवाह गरेकी श्रीमतीलाई त्यही राम्रो काम देखाएर भिषाका लागि निवेदन दिई जर्मनी ल्याउने अवस्था रहेन । पहिले बिहे नभएकोमा चिन्ता गर्ने उनलाई अहिले श्रीमतीलाई ल्याउनका लागि चिन्ता आइलाग्यो । नयाँ काम खोज्न तीन महिना लाग्यो । उता विवाहताका श्रीमतीलाई ल्याउने तयारी गर्न ६ महिनाजति लाग्ला भनेको त्यो पूरा नहुने जस्तो छाँटकाँट देखियो । पूर्वका मान्छेहरु विश्वास गर्न गाह्रो हुन्छ भन्थे कतै मैले धोखा दिन लागेको होइन भन्ने संसय घुमाउरो पाराले श्रीमतीमार्फत् बुझेका थिए । नयाँ काम पाएपछि बल्लबल्ल एक वर्षपछि दिल्ली हुँदै नेपाल गएर काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता गरी जर्मनीको भिषाका लागि आवेदन दिए तर भिषा पाउन अर्को तीन महिना कुर्नुपर्ने भयो । पछिल्ला १५ महिनाको नालीबेली हेर्दा घटेका घटनाहरुको अनुभूति संकलन गर्दा एउटा गतिलै पुस्तक निस्कन्छ होला ।

कर्मराज र अस्मिताको प्रवासी जीवनमा दुई सन्तानको आगमनले घरपरिवारमा देश ल्याएको अनुभूति गर्दै रमाइलो दाम्पत्य संसारमा छन् । जीवनमा धेरै सोचियो, भोगियो, काम पनि धेरै गरियो तर उतारचढावलाई फर्केर हेर्दा अचम्म लागेर आउँछ । गलत नम्बरबाट शुरु भएको सम्बन्ध ठीक ठाउँमा आएकोमा दंग छन् दुवैजना । तर विदेशको रातो नागरिकता त्यागेर आफ्नै देशको नागरिकता लिने सोचलाई साकार बनाउने तयारीमा लागेका छन् कर्मराज अहिले । अस्मिताको भने आफ्नै देशको नागरिकता छ, दुईजना मध्ये एकजनाको नेपाली नागरीकता हुनुपर्छ भन्ने उनको सोच यथावतै छ । कर्मराज भने नाम जसरी कर्मको पुजारी बन्दै, बन्दुक, शिक्षण, मृत्युबोधपछिको नक्कली परिचयले त्याग्न लगाएको जन्मभूमिको परिचयले उनलाई पोलेको छ । परिस्थितिले देशको परिचय शौचालयमा फ्लस गरायो र देश छाड्ने बेलामा गर्नुपरेका तयारीका क्रममा जीवन बाँच्ने उपाय पनि अर्को कुनै हातमा थिएनन् तर अहिले सबै कुरा सहज भएपछि आफ्नै देशको नागरिकता ब्यूँताउने सोचमा छन् । देशको सेवा सँधै शरीरमा बगिरहेको छ त्यो भन्दा ठूलो बृद्ध आमाबुबाको सेवा गर्ने इच्छा छ । जन्म दिने आमाबुबाको सेवा नै छोराको अन्तिम कर्म बनेर कर्मराजको काँधमा आइपुगेको छ । आसा गरौँ त्यो पनि उनले पूरा गर्नेछन् । आफ्नो बृद्धकालमा प्रवासमा जन्मेका सन्तानले के गर्लान् त्यो उनीहरुकै कुरा तर आफ्नो कर्ममा निरन्तर लागिरहेका छन् कर्मराज । कर्मको राजा भएर, कर्मको नोकर भएर । सबैभन्दा ठूलो त कर्मको सहयात्री भएर  ।

(कथाकार अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ कानून र गैर आवासीय नेपालीका विषयममा बिशेष दख्खल राख्नुहुन्छ । उहाँ विगत दुई दशकभन्दा लामो समयदेखि बेलायतमा बसोबास गर्दै आउनुभएको छ ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक