शनिबार, जेठ २४ २०७७ | Sat, June 06, 2020
नेपालको समय: १६:०३ | UK Time: 11:18

लकडाउनले छटपटाइरहेछु…

मुकुल दाहाल
२०७७ वैशाख ५ गते २०:१६

भाइरसको पर्खाल र लकडाउन
साथीहरूसँग प्रत्यक्ष भेट हुँदैन आजकल
उनीहरूसँग म डराइरहेछु
मसँग उनीहरू डराइरहेछन्

भेटेको क्षण
कसैले ख्वाक्क नखोकोस्
कसैले हाच्छिउँ गरिनहालोस्

भाइरस कुनै प्रकारले हावामा प्रक्षेपण नहोस्
र थाहै नपाई ननिलियोस्

मृत्युको त्रासले नै हो
साथीहरू साथीहरूसँग तर्सिरहेछन्
आफन्तहरू आफन्तहरूसँग तर्सिरहेछन्
प्रेमीहरू प्रेमीसँग तर्सिरहेछन्

सडकमा निस्कँदा मृत्युले गरेको लकडाउन महसुस हुन्छ
सरकार भनिरहेछ ­
भाइरस गाडी चढेर नहिँडोस्
भाइरस प्लेन चढेर नउडोस्
भाइरस सीमाहरूबाट नछिरोस्

बगैँचामा निस्कँदा फेरि त्यस्तो केही लाग्दैन
चराहरू हाँगा हाँगा डुलिरहेछन्
पुतलीहरूलाइ थाहै छैन् सोसल डिस्टान्सिङ
हावामा निसङ्कोच हल्लिरहेछन् पातहरू
घामको चमकमा भाइरसको कुनै आभास छैन्

लकडाउन त मानिसलाई मात्र रहेछ
चुनाव लड्न लागेको नेतामा छ छटपटी
उसले धेरै बकबक गर्नु थियो चुनाव जित्नलाई

चुनाव भर्खर जितेको नेतामा छ छटपटी
जनताको आँखामा छारो हाल्न केही किर्ते गर्नु थियो
केही गर्नै नपाइ भाइरसले नङ्ग्याइदियो

मेहेनत गरेर खाने श्रमिकमा छ छटपटी
गरिखाने श्रमको घरमा छ लकडाउन

लकडाउनले थोपरेको छ गरिबी
थोपरेको छ भोक
लुटेको छ मुस्कान

सबै हतारोहरूलाई, सबै भागदौडहरूलाई
क्वारेन्टाइनमा थन्क्याइदिएको छ

बाबुनानीहरू कम्प्युटरलाई नै स्कुल भनिरहेछन्
युनिभर्सिटी कम्प्युटरमै आएर ओथारो बसेको छ
सबै अनौठो भइरहेछ
सबै हठात भइरहेछ

के यो भाइरस मानिसको अहंलाई
पाता कसेर खुम्च्याउन अस्तित्वमा आएको हो?

के यो भाइरसमा मान्छेहरू पिएर रमाउने
तृष्णाको सीमा छैन् ?

परदेशको एउटा एकलासको गाउँमा
देश फर्किने सपना बुनिरहेको म
लकडाउनले छटपटाइरहेछु

सोचिरहेछु­
भाइरसको लकडाउन एकदिन सकिन्छ
भाइरसले उठाएको पर्खाल ढल्छ
र मेरो शीर मेरी आमाको गोडामा राख्न पाउँनेछु ।

एवर्डिन, स्कटल्यान्ड

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक