मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: ०४:०६ | UK Time: 22:21

‘कोरोना परीक्षणमा शतप्रतिशत ठीक नतिजा दिने विधि छैन’ : डा. पन्त

वीनेपाली
२०७७ वैशाख ३ गते ९:१८

डा. गोपाल पन्त प्रयोगशाला विज्ञ हुन् । उनी विगत १० वर्षदेखि संक्रामक रोगहरुको परीक्षण तथा निदान सम्बन्धि क्षेत्रमा कार्यरत छन् । उनले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थामा रहेर प्रयोगशाला प्रणालीलाई बलियो बनाउन भूमिका खेलेका छन् । उनले न्युजिल्याण्डको युनिभर्सिंटी अफ क्यान्टबरीबाट स्वास्थ्यविज्ञानमा विद्यावारिधि गरेका छन् । उनको विद्यावारिधिको अनुसन्धानको विषय अस्पतालहरुमा हुने संक्रमण र त्यसको रोकथामसंग सम्बन्धित  थियो । प्रस्तुत छ उनीसित नेपालमा कोरोना भाइरसको जाँचका बारेमा गरिएको कुराकानी । यो सामग्री नेपाल पत्रकार महासंघ युके शाखाको कोरोनासम्बन्धी सचेतना अभियानअन्तर्गत तयार पारिएको हो ।

कोरोनाविरुद्ध लड्न परीक्षण (टेष्ट) किन महत्वपूर्ण छ ? नेपालमा देशका विभिन्न भागमा परीक्षणको सुविधा उपलब्ध गराइएकोलाई कसरी हेर्नुहुन्छ ?

वास्तवमा परीक्षण कोरोनालाई नियन्त्रणमा लिनका लागि विश्वभर नै महत्वपूर्ण छ । कुनै पनि व्यक्तिको जाँचपछि मात्र संक्रमितलाई आवश्यक सुरक्षा अपनाई अलग्गै राख्ने र आवश्यक उपचार चलाउने कार्य सम्भव हुन्छ । हाम्रो जाँच क्षमता बढाई धेरैभन्दा धेरैमा जाँच गराउनु र उनीहरुलाई अलग राखी उपचार गर्नु अनिवार्य छ । मेरो विचारमा विश्वका सबै देशहरु कोरोनाको ठूलो परिमाणमा जाँचका लागि एकै पटक तयार हुनु परेको छ । नेपालको अवस्था पनि अरु देशको भन्दा भिन्न छैन । शुरुमा नेपालमा काठमाडौँमा रहेको एउटामात्र प्रयोगशालामा उपलब्ध उपकरणहरुका आधारमा जाँच शुरु गरिएको थियो । आवश्यक रिएजेन्टहरु पनि सहज रुपमा उपलब्ध हुन सक्ने अवस्था थिएन । तथापि मेरो विचारमा कोरोना जाँचको सुविधा अहिले पछिल्लो समयमा निक्कै बिस्तार भएको छ । काठमाडौँ उपत्यकामा भएको प्रयोगशालामा क्षमता विस्तार गरिएको छ र काठमाडौँ बाहिर पनि प्रयोगशालाहरुको क्षमता विस्तारका साथै हरेक दिन राम्रो संख्यामा जाँच गर्न सकिने व्यवस्था गरिएको छ ।

जाँचको दायरा बढाउनु पर्ने देखिन्छ र यसका लागि उपलब्ध साधन स्रोतलाई बुद्धिमतापूर्वक प्रयोग गर्नु जरुरी छ । सार्वजनिक र निजी दुवै प्रयोगशालाहरुलाई यदि केही कोसिस गर्ने हो भने थप परीक्षणका लागि प्रयोग गर्न सकिन्छ । मेरो विचारमा अबको सोच त्यता हुनुपर्छ ।

जाँचबाट प्राप्त हुने नतिजा कसरी यकिन गर्न सकिन्छ ? यदि नतिजा सही आएन भने के हुन्छ ?

यो विषय कोरोना जस्तो महामारी (जहाँ हरेक दिन ठूलो संख्यामा जाँच गर्नुपर्ने हुन्छ)का लागि अत्यन्तै महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा जाँचबाट आउने सही नतीजाका बारेमा चासो हुनु स्वाभाविक हो । यो पनि बुझ्न जरुरी छ कि त्यस्तो कुनै पनि जाँच गर्नेविधि छैन जसबाट शतप्रतिशत सही नतिजा आओस् । उपलब्ध जाँच विधिहरुमध्ये पिसीआर कोरोना जाँच गर्ने अरुभन्दा विश्वसनीय विधि मानिएको छ । तथापि अनुसन्धानहरुले यो विधिबाट पनि बिरामी भएको पहिलो हप्तामा जाँच गरिएमा लगभग ६७ प्रतिशतमा मात्र पत्ता लाग्न सक्ने देखाएको छ । बिरामी भएको दोस्रो सातामा भाइरस पत्ता लाग्ने सम्भावना धेरै हुन्छ । अहिले उपलब्ध विधिहरुमा केही सीमा रहे पनि सबै प्रयोगशालाहरुले जाँचको गुणस्तर र विश्वसनीयता कायम गर्न आवश्यक विधि र प्रक्रिया अपनाउनुपर्छ । यदि जुनसुकै कारणबाट संक्रमित व्यक्तिको नतिजा गलत निस्केमा उसको परिवार र सम्पर्कमा आएका अन्य व्यक्तिमा संक्रमण फैलने खतरा हुन्छ ।

पिसीआर र  र्‍यापिड जाँच विधिमा के फरक छ । नेपालको सन्दर्भमा हामीलाई दुइटै चाहिएको हो ?

पिसीआर विधिले भाइरसको आनुवंशिक पक्ष पत्ता लगाउँछ, यो मोलिक्युलर जाँच विधि हो । यो विधिबाट जाँच गर्दा यदि कुनै व्यक्तिमा नतिजा पोजिटिभ भेटियो भने उ संक्रमित भएको हुन्छ तर कतिपय अवस्थामा संक्रमित व्यक्तिको जाँच गर्दा नेगेटिभ नतिजा पनि आउन सक्छ । यो संक्रमण भएको कुन समयावधिमा नमूना संकलन गरिएको हो त्यसमा भर पर्छ ।

मानव शरीरले सुक्ष्मजीवहरुको संक्रमणसित प्रतिरक्षा गर्नका लागि एक किसिमको पदार्थ (प्रोटिन) उत्पादन गर्छ । त्यसलाई एण्टीबडी भनिन्छ र तिनीहरु रगतमा भेटिन्छन् । हाम्रो शरीरले त्यस्तो पदार्थ बनाउन केही समय लगाउँछ । धेरैजसो कोरोनाको र्‍यापिड जाँचले रगतमा रहेका त्यस्ता एण्टीबडीहरु पत्ता लगाउँछन् । त्यसकारण र्‍यापिड जाँचले शुरुको समयमा सही रुपमा संक्रमण पत्ता लगाउन सक्दैनन् । जब त्यस्ता पदार्थहरु शरीरमा उत्पादन हुन्छन् भारइस शरीरबाट हराएपनि त्यस्ता पदार्थहरु शरीरमा रहिरहन सक्छन् ।

एउटा महत्वपूर्ण कुरा यहाँ हामीले बुझ्नपर्ने के छ भने र्‍यापिड जाँचले कहिलेकाहीँ संक्रमण नभएको व्यक्तिमा पनि पोजिटिभ नतिजा देखाउन सक्छ । तिनीहरुलाई ‘फल्स पोजिटिभ’ भनिन्छ । त्यसैले र्‍यापिड जाँचको नतिजालाई सचेतताका साथ उपयोग गरिनु पर्दछ । एउटा उदाहरण हेरौँ, यदि ‘फल्स पोजिटिभ’को दर २ प्रतिशत छ र हामीले १० हजार संक्रमण नभएको जनसंख्यामा जाँच गर्यौँ भने करिब २०० जना संक्रमण नभएका व्यक्तिमा पोजिटिभ नतिजा आउन सक्छ ।

वास्तवमा अहिले विश्व स्वास्थ्य संगठनले कोरोना पत्ता लगाउनका र्‍यापिड जाँच विधि लागू नगर्न सिफारिस गरेको छ । तथापि यसलाई अनुसन्धान र निगरानीका लागि प्रयोग गर्न सकिन्छ । नेपालको सन्दर्भमा कोरोनाको जाँच मुख्यतया पिसिआर विधिमा आधारित छ । तथापि प्रविधिहरुको तीव्रतर विकास हुँदै गइरहेको छ र भविष्यमा गुणस्तरीय विधि प्रयोग गर्न पाइन सक्ने अवस्था पनि छ । भविष्यमा यस्ता परीक्षणका लागि नयाँ विधि सिफारिस हुन पनि सक्छन् र त्यसका  आधारमा परीक्षण रणनीति परिवर्तन पनि हुन सक्छन् ।

एण्टीजेन र एण्टीबडी जाँचमा के फरक छ ? नेपालको सन्दर्भमा कस्तो जाँच उपयुक्त होला ?

एण्टीजेन जाँचले नमुनामा  भाइरसको  कुनै  भाग  छ  भने  त्यसलाई  पत्ता  लगाउने  काम  गर्दछ । एण्टीजेन जाँचहरु प्राय र्‍यापिड टेष्टका रुपमा रहेका हुन्छन् । हाल उपलब्ध प्रमाणहरुका आधारमा विश्व स्वास्थ्य संगठनले एण्टीजेन टेष्टलाई कोरोना परीक्षणका लागि सिफारिस गरेको छैन । अघि पनि उल्लेख गरिसकिएको छ कि प्रविधिहरु चाँडो चाँडो विकास भइरहेका छन् र सिफारिसहरु पनि भविष्यमा फेरिन सक्छन् ।

विभिन्न निकायहरुका बीचमा समन्वयको अभाव देखिन्छ । सरकार, गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय संस्थाका बीचमा राम्रो समन्वय किन महत्वपूर्ण छ ?

कोरोनाको जाँचको क्षमता बढाउने बारेमा सरोकारवाला निकायहरुका बीचमा छलफल भइरहेको छ । कोरोनाका विरुद्ध लड्न देशको क्षमता बढाउनका लागि सबैसित समन्वय हुनुपर्छ भन्नेमा म सहमत छु । मलाई विश्वास छ कि जाँचको दायरा बढाइने छ र सबैसित सहकार्य गरी जाँचको क्षमता पनि बढाइने छ ।

कोरोनाको कारणले महिला तथा बालबालिकाको स्वास्थ्यप्रति सरकारको ध्यान अन्यत्र मोडिएला भन्ने जोखिम छ कि ?

हो त्यस्तो खतरा छ । मेरो विचारमा यो महामारीले महिला र बालबालिकाको स्वास्थ्यमा मात्र होइन अरु जनस्वास्थ्यका विषयमा पनि प्रभाव पार्नेछ । त्यस्तो प्रभाव कति हुन्छ भनेर अहिले अनुमान गर्नु ठीक हुँदैन तर भविष्यमा यो अरु प्रस्ट हुंदै जानेछ ।

अन्त्यमा तपाईलाई महत्वपूर्ण लागेका केही कुरा छन् कि ?

कोरोना भाइरसको जाँच गर्ने प्रविधि र क्षमताका बारेमा भन्नुपर्दा महत्वपूर्ण कुरा प्रयोगशालामा काम गर्ने व्यक्तिहरुको सुरक्षाको बारेमा बिर्सनु हुँदैन । दिनरात नमूनासित सम्पर्क भइरहने उनीहरुमा संक्रमणको खतरा बढी हुन्छ । प्रयोगशालामा काम गर्ने व्यक्तिहरुलाई संक्रमणबाट बचाउन पर्याप्त उपायहरु अपनाइनुपर्दछ । उनीहरुलाई व्यक्तिगत सुरक्षाका सामग्रीहरु उपलब्ध गराइनुपर्दछ । अहिलेसम्म नेपालमा प्रयोगशाला विज्ञान कम  प्राथमिकतामा राखिएको विषय हो । मलाई विश्वास छ यस महामारीले सबै सरोकारवाला र नीति निर्माताहरुलाई यस्ता स्वास्थ्य संकटसित जुध्न राष्ट्रिय प्रयोगशाला प्रणालीको महत्व बुझाउने छ । साथै राष्ट्रिय प्रयोगशाला प्रणालीलाई सुधार गर्न आवश्यक कदमहरु चालिने छन् ।

(यस अन्तर्वार्तामा व्यक्त विचारहरु पन्तका निजीविचार हुन् । यसले उहाँ संलग्न संस्थाको विचार प्रतिनिधित्व गर्दैनन् ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक