बिहीबार, असार १८ २०७७ | Thu, July 02, 2020
नेपालको समय: २३:३२ | UK Time: 18:47

महामारीबाट निम्तिने आर्थिक संकट र निकासका उपाय

डा मुकुन्द बास्तोला
२०७७ वैशाख २ गते १७:४८

 

अहिले कोरोना भाइरस (कोभिड १९) को महासंग्रामले विश्वका अधिकांश देशहरु पूरै वा आशिंक रुपमा बन्द छन् । विद्यालयदेखि क्याम्पस युनिभर्सिटी हुँदै मन्दिर मस्जिद र चर्चसम्म तथा विद्युतीय सामग्रीको व्यापारदेखि निर्माण व्यवसायसम्म सबै यो बन्दका सिकार हुन पुगेका छन् । विश्वका अधिकांश मुलुकहरुले अत्यावश्यक सामग्रीहरु जस्तो कि औषधि र दैनिक अत्यावश्यक खाद्यपदार्थबाहेक अरु सबै व्यापार व्यवसायहरुलाई बन्द गर्ने आदेश जारी गरेका छन् । यसले अर्थतन्त्रलाई अहिले नै ठूलो मार्कामा पारेको छ भने भविष्यमा निम्त्याउन सक्ने दीर्घकालिन अर्थसंकट धेरै नै बिकराल देखिन्छ ।

कतिपय मुलुकहरु अझै पनि पर्ख र हेरको रणनीतिमा अल्झिएका छन् । यो भाइरसको पछिल्लो अवस्थालाई हेर्दा तत्काल कम हुने लक्षणहरु देखिदैन। तर, यसको अर्थ यो पनि होइन कि, यो भाईरससँगको महाभारत युद्धबाट देशहरु कहिल्यै बाहिर निस्कन सक्दैनन् । हामीले विगतको इतिहासलाई हेर्ने हो भने पनि प्रत्येक एकसय बर्षको अन्तरालमा यस्तै खालका महामारीबाट सिंगो विश्व अछुतो रहन सकेको छैन ।

उदारणका लागि सन् १९१८ मा विश्वभर तीन भिन्न महामारीको तरंगले लगभग ५० मिलियन मानिसको ज्यान लिएको थियो । तर यसपालिको महामारीले यति धेरै मानिसको ज्यान लिने संभावना भने अति नै न्यून छ । किनकि अहिले लगभग सबै देशको स्वास्थ्य प्रविधिमा सघन उपचार कक्ष (आईसियु)देखि मेकानिकल भेन्टिलेटरसम्मको सुविधा उपलव्ध छ । यी सुविधाहरुले भाइरसको औषधीको काम गर्न त सक्दैनन् । तर बिमारीहरुलाई श्वासप्रश्वासमा सहजता दिलाउने अतुलनिय भूमिका निर्वाह गर्छन् । फलस्वरुप विमारीहरुको बिभिन्न महत्वपूर्ण अंगमा अक्सिजन पुगी बिमारीहरुलाई श्वासप्रश्वासमा केही सहजता मिल्न गई बिमारीको ईम्यून सिस्टमलाई अन्य केही समय भाइरससँग लडिरहन मद्दत पुग्छ ।

अहिले विश्वको अवस्थालाई हेर्दा के देखिन्छ भने जुन देशले सबैभन्दा बढी यो भाइरसको टेस्ट गरेको छ । त्यहाँ मृत्युदर अन्य देशहरुको तुलनामा कम छ । जस्तो जर्मनी, दक्षिण कोरियालाई हामीले उदाहरण को रुपमा लिन सकिन्छ । यो भनिरहँदा अमेरिकामा पनि अन्य युरोपियन मुलुकहरुमा भन्दा तुलनात्मक हिसाबले टेस्ट बढी नै भएको पाइन्छ । हामीलाई लाग्न सक्छ अमेरिकामा दिनहुँजसो २ हजारभन्दा बढी मान्छे मरिरहेका छन् । वास्तवमा संयुक्त राज्य अमेरिकाको कुल जनसंख्यालाई हेर्ने हो भने त्यहाँको मृत्युदर अन्य देशको तुलनामा खासै ठूलो होइन । तर पनि, अमेरिकाले यसलाई अलिकति कम गर्न सक्थ्यो । यदि उसले पहिले नै वैज्ञानिकहरुको सल्लाहअनुसार सामाजिक दुरी कायम गर्ने र लकडाउन गरेको भए ।

महामारीबाट उत्पन्न आर्थिक मन्दी र आउँदो भविष्य
अब कुरा गरौँ, यो महामारीबाट भएको आर्थिक मन्दी र त्यसैगरी, यो महामारीबाट संक्रमित विभिन्न देशहरुले कहिले र कसरी बाहिर निस्कन (एक्जिट स्ट्राटेजी) का लागि के कस्ता उपायहरु अपनाउन सक्छन भन्ने बारेमा चर्चा गरौँ ।

१. हर्ड इम्यूनिटी
सर्वप्रथम, सुरक्षित रुपमा यो भाइरसबाट बाहिर आउनका लागि सबैभन्दा उत्तम उपाय भनेको यो विरुद्ध खोपको प्रयोग गर्नु नै हो । तर, अहिलेको परिस्थितिलाई हेर्दा खोपको सहज पहुँच सर्वसाधारणहरुसम्म आइपुग्न कम्तिमा पनि १२ देखि १५ महिनासम्म लाग्न सक्छ । तर, यो भनिरहँदा माथिल्लो वर्गले भने केही पहिले नै पाउन सक्ने संभावना छ । तर जबसम्म सर्वसाधारणहरुसम्म यो सहज रुपमा पुग्दैन यसले समस्याको समाधान गर्दैन । दोस्रो कुरा भनेको सरकारले विभिन्न खालका बन्देजहरुलाई खुला गर्ने जसको कारणले मानिसहरुको आवातजावत पहिले जस्तो हुन गई कम्तिमा पनि ७० प्रतिशत भन्दामाथि यो रोग फैलिन सक्छ र यसले विस्तारै मानिसहरुको यो रोगप्रतिको प्रतिरोधात्मक शक्ति बृद्धि हुन सक्छ । तर, दोस्रो विकल्पलाई लिने हो भने आर्थिक चहलपहल त हुन्छ । तर त्यसको बदलामा धेरै नै संख्यामा मानिसहरुको ज्यान जाने खतरा रहन्छ

२. अत्यधिक टेस्ट विधि । यो भाइरसबाट छिट्टै बाहिर निस्कने हो भने देशहरुले धेरै मात्रामा टेस्ट गरी भाइरसको पहिचानसहित रोग लागेका र नलागेकालाई छुट्याउने ।  रोग लागेकाहरुलाई तत्काल उपचार गर्ने र तिनीहरुसंग सम्पर्कमा आएकाहरुलाई पहिचान गरी आइसोलेसनमा राख्ने तर यसको प्रयोग आर्थिक स्थिति सबल भएका देशहरुले मात्र गर्न सक्छन् । त्यसैले यो उपाय हाम्रो जस्ता अतिकम विकसित मुलुक नेपालमा चुनौतीको विषय बन्न सक्छ ।

अब कुरा गरौँ, हाम्रो देश नेपालले कस्तो विकल्प अपनाउँदा खेरी यो भाइरसबाट पनि बच्ने र अर्थतन्त्रमा पनि कम क्षति हुने सम्भावना हुन सक्छ । अहिलेको नेपालको परिप्रेक्ष्यलाई हेर्दा नेपालको एक मात्र विकल्प भनेको सामाजिक दुरी कायम गर्नु नै हो । यदि यसलाई केही समय गर्न सकेको खण्डमा र विदेशहरुबाट आउने आवतजावतलाई अरु केही समय रोक्न सकेको खण्डमा नेपाल विश्वमा उदारणका रुपमा आफूलाई प्रस्तुत गर्न सक्ने संभावना दरिलो छ । यसो गर्न सक्यो भने नेपाललाई दुई वटा फाइदा हुन्छ । एक, बिमारीहरु अति नै कमी भएको कारण गर्दा यो बाट हुन सक्ने आर्थिक क्षति कम हुन्छ ।

अर्को, नेपालले भैपरी आउने क्षति व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा ठूलो शिक्षा लिन सक्छ । जस्तो कि अहिले बिमारीको दर अन्य देशहरुको तुलनामा निकै नै कम हुँदा पनि सरकारले अन्तबाट सिकेको तयारी बिधि । यदि यो कुराहरु गर्न सकेको खण्डमा विश्वका ठूला ठूला राष्ट्र्को आर्थिक बृद्धिदर नकारात्मक विन्दूमा जाँदा नेपालले यही परिस्थितिका वावजुद पनि आर्थिक बृद्धिदर कम्तिमा २ देखि ३ प्रतिशत हासिल गर्न सक्छ । तर यसको लागि नेपालले स्मरण गर्नु पर्ने कुरा के छ भने कसरी हुन्छ कृषि उत्पादनमा बेरोजगार जनशक्तिलाई प्रयोग गरेर उत्पादन बृद्धि गर्ने ।

अर्कोतिर यो आर्थिक मन्दीको चपेटामा मिडल इस्ट पनि पर्ने हुँदा त्यहाँबाट ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किने सम्भावना छ । यदि त्यो जनशक्तिलाई प्रयोग गर्न सकेको खण्डमा भबिस्यमा विदेश जाने क्रमलाई पनि बिस्तारै रोक्न सकिन्छ । यसले युवाहरुमा सरकारप्रति हेर्ने नजरमा परिवर्तन ल्याउन मद्दत गर्छ । नेपालका छिमेकी मुलुकहरुमा ठूलो आर्थिक मन्दी लाग्ने सम्भावना छ । जस्तो कि गत हप्ता मात्र प्रकासित विश्व बैंकको अनुमानलाई हेर्ने हो भने भारत, पाकिस्तानजस्ता अन्य कैयौँ मुलुकहरुको आर्थिक वृद्धिदर नेगेटिभ हुने सम्भावना दरो छ । यसको फाइदा नेपालले लिनु सक्नुपर्छ ।

विकसित मुलुकको कुरा गर्दा विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको बेलायतले पनि आउँदो जुन महिनामा कम्तिमा पनि ३५% सम्म अर्थतन्त्र कम हुन सक्ने संकेत आज मात्रै यहाँका अर्थ मन्त्रीले बताएकाे कुरा बीबसीले जानकारी गराएको छ । तर पनि यदि बेलायतले अत्यन्तै चलाखीपूर्ण तरिकाले यहाँका उद्योग र कृर्षि फारामहरुलाई अलि बढी प्राथमिकता दिएर तिनीहरुको उत्पादन बढाउन सक्यो भने आर्थिक वृद्धिदर सकारात्मक नभएपनि नकारात्मकतर्फ जाने सम्भावनालाई अलिक कम गर्न सकिन्छ ।

(लेखकले बेलायतको कार्डिफ स्कूल अफ मेनेजमेन्टबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गर्नु भएको छ ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक