एनआरएनए दक्षिण कोरियाको उदाहरणीय कार्य

 

एनआरएनए कोरिया अध्यक्ष सुवेदी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले संकटको बेला कोभिड-१९ किट्स नेपाल पठाएर उदाहरणीय काम गरेको छ । संसारभर छरिएका एनआरएनएलाई कसरी काम गर्न सकिन्छ भन्ने सन्देशसहित ‘रोलमोडल’ एनसीसीका रुपमा नेपालीका सामु संस्थालाई उभ्याएको हो । एनआरएनएले जन्मभूमि नेपाललाई कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि पहिलो पटक किट्स उपलव्ध गराएको छ ।

शुक्रबार नेपाल सरकारले कोरियन किट्स पाएको छ । नेपालीहरु प्रवासमा बसेर पनि जन्मभूमिका लागि काम गर्न सक्छन् भन्ने पहिलो उदाहरण बन्न एनआरएनए दक्षिण कोरिया सफल भएको छ । कुशल नेतृत्वकर्ता संगठनमा रहँदा गर्न सक्ने कामका उदारण खोज्नु पर्दा एनसीसीमध्ये पहिलो नम्बरमै दक्षिण कोरिया आउने गरेको छ । सामाजिक संजाल हेर्दा लाग्छ यति बेला एनआरएनए कोरियाले एउटा साँच्चिकै सफल नेतृत्व पाएको छ । एनआरएनए अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा. बन्द्री केसीलगायत अभियन्ताहरुले सामाजिक संजालमा कोरियाको राम्रो कामलाई खुलेर प्रसंसा गरेका छन् । ‘लिडरसीप भनेको यस्तो हुनुपर्छ । सबै समुदायलाई एउटै सुत्रमा बाँधेर अघि बढाउन सक्ने, एनआरएनए अध्यक्ष कुमार पन्तले प्रफुल्ल मुद्रामा गर्वका साथ वीनेपालीलाई भने, ‘यो अभियानमा निरन्तर सम्पर्कमा रहेर एनआरएनए कोरिया अध्यक्ष यज्ञराज सुवेदीसँग म निकै खुसी छु ।’

एनआरएनए कोरियामा देखिएको अदभूत एकता ८४ वटै एनसीसीमा फैलिनेमा अध्यक्ष पन्त आशावादी छन् । नेपाल सरकारसँग निरन्तर सम्पर्कमा रहेर विदेशीस्थित नेपालीलाई एनआरएनएमार्फत सहयोग गर्न यतिबेला अध्यक्ष पन्त आफैँ लागिरहेका छन । कोरियाबाट सामान लग्ने सबै कागजी प्रक्रियामा नेपाल सरकारसँग पन्तले महत्वपूर्ण भूमिका निर्वाह गरे । एउटा नेतृत्वकर्तालाई आफ्नो टिमका रहेका साथीहरुले राम्रो काम गर्दा खुसी हुनु पनि स्वभाविक हो ।

यता, कोरियाको साथीहरुको विश्वास अनुकरणीय रहेको बताउँदै सुवेदी गैरआवासी नेपालीहरु नेपालप्रति माया र प्रेम दर्शाएकोमा नतमस्तक छन् । ‘हाम्रो एक किट एक व्यक्ति’को नाराले दक्षिण कोरियामा बस्ने नेपाली समुदायको मन छोयो, अध्यक्ष यज्ञराज सुवेदीले भने, ‘जन्मभूमिलाई अप्ठ्यारो पर्दा कर्मभूमिबाट सहयोग गर्नुपर्छ भन्ने सकारात्मक सोचकै कारण तीन दिनभित्र एक करोड ४० लाख रुपैयाँ जम्मा गर्न सफल भयौैं ।’

एनआरएनए कोरियाको संयोजन, यसका अभियन्ताहरु तथा विभिन्न संस्थाहरु एकाकार भएर हिँडदा उदाहरणीय काम गर्न सफल भएकोमा एनआरएनए कोरिया अध्यक्ष सुवेदी खुशी छन् । ‘कोरियामा रहेका नेपाली समुदाय यस्तो अनुकरणीय समुदाय हो, जसले नेपाल विकासका लागि थुप्रै सहयोगी काम गर्न सक्छ,’ अध्यक्ष सुवेदीले भने, ‘सामूहिक प्रयासले पठाएको सामानको चाँडो भन्दा चाँडो प्रयोग होस भन्ने चाहन्छु ।’

नेपालमा झापा घर भएका सुवेदीले एनआरएनए दक्षिण कोरियाको नेतृत्व सम्हालेपछि सामाजिक सेवाको १५ वर्षे अनुभव एनआरएनएलाई उचाईमा पुर्याउन खर्च गरेकोमा ८४ वटै एनसीसी खुसी छन् ।

दक्षिण कोरियाले शनिवार नेपाल पठाएको पहिलो किस्तामा ४ हजार टेस्ट किट, ५ सय स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई), कोभिड १९ डिटेक्सन किट्स, जसबाट ४ सय भन्दा बढीलाई टेस्ट गर्न सकिने खालका सामग्री छन् । एनआरएनए दक्षिण कोरिया अध्यक्ष सुवेदीका अनुसार योजनाका सम्पूर्ण हिसाब किताब सार्वजनिक गरिने छ । कार्यसमितिका साथीहरु, अभियन्ताहरु, समुदायका अगुवाहरु, संघसंस्थाहरु र व्यक्तिहरु तथा एनआरएनएका पदाधिकारीहरुको सल्लाहमा सबै सामग्रीहरु खरीद गरिएका हुन् ।
कोभिड १९ नियन्त्रणका लागि विश्वभर कोरियाको मोडल अनुकरणीय छ । बढी भन्दा बढी व्यक्तीलाई जाँच गरि कोभिड १९ नियन्त्रण गर्न सफल भएको अनुभव दक्षिण कोरियासँग छ ।

एनआरएनए कोरिया अध्यक्ष सुवेदीले नेपाल सरकारलाई आगामी दिनमा थप किट्स आवश्यक भए अनुभवसहित थप सामग्री पठाउन सदैव तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री