कोरोना अब त छोड न !

भावना परिष्कृत सुनुवार

हे कोरोना अब त छोड न
अति भयो तिम्रो ताण्डव अब त रोक न
म कसम खाएर भन्छु
आफ्नो बानीलाई सुधार्छु
तिमी अकारण आएनौ
म मान्छेको कुकर्मले तिम्लाई निम्त्यायो
यो सृष्टिको नियम बुझाउन तिमी आएछौ
म मान्छेलाई अनुशासन सिकाउन तिमी आएछौ
म मान्छेको अपराधमा सजाय दिलाउन तिमी आएछौ
म मान्छेलाई दानवता त्यागी मानवता तुल्याउन तिमी आएछौ
हे कोरोना अब त छोड न
अति भयो तिम्रो ताण्डव अब त रोक न
म कसम खाएर भन्छु
प्रकृतिको नियममा म चल्छु
जीवन दायिनी रुख बिरुवाको नास म गर्दिन
धर्तीको गहना हरितलाई म लुट्दिन
स्वर्गिक पर्यावरणमा म प्रदूषणको बिष घोल्दिनँ
पशुपंक्षी, किरा फट्यांग्रा, सरिसृप आदिलाई म भक्षण गर्दिनँ
म जीवमा सर्वश्रेष्ठ प्राणी आफ्नो मुलभूत धर्मलाई भुल्दिनँ
हे कोरोना अब त छोड न
अति भयो तिम्रो ताण्डव रोक न
जब लकडाउनको कक्षमा म प्रवेश गरेँ
विवेकरुपी आँखी झ्यालको चक्षुबाट जगतलाई नियालेँ
आकासमा धुवाँको मुस्लो फाट्दै थियो
धर्तीमा वृक्षहरुको घाउमा लेप लाग्दैथियो
मेरो बगैँचामा चराहरु गाउँदै थिए
घर आँगनीमा लोखर्के, खरायो, न्याउरी निर्धक्क नाच्दै थिए
पर सुनसान रोडमा मृग कस्तुरी, उन्मुक्त विचरण गर्दै थिए
धराले सुस्तरी नयाँ काँचुली फेर्दै थियो
अब मलाई जोगाउनु तिम्रो अस्तित्व मेरो जिम्मा भन्दै थियो
अम्बरबाट सुधाको बर्षात हुँदै थियो
धुवाँ र धुलोले मलाई नढाक्नु तिम्रो फोक्सोको हिस्सा हुँ भन्दै थियो
हो कोरोना मबाट भुल भयो धर्तीको सन्तुलन बिगार्ने अपराध भयो
आफ्नो कर्मफल भोग्दैछु म संक्रमित भएर
दण्डित हुँदैछु म नियतिको इजलासमा अकाल मृत्युमा होमिएर
कोरोना अब त छोड न
अति भयो तिम्रो ताण्डव रोक न
जसरी सृष्टिमा म छु अरु धेरै जीव छन् तिमी पनि छौ
हामी सबैको साझा बसेरा हो नि यो धर्ती त
आ-आफ्नो क्षेत्रभित्र एक सिमारेखा भित्र
यो जगतमा जगदीशले हामी जीवलाई
तैनाथ गरेको छ प्रकृतिको नियममा बाँधेको छ
म मान्छु त्यो नियमको उलंघन गर्ने कुकृत्य मबाट भयो
मैले भोगेको कोभिड नाइन्टिन तिम्रो सजायले
म मान्छे हुनुको अहंकारको देहावसान भएको छ
आफू सर्वश्रेष्ठ हुनुको उपाधिमा धब्बा लागेको छ
लज्जाले, अपराधबोधले यो शिर तिम्रो चरणमा झुकेको छ
त्राही त्राही हुँदै आफ्नो तमाम गल्तीलाई सुधार्ने प्रण गर्दै
यो मान्छे तिमीसंग तिम्रो कारणले अब मृत्यु नहोस् भन्न चाहन्छ
तिमी आफ्नो तबाहीको गतिलाई रोक लगाएर
यो विश्वको मान्छेहरुलाई सुधारको निम्ति मौका प्रदान गर
पुन: यो धर्तीमा उ आफूलाई सर्वश्रेष्ठ हुनुको सही अर्थ प्रमाणित गर्न चाहन्छ
कोरोना अब त छोड न
अति भयो तिम्रो ताण्डव अब त रोक न

बेलायत

प्रतिक्रिया

सम्बन्धित सामाग्री