‘सकेसम्म बाहिर ननिस्कनुस् , मानसिक स्वास्थ्यको ख्याल गर्नुस्’

डा. मोहन थापा लन्डनस्थित वाटफोर्ड जनरल अस्पतालमा कन्सल्टेन्ट फिजिसियन एवं एक्युट मेडिसिन डिपार्टमेन्टमा क्लिनिकल डिरेक्टर हुन् । करिब दुई दशकदेखि चिकित्सा पेशामा आवद्ध थापा सन् २०१३ देखि वाटफोर्ड जनरल अस्पतालमा कार्यरत छन् । नेपाल छंदा धरान वीपी कोइराला अस्पतालमा कार्यरत उनी विगत १७ वर्षदेखि बेलायतमा छन् । कोभिड १९ संक्रमण बढेसंगै व्यस्त रहेका डा. थापासंग कुराकानी गरेर नेपाल पत्रकार महासंघ युकेका संस्थापक अध्यक्ष नवीन पोखरेलले नेपाल पत्रकार महासंघ युके शाखाको कोरोनासम्बन्धी सचेतना अभियानअन्तर्गत तयार पारेको सामग्री:

कोभिड १९ चीनमा भर्खर शुरु हुंदा धेरै टाढाको रोग जस्तो लाग्थ्यो । जब युरोपमा संक्रमण देखिन थाल्यो, फेब्रुअरीदेखि हाम्रो अस्पतालमा तयारी शुरु भयो । हाम्रोमा ९ मार्चमा कोरोना भाइरसले पहिलोपटक एकजना बिरामीको मृत्यु भएपछि बीबीसीमा समाचार बनेको थियो । अहिले बेलायतमा दिनहुं सयौं मर्न थालेका छन् । शुरुका दिन थोरै केस आउंदा व्यवस्थापन सजिलो थियो । अहिले बिरामी यति हुन थाले कि विशेष वार्डभित्र क्याबिनमा नराखी एकै ठाउंमा ओपन वार्डमा राख्नुपर्ने स्थिति छ ।

विगत दुई सातादेखि अरु बिरामी धेरै कम आउन थालेका छन् । अहिले शंकास्पद कोभिड बिरामी दिनमा करिब ३० देखि ४० जनासम्म आउंछन् । बेलायतका सबै अस्पताल कोभिड बिरामीले मात्र भरिन थालेको छ । हाम्रोमा अन्य अस्पताल जस्तै ‘डेडिकेटेड कोभिड वार्ड’ छ । सुन्दा नराम्रो लाग्छ तर कोभिड बिरामीका लागि भनेर डर्टी एरिया अथवा संक्रमण हुन सक्ने र नन कोभिड बिरामका लागि क्लिन एरिया छुट्टाइएको छ । अहिले संक्रमण ‘पिक’ मा पुगिरहेको छ । यसको मतलब केही साताभित्र कोभिड १९ बेलायतमा झन् भयावह हुने अवस्थामा छ ।

कोभिडका शंकास्पद बिरामी कोही हिंडेरै आउंछन् । कोही जिपी सर्जरीले अस्पताल जानु भनेर आउंछन् । कति एनएचएस-१११ नम्बरमा फोन गरेर अनि केही एम्बुलेन्समार्फत आफै अस्पताल आइपुग्छन् ।

कोभिड १९ का लक्षण

श्वासप्रश्वासमा गाह्रो, ज्वरो ३७.८ वा त्यो भन्दा बढी, नयां सुख्खा खोकी निरन्तर लागिरहने, नाक बगिरहने, घांटी, जीउ दुख्ने कोभिड १९ का लक्षण हुन् । बिरामीलाई एम्बुलेन्सबाट निकालेपछि शुरुमा कोभिड वेटिङ एरियामा राखिन्छ अनि ब्लडप्रेसर, तापक्रम, अक्सिजन लेभल, निमोनिया छ छैन जांचिन्छ । नेजल स्वाब लिइन्छ । डायबेटिज, ब्लडप्रेसर, क्यान्सर, श्वासप्रश्वास समस्या छैन्, गर्भवती होइन् र स्टेबल बिरामी अर्थात एक्सरे गर्दा निमोनिया देखिएन, सबै क्लियर छ भने घर पठाउंछौं हामी ।

त्यस्ता बिरामीलाई अस्पतालले १४ दिनसम्म घरैमा बस्न सुझाउंछ र दैनिक फोन गरेर अवस्था बुझ्छ । पुरानो रोग भएका वृद्धवृद्धा वा सिभियर सिम्टम्स् ग्रुपका बिरामी आए भर्ना गरि हाल्नुपर्ने हुन्छ ।

कोभिड बिरामी भनेर आएपनि आधा जस्तो बिरामी घरैमा उपचार गरेर निको भएको पाइएको छ ।

अहिले डाक्टर, नर्स सबैमा त्रास छ । हाम्रो अस्पतालमा प्रत्यक्ष खटिइरहेका जुनियर डाक्टर, नर्स, हेल्थ केयर असिसटेन्ट, पोर्टर, क्लिनर धेरै नेपाली छन्। सबैको सकृय योगदान छ । ती सबैको आत्मविश्वास बढाउनु पर्ने बेला आएको छ ।

बिरामी जांच्न विश्व स्वास्थ्य संगठनको गाइडेन्स अनुसार पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पिपीइ) लगाएर जानु भनेका छौं । पिपीइ लगाएर लामो सिफ्ट काम गर्न सकिंदैन । त्यसकारण स्वास्थ्यकर्मीलाई कोभिड एरियामा बढीमा ३ देखि ४ घण्टा राख्ने गरिएको छ । बेलायतमा सरकारको पूर्ण तयारी देखिएको छैन । ब्रिटिश मेडिकल एसोसिएसनले पनि पर्याप्त पिपीइको व्यवस्था हुन सकेन भनेको छ । इन्टेन्सिभ केयर युनिट र हाइ फ्लो अक्सिजन दिएर राखिएको वार्डमा बिरामी जांच्न फुल पिपीइ लगाउनैपर्छ ।

मास्क, सर्जिकल गाउन, पन्जा बेसिक पिपीइ भए । हेड कभर, आंखा छोप्ने भाइजर, एफएफपी थ्री मास्क, सर्जिकल गाउन, डबल ग्लोभस, खुट्टा छोप्ने ओभर बुट्स आदि फुल पिपीइ हुन् । अक्सिजन लेभल कम भएर हाइ फ्लो अक्सिजन दिन परे बिरामीलाई बेहोस बनाइ इन्टेन्सिभ केयरमा ट्युब छिराएर भेन्टिलेटरबाट अक्सिजन दिइन्छ । यस्तो बेला फुल पिपीइ आवश्यक छ ।

कोरोना भाइरस सबैका लागि नयां अनुभव भएकाले मनोवैज्ञानिक डर, त्रास हुनु स्वाभाविक हो । व्यक्तिगत रुपमा मलाई पनि त डर छ नि । तर कन्सल्टेन्ट फिजिसियन भएकाले जुनियर डाक्टरलाई ‘पोजिटिभ इनर्जी’ दिनुपर्छ मैले । कोरोनालाई परिवार आउन वा भेट्न नपाउने निर्दयी रोग (क्रुयल डिजिज) भन्छु म त । त्यसकारण बिरामीले हामीलाई बढी विश्वास र भरोसा गरेका हुन्छन् । उनीहरुको रेखदेख हाम्रो दायित्व हो । अस्पताल भर्ना भएका बिरामी डिस्चार्ज हुंदा हामीलाई थप उत्साह मिल्छ ।

रोग लाग्दैमा आत्तिहाल्नु हुंदैन् । धेरैलाई निको पनि भएको छ । तर, युवा र पुरानो रोग नभएकालाई केही हुन्न भन्ने चाहिं छैन् । वृद्धवृद्धा र पुरानो रोग भएकालाई छिटो संक्रमण हुन्छ र उनीहरु बढी जोखिममा छन् ।

नेपलिज डक्टर्स एसोसिएसन यूकेले पनि हालै जानकारीमूलक लिफलेट सार्वजनिक गरेको छ, त्यो अनुशरण गर्नुस् । तपाईंहरु सबै बेलायत सरकारको सल्लाह मानेर नियमित हात धुनुहोस् । जमघट नगर्नुहोस् । मानवीय संकटको बेला वरपरका अशक्त, बृद्धबृद्धालाई पनि रेखदेख गर्नुस् । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनुस् , मानसिक स्वास्थ्यको ख्याल गर्नुस्, आफूलाई बिजी राख्ने गर्नुस्, कोरोनाको आधिकारिक बाहेक समाचार धेरै नहेर्ने, यति मरे उति मरे भनेर गणना नगर्ने गर्नुहोस् । रोग लागेपनि स्वस्थ हुनुहुन्छ भने नियन्त्रण हुन्छ तर समय लाग्छ । यसमा धैर्यता आवश्यक छ । सबैजना घरैमा बसेर कोभिड १९ नियन्त्रणमा सहयोग गर्नुस्, हाम्रो त्यही अपिल छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री