लन्डन । भूतपूर्व गोर्खा ७७ वर्षीय बीर्खबहादुर राई रेडिङमा बस्छन् । २००८ मा बेलायत आएका उनको दैनिकी अहिले दिक्कलाग्दो छ । बाहिर हिंडडुल गर्न निस्कौं कोरोना महामारीको सन्त्रास छ, घरै बसौं दिन पट्यारलाग्दो । ‘त्यो भाइरस पनि हामी जस्ता बुढाबुढीलाई छिटो सर्छ भन्ने सुनेको छु के पो हुने हो खोइ’, उनमा चिन्ता छ ।
लन्डन बस्ने ८३ वर्षीय अवकासप्राप्त मेजर मानबहादुर राई गोर्खा आन्दोलनमा अझै खटिने अभियन्ता हुन् । बेलायती सांसददेखि मन्त्रीसम्म आफ्ना गुनासा सुनाउन र नेपाली समुदायमा जानकारी सभा हुंदा यथार्थ बताउन उनी नपुगेको दिन छैन् । समान पेन्सनको चिन्ता भन्दा पनि कोरोना भाइरसको पो बढि त्रास र चिन्ता हुन थाल्यो, उनले सुनाए, रोगले थलिएका बुढाबुढीलाई छिटो संक्रमण हुन्छ भन्छन्, कति दिन पो हो बांचिने । राईले आफ्ना समकालिन धेरै भूपू गोर्खामा चिन्ता छाएको बताए ।
राईको जस्तो पीडा अहिले अन्य सबै भूतपूर्व गोर्खा वृद्धवृद्धामा छ । नेपाली समुदाय पनि आतंकि छ महामारीबाट । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राई भूतपूर्व गोर्खा वृद्धवृद्धा चिन्तित रहेको बताउंछन् । ‘आफ्ना सन्तान जागिर, व्यवसायमा व्यस्त रहंदा उनीहरुको रेखदेख गर्ने पनि कोही छैनन् । समाचार पढ्न जान्दैनन्, बुझ्दैनन्’, राईले भने, ‘हामीले देख्दा भेट्दा सकेसम्म सचेत गराउने हो तर उनीहरु जोखिममा छन् । विशेष गरि सन् १९६० को दशकमा मलेसियामा युद्ध लडेका ७५ देखि ८५ वर्ष सम्मका वृद्धहरुको अवस्था दयनीय छ ।’
राईका अनुसार, बेलायतमा भूतपूर्व गोर्खा वृद्धवृद्धाको संख्या २० हजार हाराहारी छ । समानताका लागि संघर्षरत समितिले अहिले बेलायतका ६५० सांसद र हाउस अफ लर्डस् प्रतिनिधिलाई इमेल वा भेटेरै आफ्ना यथार्थ कुरा सुनाइरहेको छ । ति भेटमा बुढाबुढीकै कल्याण र हकहित प्रमुख विषय बन्छ ।
‘नेपाल सरकारको औपचारिक पत्र र हाम्रो आन्दोलन दवावपछि पनि बेलायत भाग्न खोजिरहेको छ । यसले भयावह स्थिति निम्त्याउने देखिन्छ’, राई भन्छन् ।
गैर आवासीय नेपाली संघ बेलायतले पनि एक सूचना जारी गर्दै नेपाली समुदायमा रहेका वृद्धवृद्धा तथा असहायहरुलाई सहयोग गर्न अपिल गरेको छ । संघले भाइरसको महामारीबाट उत्पन्न विषम परिस्थितिमा सकेसम्म कुनै देशको भ्रमण नगर्न र नेपाल सरकारले जारी गरेको भ्रमण निर्देशिका बमोजिम नेपाल यात्राको योजना नबनाउन समेत अपिल गरेको छ ।
कोरोना भाइरसका कारण बेलायतमा मंगलबारसम्म ७१ जनाको मृत्यु भइसकेको छ भने झन्डै १९५० जनामा संक्रमण देखिएको छ । केही वरिष्ठ सरकारी अधिकारीका अनुसार हालसम्म संक्रमितको संख्या ५ देखि १० हजार हुन सक्छ ।
बेलायत सरकारले भाइरस फैलन नदिन मानिसहरुको जमघट हुने कन्सर्ट, फुटबल म्याच वा सम्मेलन गर्न प्रतिवन्ध लगाउने तयारी गरेको छ । ब्रिटेनमा तय भएको लन्डन म्याराथनसहित कयौं प्रमुख खेल गतिविधि र सांस्कृतिक कार्यक्रम स्थगित गरिएका छन् । सर्वसाधारणका लागि संसद भवन प्रवेशमा पनि रोक लगाइएको छ भने मेमा हुने तय भएको स्थानीय तथा लन्डन मेयर निर्वाचन एकवर्ष सारिएको छ ।
ब्रिटिश सरकारले कोरोन भाइरसको संक्रमण फैलनबाट अब रोक्न नसकिने स्वीकार गरेको छ । ब्रिटिश अधिकारीहरुले दोश्रो चरणमा संक्रमण फैलने गतिलाई सुस्त बनाउने र संक्रमित हुने मानिसहरुको संख्या कम गर्न प्रयास गरिने जनाएका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न