एनआरएनए यूके अध्यक्ष एनआरएन मुद्दा बोकेर राजनीतिक नेतृत्वसम्म

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष पुनम गुरुङ २ साता लामो नेपाल भ्रमण पूरा गरी फर्किएकी छन् । नेपालमा रहँदा अध्यक्ष गुरुङले नेपाल सरकार र नीति निर्माणको उपल्लो तहमा रहेको उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता र छलफल गरेकी छन् ।
अध्यक्ष गुरुङले उपराष्ट्रपति नन्दकिशोर पुन, पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), संसदको राज्य व्यवस्था समितिकी अध्यक्ष शशी श्रेष्ठ र सदस्य राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरका मेयर मानप्रसाद जिसी, पूर्व उपप्रधानमन्त्री कमल थापालगायत नेताहरुलाई भेटेकी हुन् । 
सबै भेटवार्तामा गैरआवासीय नेपालीको नागरिकता निरन्तरता, सम्पतिमाथिको अधिकार, विदेशबाटै मत दिन पाउने अधिकार, भूतपूर्व गोर्खाहरुको मुद्दा लगायत विषयमा कुरा उठाएको अध्यक्ष गुरुङले बताएकी छन् । ‘मैले सबै नेताहरुसमक्ष गैरआवासीय नेपालीहरुसंग सरोकार राख्ने विषयहरुमा छलफल गरें । हामी गैरआवासीय नेपालीहरुको भावनालाई सम्बोधन गर्ने कार्यमा ढिलाई नगरिदिन आग्रह गरें’- बेलायत फर्किएपछि अध्यक्ष गुरुङले भनिन्,’सबैको प्रतिक्रिया राम्रो छ । हामीहरु एनआरएनका मुद्दामा सहमत छौं, सकारात्मक छौं भन्नुभएको छ ।’
छलफलमा गैरआवासीय नेपालीको नागरिकताको विषयलाई उच्च प्राथमिकतासहित राखेको जनाउँदै अध्यक्ष गुरुङले त्यससम्बन्धी विधेयक छिट्टै पारित भएर कार्यान्वयनमा आउने आश्वासन पाएको बताइन् । बेलायतमा नेपालीहरुको अवस्था, बेलायतबाट नेपालमा ‘स्किल ट्रान्सफर’ को सम्भावना, नेपालमा बेलायती लगानीको प्रवर्धन लगायत विषयमा पनि अध्यक्ष गुरुङ र नेताहरुबीच छलफल भएको थियो । 
त्यसअघि पोखरामा सम्पन्न १४ औं सफल पोखरा म्याराथनमा एनआरएनए यूकेको जम्बो टोलीको नेतृत्व गर्दै अध्यक्ष गुरुङ पनि सहभागी भएकी थिइन् । अध्यक्ष गुरुङले पोखराको पर्यटन प्रवर्द्धन र आर्थिक विकासको लक्ष्यसहित भूतपूर्व खेलाडी मञ्च पोखराले आयोजना गरेको म्याराथनलाई एनआरएनए यूकेबाट संकलित १ लाख रुपिया सहयोग समेत प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री