गोर्खा प्यालेसद्वारा भिसीको सालिक बनाउन ४ हजार पाउण्ड प्रदान

लण्डन । फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टले आफ्नो २१ औं वार्षिकोत्सवका अवसरमा संकलित ४ हजार पाउण्ड भिसीको सालिक बनाउन प्रदान गरेको छ ।

गोर्खा प्यालेसले गत १६ फेब्रुअरी आइतबार आयोजित कार्यक्रमबाट संकलित रकममा थपेर उक्त सहयोग प्रदान गरेको हो । अल्डरसटको प्रिन्सेस गार्डेनमा भिक्टोरिया क्रस पदक विजेता पहिलो नेपाली कुलबीर थापाको सालिक निर्माण हुंदैछ ।

‘मैले जीवनको सबैभन्दा बढि समय करिब २१ वर्ष रसमोरमै बिताएं । होम अफ ब्रिटिश गोर्खा भनिने रसमोर अल्डरसटमा पहिलो भिसी विजेताको सालिक बन्न लाग्दा स्वतस्फूर्त सहयोग गर्ने सोच आयो’- गोर्खा प्यालेसका प्रवन्ध निर्देशक सूर्य गुरुङले भने । उनले भिसीको सालिक नेपाल, समस्त नेपाली र गोर्खाको गौरवको विषय भएकाले उक्त प्रोजेक्टलाई सहयोग गर्न अरुलाई पनि अपिल गरे ।

स्थानीय रसमोर बरो काउन्सिलकी मेयर सु कार्टरको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव कार्यक्रममा डिष्ट्रिक्ट लिडर डेभिड क्लीफोर्ड, काउन्सिलरहरु लगायत रेष्टुरेन्टका नियमित ग्राहक सहभागी थिए ।

परिवारका साथ गोर्खा प्यालेसका प्रवन्ध निर्देशक सूर्य गुरुङ

कार्यक्रममा मेयर कार्टरले गोर्खा सैनिक, रेष्टुरेण्ट खाना र उसको च्यारिटी कार्यको प्रशंसा गरेकी थिइन् । काउन्सिल लिडर काउन्सिलर डेभिड क्लीफोर्डले भिसी थापाको सालिक निर्माणमा सहयोग गरेकामा रेष्टुरेन्टलाई धन्यवाद दिए । स्मरण रहोस्, उक्त सालिकका लागि रसमोर बरोले जग्गा उपलब्ध गराई रेखदेखको जिम्मा समेत लिएको छ ।

गोर्खा प्यालेसका प्रवन्ध निर्देशक गुरुङकी धर्मपत्नी बबिता गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा ६ वर्षीय छोरा साकारले स्वागत मन्तब्य दिंदै सालिक निर्माण र ‘भिजिट नेपाल २०२०’ अभियानलाई सघाउन अपिल गरेपछि मेयरसहित उपस्थित पाहुना दंग परेका थिए । मेयर कार्टरले त मन्तव्यका क्रममा साकारलाई अगाडि बोलाएर उनको तारिफ गर्दै फोटो खिचाइन् ।

कार्यक्रममा ‘भिजिट नेपाल २०२०’ को प्रचारप्रचारका लागि टेम्पोमार्फत पृथक शैली अपनाइएको थियो । भिजिट नेपालको पोस्टर राखिएको टेम्पोमा बसेर सहभागीले तस्विर समेत लिए । नेपाल भ्रमण वर्ष प्रचारका लागि विदेशीहरुलाई उक्त टेम्पोमा घुमाउने योजना समेत गोर्खा प्यालेसको छ । रेष्टुरेन्टका सबै सदस्यहरुले पनि ‘भिजिट नेपाल २०२०’ को लोगो अंकित टिसर्ट लगाएका थिए ।

वार्षिकोत्सवमा विभिन्न सामानहरुको लिलाम बढाबढ र ‘राफल ड्र’ गरि च्यारिटी रकम संकलन गरिएको थियो । गोर्खा प्यालेसले स्थापनाकाल देखि नै बेलायत र नेपालमा पालैपालो च्यारिटी गर्दै आएको छ । तस्बिर- मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री