लन्डनमा व्यापार वृद्धिबारे परामर्श

लन्डन । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स 
(बिएनसीसी) ले व्यापार वृद्धिसम्बन्धि रणनीति र बेलायती करप्रणालीबारे जानकारी दिन लन्डनमा एक सेमिनार गरेको छ ।

इलिङस्थित डबल ट्री हिल्टनमा बुधबार सांझ आयोजित ‘बिजनेस हेल्थ चेक एण्ड बिजनेस ग्रोथ स्ट्रयाटेजी’ विषयक सेमिनारमा नेपाली तथा बेलायती व्यवसायी सहभागी थिए । सहभागीलाई ‘बिजनेस ग्रोथ स्ट्रयाटेजी’ र बेलायतको कर प्रणालीबारे जानकारी तथा परामर्श दिइयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिएनसीसी अध्यक्ष डा. कपिल रिजालले आफ्नो संस्थाले नेपालमा लगानी र बेलायतमा व्यवसाय प्रवर्धनका लागि पुलको रुपमा सहयोगी भूमिका निर्वाह गरिरहेको बताए । उनले बेलायतसंग द्विपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता (बिप्पा) र नेपालमा कायम रहेको दोहोरो कर प्रणाली हटाउने पक्षमा सरकारसंग पहल भइरहेको जानकारी पनि दिए ।

सेमिनारमा बिएनसीसी उपाध्यक्ष बिराज भट्टले नेपालीद्वारा सञ्चालित नयां ‘स्टार्टअप’ कम्पनीका लागि समेत उपयोगी हुने गरी कार्यक्रमको अवधारणा ल्याइएको बताए । भट्टले बिएनसीसीको संक्षिप्त परिचयसहित संस्थाका भावी कार्यक्रम तथा गतिविधिबारे अवगत गराएका थिए ।

सो अवसरमा बेलायती बिजनेस कोच चाल्स मक्लिलाण्डले व्यवसाय कसरी वृद्धि गर्ने भन्नेबारे रणनीतिक प्रस्तुति दिए । व्यवसायमा आउने उतारचढाव र त्यसको सामना गर्न आवश्यक कदमबारे उनले सहज तरिकाले वर्णन गरेका थिए । अर्का वक्ता गोल्ड मेडलिष्ट अकाउन्टेन्ट सरोज सापकोटाले बेलायतको कर प्रणालीका विभिन्न पक्षबारे प्रस्तुति दिए ।

बिएनसीसीका प्रमुख कार्यकारी (अनरेरी) रिचर्ड पेलीले सञ्चालन गरेको प्रश्नोत्तर सत्रमा सहभागीका जिज्ञासामा अध्यक्ष डा. रिजाल, अन्य पदाधिकारी र वक्ताहरुले जवाफ दिएका थिए ।

त्यसक्रममा ब्रिटेन नेपाल एनजिओ नेटवर्क (ब्रान्गो) का अध्यक्ष डेभिड थोमस र सिइओ निक हिन्टनले नेपालमा ११ सय ३९ बेलायती च्यारिटी क्रियाशिल रहेको जानकारी दिंदै उनीहरुको सहभागितामा आउंदो मेमा लण्डनस्थित नेपाली दूतावाससंग मिलेर एक विशेष कार्यक्रम गर्न लागिएको जनाए ।

कार्यक्रममा बेलायतस्थित नयां-पुराना नेपाली व्यवसायी तथा पत्रकारसहित करिब ६० को सहभागिता थियो ।

तस्बिर- शिव भण्डारी/नरेन्द्र बस्नेत

प्रतिक्रिया

सम्बन्धित सामाग्री