आसफोर्डबासी नेपालीको सपना : नेपाली घर

लन्डन । इतिहासका विभिन्न कालखण्ड हेर्ने हो भने वीर गोर्खालीहरूको इतिहास निकै बलशाली छ । गोर्खालीहरूको साहस र शक्तिको सदुपयोग गर्दै विकसित र शक्तिशाली राष्ट्रहरूले संसारका धेरै कठिन युद्ध जित्न सफल भएका छन् । शत्रु सामु कहिल्यै नझुक्ने बरु ज्यानको आहूति दिने, बन्दुक, गोली र आधुनिक हातहतियारविरुद्ध गोर्खालीको नाङ्गो खुकुरीले प्रतिकार गरेर विजय प्राप्त गरेको गर्विलो इतिहास नै आज वीर गोर्खालीको पहिचान बनेको छ । यसरी वीर गोर्खालीहरूले अन्तर्राष्ट्रिय भूगोलमा आफ्नो गर्विलो इतिहास रचना गर्न सफल भएका छन् ।

आफ्नो अधिकारका लागि आन्दोलन गरेर सन् २००४ मा आंशिक रूपमा र सन् २००९ मा पूर्णरूपमा अवकाश प्राप्त गोर्खालीहरू आवासीय सुविधा प्राप्त गरेर बेलायतका विभिन्न स्थानमा बस्दै आएका छन् । आफ्ना सन्तानहरूको सुन्दर भविष्यका लागि हजारौं गोर्खालीहरू बेलायतको दक्षिणपूर्वमा रहेको आसफोर्ड केन्ट शहरलाई कर्मथलो बनाएर बसोबास गरिरहेका छन् । गोर्खालीहरूले अहिले नेपालको शिक्षा, कला, संस्कृति र समाजसेवालगायत विभिन्न क्षेत्रमा बेलायतमै बसेर योगदान गरिरहेको अवस्था छ ।

आसफोर्डबासी गोर्खालीहरूद्वारा गोर्खाली समाजको उन्नति, हकहित र विकासका लागि आसफोर्ड केन्टमा सन् २००४ मा सगरमाथा गोर्खा नेपाली समाज नामक संस्था स्थापना गरियो । उक्त संस्थाद्वारा यो शहरका सबै गोर्खाली मिलेर नेपाली सभासम्मेलन, कला, साहित्य, शिक्षा, खेलकुद, चाडपर्व र संस्कार मनाउने एवम् विभिन्न गतिविधिहरू ब्रिटिश कम्युनिटी हलहरु भाडामा लिएर सञ्चालन गर्ने गरिन्छ । भविष्यमा आफ्ना लागि कार्यक्रम हल नपाउने सम्भावना देखिएकाले नरेन्द्र लिम्बुको अध्यक्षतामा गठन भएको कार्यसमितिले सन् २०११ मा नेपाली घर खरिद तथा निर्माण परियोजना प्रस्ताव पास गरी बजेटका लागि विभिन्न कार्यक्रमहरूद्वारा आर्थिक रकम संकलन अभियान सुरु गरयो । सन् २०११ देखि २०१८ सम्म अध्यक्षहरू नरेन्द्र लिम्बु, पोपिराज राई, श्रीप्रसाद लिम्बु, भाष्कर तितुङलगायतको योगदान छ । तिनीहरूका सबै कार्यसमितिले गोर्खा च्यारिटी डिनर गरी अन्य कार्यक्रमहरूबाट आर्थिक सङ्लन गरेर यो अभियान बढाइरहेका थिए र छन् ।

यसले बेलायतमा पनि गोर्खालीहरूको स्वतन्त्रतालाई कायम राख्न नेपाली घर परियोजनाको अभियान सफल रहेको छ । सन् २०१८ मा सगरमाथा गोर्खा नेपाली समाज समितिमा चक्रबहादुर राईको अध्यक्षतामा भएको टोलीले भने सशक्त रूपमा नेपाली घर परियोजनाका लागि आर्थिक संकलन कार्य अगाडि बढाइरहेको छ । यसमा अध्यक्ष राईको निकै महत्वपूर्ण भूमिका छ । संस्थाले यो परियोजना सफल पार्न विभिन्न उपसमितिसमेत निर्माण गरी नेपाली घर परियोजनालाई सन् २०२१ सम्ममा सफल पार्ने उद्देश्यले च्यारिटी डिनर, घरदैलो र देउसीभैलोलगायत विभिन्न माध्यमबाट आर्थिक सङ्लन गर्ने काम गरिरहेको छ ।

भर्खर मात्र २५ जनवरी, २०२० का दिन उक्त संस्थाले भव्य रूपमा गोर्खा च्यारिटी डिनर गरी नेपाली घर परियोजनाका लागि उल्लेख्य मात्रामा आर्थिक रकम 
संकलन गरयो । उक्त कार्यक्रममा गीतकार जानुका राईद्वारा लिखित तथा गायक नरेन्द्र राईद्वारा निर्मित बाबाआमाको गीतिभिडियो सार्वजनिक गरियो । बसुन्धरा राईको अध्यक्षतामा गठित महिला उपसमितिले पनि उक्त परियोजनालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नेपाली घर नेपालको कला र संस्कृति झल्किने नेपाली झण्डासमेत भएको पुरानादेखि नयां पुस्तासम्मलाई सबैखाले गतिविधि गर्न मिल्ने एउटा ऐतिहासिक धरोहरको रूपमा हुने छ । आज आसफोर्डबासी गोर्खाली नेपालीहरूले आसफोर्डबासी सम्पूर्ण समुदायका लागि हरेक कार्यक्रम सहजतासाथ सम्पन्न गर्न सक्ने सुविधाजनक हलको व्यवस्था गर्ने अभियानमा सबै एकजुट भएर लागिरहेका छन् ।

शिक्षा, साहित्य, कला, प्रतिभा, संस्कार, संस्कृति र खेलकुदका लागि उर्वरशक्ति केन्द्रको रूपमा मानिन्छ आसफोर्डबासी गोर्खाली समाज ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री