बेलायतमा किरात राईहरुको तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने

लन्डन । किरात राईहरुको तेश्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा हुने भएको छ । किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले आउंदो २४ देखि २६ मे, २०२० सम्म तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको आयोजकले जनाएका छन् ।

किरात राई यायोक्खा बेलायतले शनिबार लन्डनमा एक पत्रकार सम्मेलन गरि सम्मेलनबारे जानकारी दिएको हो ।

सम्मेलनमा भारत सिक्किम प्रान्तका भूतपूर्व मुख्यमन्त्री पवन चाम्लिङ प्रमुख अतिथी रहने जनाइएको छ । २४ मेका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्मेलन उद्घाटनपछि २५ र २६ मेका कार्यक्रम लन्डन हयारो बरो फुटबल क्लवमा हुने किरात राई यायोक्खा बेलायतकी अध्यक्ष कल्पना राईले जनाइन् ।

विश्वभरका किरात राईहरुबीच भाइचारा सम्बन्ध अभिवृद्धि एवं एकताको सूत्रमा समेट्न, किरात राईको २८ भाषा प्रयोगमा रहेपनि केही भाषा लोप हुंदै गएकाले त्यसलाई जोगाउन, किरात राईहरुले मान्ने पूजाआजा र प्रमुख चाड जस्तै साकेला, साकेन्वा, तोषी, वास, भूमेपूजा, खोलापूजा, चुल्हापूजा आदिको संरक्षण एवं सम्वर्धन गर्न, किरात राईहरुको विशिष्ट मौलिक संस्कार र संस्कृतिलाई अक्षुण्ण राख्न, किरात राईहरु जहां बसेपनि आफ्नो मुल थातथलोसंगको सम्बन्ध कायम राख्न तथा विभिन्न कालखण्डका ऐतिहासिक, धार्मिक, सामाजिक, पुरातात्विक महत्वका अवशेषहरुको खोजी, पहिचान, संरक्षण र संवर्धन गर्न सम्मेलन केन्द्रित हुने अध्यक्ष राईले जनाइन् ।

किरात राईहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सन् २०११ मा नेपाल र दोश्रो सन् २०१५ मा भारतको सिलिगुडीमा गरिएको थियो । बेलायतमा हुन लागेको तेश्रो सम्मेलनमा नेपाल, भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, हङकङ, कतार, मलेसिया, जापान, कोरिया गरि १७ देशबाट करिब एकसय ‘डेलिगेट्स’ को सहभागिता रहनेछ ।

कार्यक्रममा किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर योगेश राईले सम्मेलन अघि २३ मेमा बेलायतमा आयोजना गर्न लागिएको किरात राईहरुको महान चाड ‘साकेला उभौली ५०८०’ बारे अवगत गराएका थिए । राईले विश्वभरबाट आएका अतिथीहरुको सहभागितामा साकेला उभौली विविध सांस्कृतिक कार्यक्रमसहित मनाइने जनाए । किरात राई यायोक्खा बेलायत आफैंले वकिङमा खरिद गरेको १४७ रोपनी जग्गामा साकेला उभौली गरिनेछ । आयोजकले सो कार्यक्रमका लागि नेपालबाट राष्ट्रिय कलाकारहरुसमेत झिकाउने योजना बनाएका छन् ।

कार्यवहाक महासचिव नरेश काङमाङ राईले सम्मेलनमा करिब ३० लाख रुपैयां खर्च हुने जनाउंदै आर्थिक श्रोत जुटाउन यही २२ फेब्रुअरीमा लन्डन हयारो बरो फुटबल क्लवमा रात्रीभोजसहित सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए । बेलायतमा रहेका १४ वटा प्रारम्भिक कमिटी र १७ देशमा रहेका शाखाबाट आर्थिक सहयोग मागिने पनि राईले बताए ।

अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन जिम्मा लिएको किरात राई यायोक्खा बेलायतले कार्यक्रममा नैतिक, भौतिक तथा आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेको छ ।

तस्बिर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री