सपन शर्मिलाको जोडी गायनमार्फत ‘भ्रमण वर्ष’ को प्रचारप्रसारमा

लण्डन । आजभन्दा केहि दशक पहिले लण्डनको भारतीय समुदायमाझ गायक सपनकुमार राईको विशेष प्रभाव थियो । इष्ट, वेस्ट, साउथ इष्टसहित लण्डनका विभिन्न ठाउँका भारतीय क्लबहरुमा दिनहुँजसो उनका सांगीतिक शो हुने गर्थे । सन् १९९० दशकको मध्यतिर जब सपनले लण्डनका भारतीय क्लबहरुमा गाउन थालेका थिए, त्यतिबेला यहाँको नेपाली समुदाय निकै सानो थियो । त्यसैले आफ्नो सौखका लागि होस् वा व्यवसायिक दृष्टिले नै किन नहोस्, भारतीय क्लबहरुमा गाउनुको विकल्प थिएन उनीसंग । 

सन् १९९४ मा लण्डनको रेनर्स लेनस्थित रुबी क्लबमा आफ्नो पहिलो प्रस्तुति गरेका सपनलाई सुन्ने स्थानीय भारतीयहरुले उनलाई ‘नेपाली क्यारओकी किंग’ भनेर प्रशंसा गर्ने गरेको सम्झना उनीसंग अझै ताजा छ । 

‘सुरुमा त मैले गाएको देख्दा सबैले अचम्म मानेर हेर्ने गर्थे, यो चाइनिजले कसरी हिन्दी गीत गायो भनेर उनीहरु छक्कै पर्थे’, सपन सम्झिन्छन्, ‘मेरो मंगोलियन लुक्सका कारण कसैले पनि मलाई नेपाली भन्दैनथ्यो । मैले म गौतम बुद्ध, सगरमाथा र गोर्खाहरुको देश नेपालबाट आएको हुँ भनेर गर्वसाथ सुनाउँथे ।’ 

रेनर्स लेनको रुबी क्लब, इष्ट लण्डनको बलिउड क्लब, वेम्बलीको पायल क्लब, सडवरीको मनसुन क्लब, क्रोयडनको मालिबु क्लबदेखि फिन्चली इष्टको एक्सेल क्लब, वेम्बलीको मस्ती क्लब, क्ले ओभन लगायत थुप्रै ‘भेन्यू’ मा सपनले नियमित शोहरु गर्थे ।

पहिलो डेढ दशकसम्म क्लबहरुकै गायनमा निकै व्यस्त सपनलाई सन् २००७/०८ बाट भने समय मिलाउन गारहो पर्न थाल्यो । नेपाली समुदायका इभेन्टहरु समेत भ्याउनुपर्ने भएपछि उनले क्लबहरुमा दिंदै आएको समय बिस्तारै कम गर्दै गए । आजको दिनसम्म पनि उनले क्लबहरुमा गाउन चटक्कै छोडेका भने छैनन् । थोरै नै सही, निरन्तरता दिइरहेकै छन् । 

यो वर्ष भने आफ्नो गायनलाई ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचारप्रसारमा केन्द्रित गर्ने योजना बनाएका छन् सपनले । फेब्रुअरी र मार्च महिनाभर लण्डनका विभिन्न ठाउँस्थित भारतीय क्लबहरुमा गाउने र संगै नेपाल भ्रमण वर्षको प्रवर्द्धन गर्ने उनको योजना छ । यो अभियानमा उनलाई चर्चित गायिका शर्मिला बर्देवाको समेत साथ रहने छ । 

यहि फेब्रुअरी १४ मा सपन र शर्मिलाको पहिलो शो रेनर्स लेनस्थित रुबी क्लबमा हुँदैछ । यो त्यहि क्लब हो जहाँ सन् १९९४ मा सपनले पहिलोपटक आफ्नो गायन प्रस्तुत गरेका थिए । 

‘हामीहरु लण्डनका वेस्ट, इष्ट, साउथसहित विभिन्न लोकसेनका भारतीय क्लबहरुमा शो आयोजना गर्दैछौं । केहि नेपाली गीत समेत प्रस्तुत गर्नेछौं’, सपन भन्छन्, ‘गीत सुनाउने र संगसंगै नेपाल भ्रमण वर्षको बारेमा बताउने, नेपाल घुम्न जान आग्रह गर्ने हाम्रो योजना छ ।’ 

यी शोहरुको संयोजन गरिरहेकी सपन इन्टरटेनमेन्टकी निर्देशक मन्जु गुरुङ राई नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल पार्नु सबै नेपालीको दायित्व रहेकोले आफूहरु पनि कार्यक्रमको तयारीमा लागेको बताउंछिन् । ‘बेलायतमा  नेपाली दूतावासले धेरै प्रयास गरिरहेको छ, विभिन्न नेपाली संस्था समेत लागि परेका छन् ।  हामीले पनि सकेको गरौं भन्ने सानो प्रयास हो’, उनले भनिन् । 

बेलायतीहरुमा मात्र नभएर नेपालसंग सांस्कृतिक, सामाजिक हिसाबले समेत नजिक भारतीयहरुमाझ गरिने प्रवर्द्धन थप उपयोगी हुने विश्वास उनीहरुलाई छ । विदेशीहरुमाझ गीत गाउने र संगै नेपाल भ्रमण वर्षको प्रचार पनि गर्ने सपन र शर्मिलाको शैली गज्जब ठानिएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री