व्यवसायी लामिछानेले मन्दिर बनाउन दिए २१ लाख १७ हजार ७२७ रुपैयां

लन्डन । लन्डनस्थित एक जना सफल व्यवसायी 
एवं सामाजिक अभियन्ता रबिजंग लामिछानेले आफ्नो जन्मस्थानमा मन्दिर निर्माणका लागि २१ लाख १७ हजार ७२७ रुपैयां प्रदान गरेका छन् ।

पर्वत तिलाहार स्थायी घर भएका स्वर्गीय चन्द्रजंग लामिछाने र आमा रुकबिना लामिछानेका सुपुत्र रबिले गर्ग गोत्रीय क्षेत्रीहरुको कुल मन्दिर तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर निर्माणका उक्त रकम प्रदान गरेका हुन् ।

जलजला गाउंपालिका-२ पूर्ण गाउंमा मन्दिर शिलन्यास गर्दै लामिछानेले सहयोग रकम हस्तान्तरण गरेका थिए । वि.सं २०७२ सालमा आएको महाविनाशकारी भूकम्पका कारण मन्दिर जीर्ण थिए ।

धौलागिरी क्षेत्रकै सबैभन्दा महत्वपूर्ण झण्डै ८०० वर्ष भन्दा पुरानो इतिहास बोकेको लामिछाने गर्ग गोत्रीय क्षेत्रीहरु तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर अब सुन्दर रुपमा निर्माण हुने विश्वास समाजसेबी लामिछानेले गरेका छन् । उनले विगत दिन स्मरण गर्दै कार्यक्रममा भने, ‘म यस स्थानमा वि.सं २०४२ सालमा बाबाको साथमा आएको थिएं । आज आफैं यस स्थानमा हाम्रा बाबा स्वर्गीय चन्द्रजंग लामिछाने र आमा रुकबिना लामिछानेको आर्शीवादका कारण आएको छु ।’

उनी मन्दिर शिलान्यास कार्यक्रमको प्रमुख अतिथि थिए । शिलान्यास कार्यक्रममा बोलिरहंदा निकै भावुक देखिएका लामिछानेले मर्यादा पुरुष रामले कुनै बेला लक्ष्मणलाई भनेको कुरा सम्झिदै भने, ‘यो लंका सुनैले बनेको भएपनि मलाई कुनै रुची छैन् किनकि मेरा लागि जननी जन्मभूमी भनेको स्वर्ग भन्दा पनि महान छ ।’ उनले अगाडि भने, ‘मेरा लागि मेरो कुल, मेरा आफन्त र मेरो देश सबैभन्दा प्रिय छ । कामको सिलसिलामा जहां भएपनि यो माटोले मलाई सधैंभर हिन्दु धर्म र आफ्नोपन दिइरहन्छ । म जहां भएपनि मेरो मुटु नेपालमा नै छ, मेरो धर्म नेपाली हो, मेरो कर्म नेपाली हो, मेरो भावना नेपाली हो, मेरो मुल्य र मान्यता नेपाली नै हुन्छ । त्यसकारण म मातृभूमि कहिल्यै बिर्सन सक्दिन ।’

कार्यक्रममा लामिछाने जिसी गर्ग गोत्रीय र कार्की क्षेत्री समाजका अभियान्ताहरुले रबिको कामको उच्च मुल्यांकन गर्दै सम्मान गरेका थिए । हिन्दु धर्मप्रति आस्थावान उनी नेपाल र बेलायत सरकारको बीचमा पुल जस्तै भएर काम गरिरहेका छन् । यसभन्दा अगाडि उनले सयौं सामाजिक काममा योगदान गरेका छन् । समाजसेवालाई आफ्नो प्रमुख दायित्व देख्ने लामिछानेले विगतमा बेलायतको अल्डरसट स्थित शिव मन्दिर भवनका लागि करिब २१ लाख रुपैयां र एउटै ढुंगाबाट बनेको सबैभन्दा ठूलो ५०० किलो बराबरको शिव लिंग प्रदान गरेका थिए । उनले नेपालमा ५० जना असहाय बालबालिकालाई बोर्डिङ स्कुलमा पठनपाठन व्यवस्था गरिदिएका छन् ।

मानवीय सहयोगबाहेक कयौं ठाउंमा मठ मन्दिर बनाउन पनि उनको निकै उच्च स्तरको आर्थिक योगदान छ ।

शिलान्यास कार्यक्रममा बोल्दै अर्का अतिथी क्षेत्री समाज नेपालका नेता डा. डिल बहादुर क्षेत्रीले जिसी क्षेत्रीहरुको इतिहास नेपालमा निकै उच्च रहेको बताए । जुम्लाबाट जलजलामा आएर क्षेत्रीहरुले निकै सम्मान गर्न लायक काम गरेको इतिहास पनि उनले स्मरण गरे ।

सामाजिक अभियन्ता रबिजंग लामिछानेलाई देखाउंदै क्षेत्रीले भने, ‘धन र मन हुने मानिसहरु कम भेटिन्छ तर मेरो भाई रबि धन र मन दुबैले भरिपूर्ण रहेछ, भगवानले 
रबिका सबै चाहना पुरा गरुन् ।’

शिलान्यास कार्यक्रममा अन्य बन्धुबान्धवहरुले पनि मन्दिर निर्माणका लागि सहयोग रकम हस्तान्तरण गरेका थिए । मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष प्रकाश जिसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा आर्थिक संयोजक डम्बरबहादुर जिसीले स्वागत मन्तब्य र सचिव यामबहादुर जिसीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री