लन्डन । युरोपेली संसदले बेलायत ईयू बहिर्गमन सम्बन्धि सम्झौता ‘बेक्जिट वीथड्रल एग्रीमेन्ट’ भारी मतले अनुमोदन गरेको छ ।
ब्रसेल्सस्थित युरोपेली संसदमा बुधबार भएको मतदानमा ६२१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिए भने ४९ सांसद विरुद्धमा उभिए । १३ जनाले मत दिएनन् ।
युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीले मत परिणाम घोषणा गरेपछि सांसदहरुले प्राचीन स्कटिस गीत ‘अल्ड लाङ जाइन’ गाएका थिए । बीबीसीका अनुसार, संसदमा वहस गर्दा कतिपय सांसदहरु भावुक देखिन्थे ।
सासोलीले ईयूका तर्फबाट सहमति पत्रमा हस्ताक्षर गर्दै बेलायत ईयूबाट अलग्गिए पनि सधैं युरोपको भाग रहिरहने बताए । उनले ‘गुड बाइ’ भन्न धेरै कठिन हुने पनि उल्लेख गरे ।
युरोपियन कमिसन अध्यक्ष युर्सुला भोन डेर लियनले सांसदहरुमाझ ईयू ब्रेक्जिटपछि पनि बेलायतसंग निकट साझेदारका रुपमा रहन चाहेको बताइन् । ‘बहिगर्मन सम्झौता पहिलो खुड्किलो हो’, उनले भनिन्, ‘बेलायतसंग अब नयां साझेदारीका रुपमा सम्झौता शुरु हुनेछ । म स्पष्ट रुपमा ईयू र यूके असल मित्र र साझेदारका रुपमा रहुन् भन्ने चाहन्छु ।’
उनले मन्तव्य समापन अघि भनिन्, ‘हामी सधैं यूकेलाई माया गर्नेछौं । हामी कहिल्यै टाढा हुने छैनौं । युरोप अमर रहोस् ।’
बेलायतबाट प्रतिनिधित्व गर्ने ७३ जना सांसदले भने युनियन झण्डा प्रदर्शन गरेर ईयूसंग बहिगर्मनको हर्षोल्लास गरेका थिए ।
विगत २१ वर्षदेखि युरोपेली संसदमा प्रतिनिधित्व गरिरहेका बेलायतस्थित ब्रेक्जिट पार्टीका नेता नाइजेल फराजले च्याम्बरमा अन्तिम मन्तव्य दिंदै अब ईयूसंग छुट्टिएपछि कहिल्यै नफर्कने बताए । ईयूका कट्टर विरोधी फराजले बेलायतबाट ईयूको बहिगर्मन आफ्नो जीवनकै उपलब्धि भएको पनि बताएका थिए ।
ब्रिटेनले ४७ वर्षदेखिको ईयू सदस्यता यही शुक्रबार राती ११ बजे त्याग्ने तयारी गरेको छ । त्यसपछि ११ महिना ‘संक्रमणकाल’ रहनेछ ।
यसअघि ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सले ब्रेक्जिट सम्झौता पारित गरिसकेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट डिल औपचारिक रुपमा यूकेको कानून समेत बनेको छ । ‘वीथड्रल एग्रीमेन्ट एक्ट’ भनिने उक्त कानून गत बिहीबारदेखि लागू भएको हो । ब्रिटेनकी महारानीले संसदद्वारा पारित ब्रेक्जिट सम्बन्धि कानूनमा हस्ताक्षर गरेपछि बेलायतलाई ईयू छाड्न बाटो खुल्ला भएको छ ।
ब्रेक्जिट सम्झौतामा भविष्यमा यूके ईयू नागरिक अधिकार, उत्तरी आयरल्याण्ड सीमा व्यवस्थापन र बेलायतले ब्रसेल्सलाई पारपाचुके रकम भुक्तानी गर्ने सहमति छ । प्रधानमन्त्री जोनसन संक्रमणकालभित्र ईयूसंग खुल्ला व्यापार सम्झौता गर्ने योजनामा रहेको बताइएको छ । –इकान्तिपुर
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न