प्रवासको सीप र ज्ञान नेपालको हितमा प्रयोग गर्न अन्तरक्रिया हुँदै

लन्डन । नेपाली पत्रकारहरुद्वारा बेलायतबाट सञ्चालित अंग्रेजी अनलाइन ‘साउथ एसिया टाइम’ को प्रथम वार्षिकोत्सवका अवसरमा तीन संस्थाको सह-आयोजनमा एक गोलमेच अन्तरक्रिया हुने भएको छ ।

प्रवासको सीप, ज्ञान र लगानी कसरी नेपालको विकासमा प्रयोग गर्न सकिन्छ भन्ने प्रमुख विषय रहेको उक्त अन्तरक्रियामा वातावरण विनास, भ्रष्टाचार नियन्त्रण र उद्यमशीलताको भूमिकाबारे वहस हुने कार्यक्रम संयोजक तथा साउथ एसिया टाइम अनलाइनका सम्पादक जगन कार्कीले जानकारी दिए ।

वहसमात्र भन्दा पनि केहि परिणाममुखी कार्यक्रमको ढांचा र रुपरेखासहित अघि बढ्न सहयोग पुगोस् भन्ने हेतुले मिडिया, विकास र अधिकारकर्मीको संयुक्त प्रयासमा कार्यक्रम गर्न लागिएको साउथ एसिया टाइम अनलाइनका कार्यकारी सम्पादक तथा इन्टरन्याशनल सोलिड्यारिटी फोरम फर नेपाल युकेका अध्यक्ष डा. कृष्ण उपाध्यायले बताए ।

लन्डन पट्नीस्थित होली काउ फाइन डाइन रेष्टुरेन्टमा २६ जनवरी आइतबार हुने कार्यक्रममा छुट्टा छुट्टै शीर्षकमा ५ जना विज्ञहरुको प्रस्तुति रहनेछ । उच्च शिक्षाको निजीकरण सम्बन्धमा लिभरपुल जोनमुर विश्वविद्यालयका प्राध्यापक डा. पदम सिम्खडा, उद्यमशीलता र भ्रष्टाचार नियन्त्रण सम्बन्धमा डा. कपिल रिजाल, दिगो विकास सम्बन्धमा प्रकाश खनाल, जलवायु परिवर्तनको राजनीतिबारे बीबीसी विश्वसेवाका वातावरण संवाददाता नवीनसिंह खड्का तथा राजनीतिमा महिला सहभागिता तथा महिला अधिकार सम्बन्धमा युनिभर्सिटी कलेज लण्डनकी रिसर्च फेलो डा. पुनम यादवले प्रस्तुति दिनेछन् ।

प्रस्तुतिपछि ती विषयमा राउण्ड टेबल अन्तरक्रिया हुनेछ । कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथीका रुपमा सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री